कला

कवि कोइरालाको आयाे ‘घाममाथि घामकै किरण’

कवि उर्मिला कोइरालाको ‘घाममाथि घामकै किरण’ कवितासंग्रह प्रकाशन भएको छ। साहित्यपोस्ट ई दैनिकको माउसंस्था शब्दमिडिया प्रालिले कोइरालाको ‘घाममाथि घामकै किरण’ बजारमा ल्याएको हो। वैशाख ५ गते रिडर्स हब भक्तपुरमा पुस्तकको लाेकार्पण भएको थियो।

साहित्यपोस्ट ई दैनिकको तर्फबाट लेखक अनिता कोइरालाको अध्यक्षतामा कार्यक्रम भएको थियो। उपन्यासकार तथा समीक्षक, पद्मकन्या क्यापस नेपाली विभाग प्रमुख अम्बिका अर्याल, लेखक कोइरालासहितले कृतिकाे लोकार्पण गरेका थिए।

उक्त कार्यक्रममा साहित्यकार रञ्जु दाहाल, सरस्वती चिमोरिया, शोभा शरद, भगवती बस्नेत, रचना दाहाल, रविना नराल र लक्ष्मी लामाले कविता वाचन गरेका थिए।

कवि उर्मिला कोइरालाले आफ्नो पुस्तकबारे आफैंले बोल्नुभन्दा पाठकले नै मूल्याङ्कन गर्नुपर्ने बताइन्। कार्यक्रममा उनले ‘घाममाथि घामको किरण’बाटै दुई कविता सुनाएकी थिइन्।

लाेकार्पणका प्रमुख वक्ता डा. अम्बिका अर्यालले मञ्चमा महिलाहरूको उपस्थिति र महिलाहरूले नै कविता वाचन हुनु कार्यक्रमको शोभा भएको बताइन्।

महिलालाई श्रृङ्गारका रूपमा मात्र प्रस्तुत गर्ने चलनका बीचमा यसरी महिलालाई महत्त्व दिने कार्यक्रममा आफू समावेश हुन पाउँदा अत्यन्तै खुसी लागेको बताइन्।

पुस्तकको समीक्षा गर्दै डा.अर्यालले साहित्यिक क्षेत्रमा लैंगिक बहसभन्दा पहिले साहित्यको स्तरीयता र गुणात्मकता महत्त्व हुने बताइन्। यो गुण कवि कोइरालाको पुस्तकमा स्पष्ट देखिएको बताइन्। महिला साहित्यकारहरूको पुस्तकमा प्रायः घरभित्रका विषयहरू समावेश हुन्छन्। तर, कोइरालाको उक्त कृतिमा घरभन्दा बाहिर र महिलाभन्दा माथि मानवताका कुरा सघन रूपमा आएको बताइन्।

लेखक तथा अर्थशास्त्री केशव थापाले सञ्चालन गरेकाे कार्यक्रमको अध्यक्ष तथा साहित्यपोस्टकी लेखक तथा स्तम्भकार अनिता कोइरालाले उपस्थित सबैलाई धन्यवाद दिंदै कार्यक्रमकाे समापन गरेकी थिइन्।

प्रकाशित: ६ वैशाख २०८१ ०९:४३ बिहीबार

अक्षर साहित्यपोस्ट घाममाथि घामकै किरण