कला

नदीको राजमार्गमाथि एक दृष्टिकोण

पाठकीय चासाे

दीपक मेरा भाइ हुन्, गाउँले वा जिल्लावासी। लमजुङ र कास्की दुवै ठाउँमा। कतै नाम उल्लेख गर्न उनले बिर्सिए पनि म सम्झिरहन्छु। अहिले टाढा बस्छु, निकै टाढा। म बसेकै देशमा उनको भर्खरै प्रकाशित ‘नदीको राजमार्ग’ लघुकथासङ्ग्रहको परिचर्चा कार्यक्रममा स्रष्टा साँझ अमेरिकाले मलाई पनि निम्तो दिएको हो, तर कार्यक्रम जुधेकाले म सहभागी हुन सकिन। दिपक भाइले पुस्तक पठाइदिए। त्यसैको आधारमा मैले यस पुस्तकको विषयमा एउटा धारणा बनाएको हुँ।

- मान्छेको जन्मसँगै कथाको पनि जन्म भयो।

- आफैले भोगेको समय र परस्थिति सत्य र यथार्थको नगिच हुन्छ।

- युवाहरूले रचनाधर्मिताको मूल आधार लघुकथा बनाए।

- जनभाषामा लेखिएको लघुकथा लोकप्रिय हुन्छ।

- लघुकथा ठूलो आयतनबाट विशेष वस्तु टिपेर राखेको जस्तो हो।

- एउटा सुन्दर वाक्यले सारभूत असर पार्दछ, त्यो नै बीज वाक्य हो।

-बहुत होसियार लेखकले मात्र लघुकथा लेख्न सक्दछ।

दीपक बेइमानी र बेथितिलाई कत्ति सहदैनन्। सामाजिक चिन्तनलाई स्वचिन्तनमा प्रस्तुत गर्नु उनको विशेषता हो। उनका लघुकथामा समाजको यथार्थता भेटिन्छ। अमिरता धनमा होइन सोच र चरित्रमा हुनुपर्छ भन्ने सोच सञ्चय गर्ने हुनाले उनका लेखनमा यथार्थता भेटिन्छ।

समीप नेपाली लघुकथा जगतका निर्विवाद रूपमा उत्कृष्ट रचनाकार मानिन्छन्। एक इमानदार र भरोसालाग्दा लेखक हुन् दीपक। उनका लेखहरूमा संवेदनशीलता र सुझबुझपूर्ण नागरिक चेत पाउन सकिन्छ।

कथाको पूर्ण रोचकता कथावस्तुमा अन्तर्निहित हुन्छ। कथावस्तुको चुनावमा कथाकार निकै होसियार देखिन्छन्। नदीको राजमार्ग लघुकथासङ्ग्रहमा राम्ररी अटाएका केही कथा दृष्टान्त स्वरूप प्रस्तुत गरेको छु।

‘फूल’ पृष्ठ १० यसमा अपनत्व र बेपर्वाह एकै साथ उद्घाटन भएको अनुभूति हुन्छ। ‘नियत’ पृष्ठ ३० यसमा उत्कट इच्छा र असंयम आचरण छर्लङ्ग देखिएको छ।

‘नदीको राजमार्ग’ पृष्ठ ३९ यसमा मान्छेको स्वार्थको मापन गर्न कुनै खालको असजिलो छैन। ‘विडम्बना’ पृष्ठ ४१ अस्थिरताको पराकाष्ठा भेटिन्छ।

‘अरुचि’ पृष्ठ ७९ चिन्ताले कसरी दुर्बल बनाउँछ, हराएका बुबा घर आउँदाको आमाको रोग क्षणमै सञ्चाे भएको मनोविज्ञान भेटाउन सकिन्छ।

कथालोचना गर्न जरुरी छ। कुनै रचनाको आकलन वा मूल्यांकन तटस्थ, सहृदयी, विवेकी र इमानदार दृष्टिले हेर्नुपर्छ। उनका कथाले पनि समालोचना खोजेकै छन्, गर्नलायक पनि छन्।

कथाको सम्बन्ध सभ्यताभन्दा संस्कृतिसित बढी हुन्छ। योभन्दा पनि बढी मानवीय नियतिसित हुन्छ। यिनै कुराहरू उनका नदीको राजमार्गमा समावेश भएका ६६  कथाको समष्टिमा पाउन सकिन्छ।

सबै कथा अत्यन्त रोचक महसुस हुन्छन्। भाषामा कलात्मक चमत्कार छ, चरित्र चित्रणमा मनोवैज्ञानिक सूझ, ललित अभिव्यञ्जना पूर्ण शैली, कथोपकथनमा छविलोपन र पाठकलाई लोभ्याई राख्ने निरसता पैदा हुन नदिने मिठ्यास र मनै पगाल्ने कथानक भेटाउन सकिन्छ। सबै कथाको सारमा विद्रोह र विवशतासँग सामीप्य सँगालिएको छ।

यो कथा संग्रहमा लेखक एक अनुभवी, परिपक्क र विवेकशील गुरुको रूपमा प्रस्तुत भएका छन्।

यसको अतिरिक्त बडो मर्यदित भाषाको प्रयोग भएको छ। साहित्य सेवाको पवित्र भावनावाट प्रेरित, जीवनको विविध प्रवृत्ति र विचारको प्रवृष्टिमा सकभर सन्तुलन कायम गरिएको छ। सीमित क्षेत्रलाई आधार मानेर त्यहीभित्रको काल्पनिक यथार्थ संप्रेषित गर्न सफल हुन्छ सिद्धहस्त कथाकार। यी कथाहरू नेपाली साहित्यकासमा सधैँ अमर रहनेछन भन्ने विस्वास जागेको छ।

समीप बहुमुखी प्रतिभा सम्पन्न साहित्यकार हुन्। उनले कविता, मुक्तक र कथाको माध्यमबाट जन जीवनको समस्य, अवस्था र आवश्यकताको विविध चित्रण गरेका छन्।मातृभाषा नेपालीको उन्नयनमा उनको विशेष पदीय र लेखकीय योगदान रहेको छ। भावी पिंढीले यसबाट गतिलो पाठ सिक्न पाउने आशा राखेको छु।

मान्छेको जन्मसँगै कथाको पनि जन्म भयो। कथा सबै समाजमा पइन्छ। समुद्री व्यापारी,राजकुमार र राजकुमारीका साहसिक कथा,सौर्य, प्रेम, यात्रा, वैराग्य आदि कथाहरूमा अनेकानेक पात्र पाइन्छन्।

त्यस्तै यस संग्रहमा पनि कथाकारले धेरै पात्रह खडा गरेका छन्। कथाहरू कुनै वास्तविक छन् भने कुनै कुनै काल्पनिक तर पौराणिक कथा भने खोज्दा खोज्दै पुस्तक पढिसकेको पत्तै भएन।

अत्यन्त सहज र सरल भाषाका माध्यममा यो लघुकथा संग्रहले समाजमा जुन यथार्थ उद्घाटन गरेको छ त्यसमा सामाजिक जीवनका विडम्बनाहरूको पटाक्षेप भएको छ।मानव विकासको कथा नै इतिहास हो। मानवीय संवेगलाई गतिशील बनाउने एउटा माध्यम हो कथा। यसैलाई आधार बनाई कथाकारले भाषा प्रयोग गर्दा जिज्ञासा, रोचकता, कौतुहल, आकर्षण र विकर्षणको सामन्जस्य मिलाउनुको साथै पात्र छनोटमा बडो सतर्कता अपनाएको महसुस हुन्छ।

यस कथा संग्रह पढेर निचोडमा भन्नु परेमा कथाकारिताको दृष्टिले हेर्दा यस लघुकथा संग्रहका रचनाकार दीपक समीपलाई एक सफल कथाकार हुन भन्न सकिन्छ। उनका कथामा जीवनका वास्तविक परिदृश्य देखिन्छ। यो नै लघुकथाको सौन्दर्य हो।

प्रकाशित: ३ वैशाख २०८१ १०:२६ सोमबार

अक्षर