कला

सम्मानित भइन् ८६ वर्षीया लता गिरी

नेपाल स्रष्टा समाजले स्रष्टा लता गिरीलाई यस वर्षको ‘दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान’ अर्पण गरेको छ। शैक्षिक तथा साहित्यिक क्षेत्रमा पुरयाएको योगदानको कदर गर्दै समाजले १५ हजार १०१ रुपैयाँ नगदसहित सम्मान गरेको हो। उनका तीन भजन संग्रहका साथै थुप्रै गीत तथा कविता प्रकाशित छन्।

विराटनगरकी ८६ वर्षीया गिरीलाई उनकै निवासमा सम्मान अर्पण गरिएको थियो।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले स्रष्टाहरू पुरस्कारका लागि संस्था धाउँदै हिंड्छन् भन्ने आरोप लागिरहेको बेलामा स्रष्टा समाज स्रष्टा खोज्दै घर आइपुगेको भन्दै यसले साहित्यिक क्षेत्रमा सकारात्मक सन्देश जाने विश्वास व्यक्त गरे।

उक्त कार्यक्रममा साहित्यकार विवश पोखरेलले स्रष्टा गिरीका सामाजिक तथा साहित्यिक व्यक्तित्वबारे बाेलेका थिए।

कार्यक्रममा समाजका महासचिव देविका तिमिल्सिनाले संस्थाले ओझेलमा रहेका सर्जकहरुको खोजी गरेर सम्मान गर्दै आएको बताए।

समाजका कोशी प्रदेश संयोजक कृष्ण भण्डारी मार्सेलीले स्वागत मन्तव्य राखेको कार्यक्रममा साहित्यकार मन्जुश्री गिरीले उनको भजन गाएकी थिइन्।

साहित्यकार पुष्पा खनालले आफ्नो आमाको नाममा स्थापना गरेको यस सम्मानबाट सिर्जना शर्मा, डिक्रा वादी, इन्द्र गहतराज, प्रतिमा पोखरेल, निर्मला मुरारी र यमुना अधिकारी पराजुली यसअघि सम्मानित भइसकेका छन्।

प्रकाशित: ११ वैशाख २०८१ १०:४८ मंगलबार

अक्षर नेपाल स्रष्टा समाज