कला

जादूको रात

तीन छाेटा कविता

१) जादूकाे रात

अहो,

त्यो कस्तो रात थियो

त्यो कस्तो जादूमय निद्रा थियो

आमाले पिट्नुभएको

र मन दुखेको

झरीमा रुझेको

र ज्वरो आएको

साथीसँग लाप्पामा हारेको

र लाज भएको

चप्पल फाटेको

र मुस्किलले नयाँ पैदा भएको

कत्राकत्रा समस्याहरू

मात्र एक रात निदाएपछि

भोलि उठ्दा सबै ठीकठाक हुन्थे

अहो,

त्यो कस्तो रात थियो

त्यो कस्तो जादूमय निद्रा थियो

हाम्रो बाल्यकालको।

२) गाँठाहरू

यी कामका गाँठाहरू

हप्तैपिच्छे कसिन्छन्, फुकिन्छन् 

फेरि कसिन्छन् फेरि फुकिन्छन् 

जब कसिन्छन् 

मालिक पनि जोड जोडले कसिन्छन् 

जब फुकिन्छन् 

तर पनि मालिक फुकिन्दैनन् 

सायद गाँठाहरू

नफुकिने रोग लागेका हुँदा रहेछन् 

साहूजीहरूलाई।

३) घाटको खेल

सल्किनेले सल्काउनेलाई

त्यसै कहाँ छोड्न सक्छ?

तिमी सक्थ्यौ?

सल्काउँछौ उसलाई

र घाट पुर्‍याइदिन्छौ

एस्ट्रे उसको आर्यघाट हो

सल्काउँछौ उसलाई

र भुइँमा किचिमिची पारिदिन्छौ

भुइँ पनि उसको घाट हो

तब के ऊ चुपचाप बस्छ?

अहँ,

छाती छियाछिया पारेर तिम्रो

जीवनभर खाँस्दै बाँच्ने पारिदिनेछ

तिम्रा गुलावी ओठहरू

कालै पारिदिनेछ

सके तिमीमध्ये थुप्रैलाई

घाट उतारिदिनेछ

सक्छौ?

बन्द गरौं यो घाटको खेल।                                   

प्रकाशित: ६ वैशाख २०८१ १३:२१ बिहीबार

अक्षर