कला

‘काठमाडौंमा एक दिन’को आवरण

काठमाडौं– पूर्व मोडल तथा टेलिभिजन प्रस्तोता शिवानी सिंह थारुको उपन्यास ‘काठमाडौंमा एक दिन’को आवरण सार्वजनिक भएको छ । लेखिका थारु र पुस्तक प्रकाशक फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत नीरज भारीले संयुक्त रुपमा सोमबार आवरण सार्वजनिक गरे।

कार्यक्रममा मदन पुरस्कार विजेता लेखक अमर न्यौपानेले शिवानीले उपन्यास लेख्दैछिन् भन्ने थाहा पाउँदा ‘मेरो गीत, मेरो सन्देश’की चुलबुले प्रस्तोताले प्रेम, रोमान्सबारे उपन्यास लेखिहोलिन् भन्ने आफ्नो आँकलन भए पनि पुस्तकमा त्यो भन्दा फरक कुरा भएको बताए । ‘तर, उनले मधेश, मधेश आन्दोलन र सशस्त्र विद्रोहमाथि गम्भीर उपन्यास लेखेको थाहा पाउँदा आश्चर्यचकित भएँ,’न्यौपानेले भने, ‘यो उपन्यासले महिला लेखिकालाई हेर्ने हाम्रो दृष्टिकोण सायद परिवर्तन गर्नेछ।’

लेखिका शिवानीले आफूभित्रको आक्रोशले ‘काठमाडौंमा एक दिन’ लेख्न प्रेरित गरेको खुलाइन् । ‘यही आक्रोशले मलाई वर्षौसम्म एउटै उपन्यासमा काम गर्ने जाँगर प्रदान गरेको हो । यस्तै आक्रोश उपन्यासको एक पात्रमा पनि छ र ऊ आफ्नो लक्ष्य प्राप्तिका लागि त्यसरी नै जुझिराख्छ जसरी म यो उपन्यास लेखनमा जुझिरहें,’ उनले भनिन्,‘सामाजिक अन्यायमा परेको पात्र कसरी हिंसात्मक विद्रोहमा उत्रिन्छ र त्यो हिंसा कसरी प्रतिहिंसामा परिणत हुन्छ भन्ने देखाउने प्रयास मैले उपन्यासमा गरेको छ।’

प्रकाशित: ६ चैत्र २०७४ ०२:५७ मंगलबार