कला

सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता ?

धराेहर

विगत केही वर्षयता हाम्रा सांस्कृतिक सम्पदा हामीबाटै उपेक्षित हुँदै आएका छन्, ती मूर्त हुन् वा अमूर्त। खासगरी २०७४ सालमा नेपालमा संघीयता आई सात राज्यको निर्माण भएसँगै यस्ता सम्पदाहरूको संरक्षण–संवर्धनको प्रबल सम्भावना संस्कृतिप्रेमीहरूले देखेका थिए। आज ६ वर्ष बित्न लाग्दा हामीले आफै मूल्याङ्कन गरौं-के हामी एक पाइला पनि संरक्षण–संवर्धनतिर अगाडि बढेका छौं ?

पर्सादेखि सप्तरीसम्म आफ्ना पुरातात्त्विक र ऐतिहासिक पहिचान साथ पृथ्वीको गर्भमा अथवा पृथ्वीमाथि देखिने गरी स्थापित यस्ता सांस्कृतिक सम्पदाप्रति संघ, प्रदेश र स्थानीय सरकारको ठोस कार्यक्रम के कति आएको छ ? केलाउने बेला आइसकेको छ।

सरकार केही गर्न नचाहेको हो जस्तो लाग्दैन किनभने उताबाट नीति तथा कार्यक्रम होस्, बजेट भाषण होस्, संरक्षण–संवर्धनका प्रसङ्ग आउँदा सरकार सकारात्मक देखिन्छ। मात्र त्यसलाई कार्यरूपमा अगाडि ल्याउन नसकेको मात्र हो।

हाम्रा सांस्कृतिक हिरोहरू राजा सलहेस, दीना–भद्री आदिको जन्म र क्रियास्थल यसै प्रदेशमा पर्छ। सप्तरी र सिरहामा यी लोकनायकहरूको कर्मभूमि रहेको र यिनीहरू जीवित अवस्थामै आमजनताबाट मुक्तिदाता/रक्षकका रूपमा सम्मानित थिए, पूजित थिए।

आध्यात्मिक रूपमा जनकपुरधामसँगै अन्य जिल्लाका अन्य क्षेत्रमा पनि अनेकौं मूर्ति, गह्वर, पूजास्थलहरू उपस्थित छन्। ती सामग्रीहरू पनि समसामयिक रूपमा सरकारद्वारा संरक्षित, संवर्धित हुनुपर्ने हो। त्यसो भएको देखिएन। यसमा कहाँ कमजोरी हुँदैछ, हामीले ठहर गर्नुपर्ने बेला आएको छ।

मधेसको गौरव सिमरौनगढबारे अनेकौं लेख, रचना, छिटफुट र पुस्तकाकार प्रकाशन भएकै छन्। तर मधेसको इतिहास लेखिँदा मिथिलाको त्यस प्राचीन राजधानी र त्यहाँ प्राप्त भएका र अन्यत्र छरिएका पुरातात्त्विक सामग्रीबारे सरकारी स्तरमा संरक्षण–संवर्धन हुन सकेको अवस्थामा इतिहासको स्रोत जुटाउन निकै कठिनाइ उत्पन्न हुने पक्का हो।

त्यहाँ प्राप्त हुने प्राचीन मूर्ति र अभिलेखहरू मिथिला र मधेसको इतिहासलाई अझ  पुष्टि गर्ने खालका छन्। तर ती प्राप्त सामग्रीको बिजोग, हृदयविदारक रूपमा प्रस्तुत भइरहेको छ। न कुनै व्यवस्थित सङ्ग्रहालय छ, न त कुनै प्रकारको निजी भइसकेका प्राचीन कर्णाटक राजवंशका महल क्षेत्रलाई अधिग्रहण गरी घेरा हालेर संरक्षित गर्ने प्रयास नै भएको छ।

आउने दिनमा इतिहास र पुरातत्त्व विधामा अनुसन्धानका लागि प्रमुख अध्ययन केन्द्रका रूपमा विकसित हुने सिम्रौनगढ आफ्नो उचित मूल्याङ्कन र पहिचानका लागि व्यग्रतापूर्वक पर्खिरहेको छ।

दुसाधहरूका देउतारूपी सलहेस छैटौं–सातौं शताब्दीताकाका एउटा अत्यन्त बलशाली, समाजउद्धारक वीरपुरुष थिए, जसका कीर्ति सयाैं वर्षदेखि लोकगाथाका रूपमा गायकद्वारा गाउँदै र नृत्यमण्डलीद्वारा नाचका रूपमा देखाउँदै आइएको छ।

सलहेस नेपालको मधेसभूमिअन्तर्गत पर्ने सिरहा र सप्तरीकै सेरोफेरोमा आफ्नो कीर्ति स्थापित गरी लोककण्ठमा बास बस्दै आएका छन्। उनको नाममा सिरहामा रहेको सलहेस फूलबारीलाई अझ व्यवस्थित गरी पर्यटकीय महत्त्वको गन्तव्य बनाउन सकिन्छ।

सलहेस गाथाको एउटा महत्त्वपूर्ण प्रसङ्ग कुलेश्वर राजाकी छोरी चन्द्रावती, सलहेस र चुहरमलको त्रिकोणात्मक कथा यात्रासँग जोडिएको छ। सम्भवतः सलहेसको जीवनको उत्तरार्धमा फूलबारी प्रसङ्गसँगै गाथाको समापन अध्याय प्रारम्भ हुने गर्छ।

यस्तो महत्त्वपूर्ण ठाउँलाई सरकारले अधिग्रहण गरी सलहेसको जीवनचरित्रमा आधारित जीवन्त कथासूत्रमा बाँधिएको दर्शनीय स्थलको रूपमा विकसित गर्न सकिन्छ।

त्यस्तै निमुखाको शक्ति बनेर समाजका अत्याचारी सामन्तहरूलाई परास्त गर्दै तल्लो वर्गका लागि पनि सहज जिउने वातावरण बनाउने दीना–भद्रीको जन्मस्थान जोगिया गाउँलाई पनि व्यवस्थित गरेर पर्यटकीय स्थलका रूपमा विकसित गर्न सकिन्छ।

मुसहर समुदायका लागि देवताका रूपमा पूजित दीना–भद्रीको त्यस्तै जीवनवृत्त झल्काउने विद्युतीय उपकरणसहितको प्रदर्शनीस्थलको निर्माण गर्न सकिए त्यसले हाम्रो सम्पदा संरक्षित संवर्धित हुनेछ। त्यस्ता ठाउँलाई पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न सकिन्छ।

अब जहाँसम्म अमूर्त सांस्कृतिक सम्पदाको कुरा छ–त्यस्ता सामाजिक सांस्कृतिक रूपमा हाम्रो समाजमा हजारौं वर्षदेखि अस्तित्वमा रहँदै आफ्नो स्वरूपलाई कायम राख्न सफल भएका संस्कृतिको मौलिकता बचाइराख्ने चुनौती समाजका अगाडि छ। त्यस्ता सम्पदाहरूमा हाम्रा लोकगीत छन्, लोकगाथा छन्, लोकनृत्य छन्।

यसमा झिझिया नृत्य, जटजटिन नृत्य, सामाचकेवा, जुडशितल, छठपर्व, चौठचन्द पर्व आदि छन्। यसमा झिझिया नृत्यमा जसरी परिवर्तन ल्याइएको छ, त्यो निन्दनीय छ। यतातिर पनि बौद्धिक वर्गको ध्यानाकर्षण हुनुपर्छ। छठ पर्वलाई पनि तडकभडक बनाउने प्रयास सुरु भइसकेकोछ।

उपभोक्ता संस्कृतिको मारमा परिसकेको सामाजिक व्यवस्थालाई डिजेसंस्कृति र मोबाइल संस्कृतिले च्यापिसकेको प्रस्टै देख्न सकिन्छ। घरबाट दलानसम्म जान नसक्ने महिला डिजेमा नाचिरहेका दृश्य अपत्यारिला लाग्न सक्छन् तर अस्वाभाविक होइनन्। देख्ने र देखाउने होडबाजीमा हामी आफ्नो जीवनशैलीको निर्वाहन गर्दा आफ्ना पुर्खाहरूप्रति इमानदार हुन छाड्यौं।

स्थापित मान्यताको आफू अनुकूल व्याख्या र प्रयोगले परम्परागत सम्पदा र विधानप्रति अविश्वास सिर्जना गरिरहेको देखिए पनि त्यसलाई पुनः व्यवस्थित असम्भव छ भन्न सकिँदैन। प्रयासले पुनः स्थापित गर्न सकिन्छ। होलीगायन अब गाँउघर, सहरबाट समाप्त भइरहेको छ तर सामाजिक क्षेत्रमा कार्यरत संघसंस्था त्यसलाई पुनस्र्थापित गर्ने प्रयास गर्दैछन्।

भर्खरै सम्पन्न भएको होली मिथिला–मधेसमा आफू अनुकूल मनाउने दुःखद परम्पराको सुरुवात भएको पनि देखियो। मिथिलाञ्चलमा होली पर्वको पनि आफ्नो सांस्कृतिक र सामाजिक महत्त्व छ।

यो जनकपुरधाममा फागु पूर्णिमाको भोलिपल्ट मनाउने परम्परा हो। यसपालि फागु पूर्णिमा सोमबार परेको छ। त्यस हिसाबले होली मंगलबार हुनुपर्ने। तर केहीले निर्धारित तिथिमै खेले भने जनकपुरधाममा अधिकांशले बुधबार होली खेले। संस्कृतिको यस्तो दोहन चिन्ताको विषय हुन सक्छ। तर कसले कसको कुरा मान्ने। जानकी मन्दिरको आग्रह पनि कसैले मान्न चाहेन।

यस्तै मध्यमा परिक्रमाको बाटो सहज हुँदै गएपछि घुम्नेहरूको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको जस्तो देखिएको छ। यो सुखद पक्ष हो। होली पर्वको औपचारिक रूप परिक्रमाको कञ्चनवन विश्रामस्थलबाट सुरु हुने गरेको बुझिन्छ।

जनश्रुतिअनुसार कुनै बेला राधा–कृष्णले यहाँ आत्मीय प्रेमको प्रतीकस्वरूप होली खेलेका थिए। सम्भवतः त्यसैको सम्झनामा यहाँ आध्यात्मिक होली खेल्ने चलन बस्यो। परिक्रमाका साधुसन्तहरू आफ्नै परिक्रमावासीसँग होली खेल्ने गर्थे।

अन्य दर्शक आशीर्वाद स्वरूप रङअबिर थाप्ने गर्थे। तर आज त्यहाँ बाहिरियाहरूले विभिन्न संघसंस्थाको नाममा कञ्चनवनको होलीमाथि कब्जा जमाइसकेका छन्।

यस्ता प्रवृत्तिलाई रोकेर यसको पुरानो स्वरूपमा फर्काउने प्रयास गरिनुपर्दैन? सांस्कृतिक सम्पदाका रूपमा रहेका यस्ता चाडपर्वहरूको प्रचलनलाई पुनः स्थापित गराउने कार्य अगाडि बढाउने होइन त ?

यस्तो अवस्थामा मधेस प्रदेश सरकारले गठन गरेको मधेस प्रज्ञा–प्रतिष्ठानप्रति धेरैको अपेक्षा हुनु अस्वाभाविक होइन। प्रतिष्ठानले पनि भविष्यमा सांस्कृतिक सम्पदाहरूको संरक्षणमा आफ्नो रचनात्मक योगदान दिन अनेकौं कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनको क्रममा छ। यसले लोकगीत, लोकनृत्य, लोकसंगीत, लोककलाको संरक्षण, संवर्धनतिर पनि काम गर्न सुरु गरिसकेको छ।

संस्था स्वायत्त रहे पनि प्रचलित आर्थिक नियममा बाँधिएकाले चाहेको समय र स्वरूपमा कार्य बढाउन कठिनाइ भइरहँदा पनि केही महिनाभित्र लोक गायन, लोक नृत्यहरूको प्रस्तुति, लोककलाहरूको प्रदर्शन, मधेसको इतिहास लेखनको प्रारम्भ आदि काम सुरु गरिसकेको छ।

आगामी दिनमा लोक सम्पदाको संरक्षणका लागि वृत्तचित्रहरूको निर्माण, अध्ययन अनुसन्धान कार्य पनि सुरु भइसकेको छ।

यो एकदुई पक्षको मात्र काम होइन। यसमा सामाजिक चेतनाको मुख्य भूमिका हुनेछ। यो क्रम अगाडि पनि जारी रहनेछ। के यसलाई यसरी नै राखिराख्ने हो वा सामाजिक सद्भावका लागि पुनर्विचार गर्दै जाने हो ? यो जिम्मेवारी हामी सबैको हो।

– लेखक कापडि मधेस प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुन्।

प्रकाशित: ८ वैशाख २०८१ ०९:५६ शनिबार

अक्षर सांस्कृतिक धरोहरप्रति खै संवेदनशीलता?