कला

अक्षरको नाता

यात्रा

ए जिन्दगी!

नाता गाँसेर अक्षरहरूमा

बग्दै जानु गति लिएर

कहीं बाटो बनाउँदै, कहीं भत्काउँदै

शब्दहरूका बाढीले

बाँधबाट उम्कदै बग्नु

अनवरत बगीरहनु जीवननदी।

हृदयभावका तरङ्गित धुनहरू

प्रेमको रसपान घोलेर पिउदै पिउदै

जानु गइरहनु रहेछ समय गीत

जीन्दगीको एउटा लयमा मिसिएर।

छोरा संजयको बिहे भएर बुहारी पनि कोल्हापुर लिएर गयो। यता घर बनिदै थियो। नसकेर अलपत्र भएर जीवनमा अलिक उल्झनेहरुले झेलेको अनुभव समयले गराइरहेको थियो। अब मेरो काम सकियो भन्ने मनका आवाजले जिम्मेवारी बिसाउन चाहन्थे। यो दुखाइ किन हो थाहा थिएन तर दुखाइको पीडा खप्न निकै गाह्रो भएको थियो। पुस माघमा काठमाडौंको ठिहिराउँदो जाडोबाट एक्लै हुनुभन्दा तनावको अनौठो सर्गमा म विचलित थिएँ। छोराछोरीको मन न हो आमालाई एक्लै गारो भयो भनेर पिर माने। छोराले कोल्हापुरबाट तारमतार आउनु भनेको भनै छ। आफूले मात्र नभएपछि अमेरिका बस्ने दिदीलाई विराटनगर बस्ने दिदीलाई पनि भन्न लगायो। केही सिप नलागेपछि केही दिनमा जाने योजना बनाए। दास्रो पटक किङफिसरकै जहाजमा काठमाडौंबाट दिल्ली, मुम्बई हुदै कोल्हापुर गएँ।

कोल्हापुर पुगेपछि मनमा वैरागिएका छालहरू समयले अलि शान्त पार्दै लगे। त्यहाँ जाडो थिएन म जाडोबाट मुक्त भए। संजय पहिलेको डेरा बसेका घरधनीको सहृदयी सहयोगी  भए पनि त्यहाँ बस्ने उति सुविधा थिएन। परिवार भएपछि उसले अब पहिलेको भन्दा  व्यवस्थित हुन त्यही गाउँमा छेउकै घरको एक तलमाथिको फ्ल्याट लिएर सुविधायुक्त डेरामा बस्न थालेको रैछ। एयरपोटबाट त्यो डेरा अझ नजिक थियो। उसले हिंडाउदै लिएर गयो। मायाको मीठास उस्तै थियो। उसको सहृदयताले मन शान्त हुँदै आयो। बिहे हुनासाथ हिंडेकी बुहारीसँगको पहिलो अनुभव थियो मेरो।  संजयको छुट्टीमा कहीं घुम्न जाने क्रम पनि भैरह्यो।

त्यसबेला त्यहाँको जीवनशैली संस्कृति र मानव हृदयको स्पन्दनलाई अलिकति छाम्न पाएको अनुभवका अनुभूतिहरू रहरलाग्दो गरी छचल्किएका छन्। गाउँले जीवन शैलीमा पातला घरहरू। त्यहाँका मानिसहरू मस्तराम। कुटिल र दुष्टयाइँ नगर्ने त्यहाँका मानिसहरूको सुन्दर मन। अरूको सम्मान गर्ने सुसंस्कारित चरित्र त्यहाँका मानिसहरूको आफ्नोपन। अर्काको खेदो नखन्ने प्रवृत्ति भएको त्यो ठाउँको शान्त वातावरण कोल्हापुरको समाज।

त्यस पटक गएको १५ दिनपछि एक साँझ पहिलेको डेरातिर घुम्दै गयौ बुहारी र म। त्यो डेरा पुगेर फर्कदा संजयले भनेको साहित्यकारको घर अगाडि पुग्न लाग्दा को हुन ती साहित्यकार एकपटक घरभित्रै पसेर सोधीखोजी गरौ भन्ने मनमा आयो अनि बुहारीलाई भनेर त्यो घरमा अफ्ठेरो मान्दै गयौ। नयाँ मान्छे हामी, भाषाको उस्तै समस्या एकातिर थियो। तर, हिन्दी भाषाको प्रयोग गरेर हामीले परिचय गरयौं। पहिलो भेटमा नै साहित्यिक मनको साक्षी जस्तै भएर उनले हामीलाई स्वागत गरे। उनी चन्द्रप्रकाश नलगे नामका ठुला मराठी साहित्यकार रहेछन्। कलेज पढाउने अवकाश प्राप्त प्राध्यापक उनले लेखेका कथाका केही मराठी चलचित्र बनेर उत्कृष्टता हासिल गरेका रहेछन्।

लगभग १ घण्टाको बसाइमा उनलाई मैले केही जान्ने अवसर पाएँ अनि उनले त्यसैबेला भने, “पर्सि आंबेडकर नगरमा तिसरे प्रयाग ग्रामीण साहित्य सम्मेलन छ। मेरो श्रीमती पनि जान्छिन्। अतिथिका रूपमा त्यो कार्यक्रममा तपाई पनि जानुपर्छ हैं। तपाईलाई लाने ल्याउने गाडी लिएर बिहानै हामी आउछौ” भनेर निमन्त्रणा थमाउँदै अनुरोध गरे।

रबिवार २०१०, २, १४ (तिसरे प्रयाग ग्रामीण साहित्य सम्मेलन मराठी भाषामा लेखिएको उक्त निमन्त्रणाको भाषा कार्डमा पूरै नबुझे पनि नामको लिपि बुझिए। उनी त्यो कार्यक्रमका अध्यक्ष रहेछन्। अनि कार्यक्रमबारे छोटो जानकारी लिएर जाने स्विकृति जनाएँ। मेरो सहभागितामा स्वागत गर्दै उनले “पर्सि बिहान ८ बजे नै यहाँबाट हिंड्नुपर्छ। दिनभरको व्यवस्था त्यहीं छ। म ८ बजे गाडी लिएर आउँछु भनेर हामी बस्ने डेरा सोधे। यहाँ छ भन्नेबित्तिकै गाउँ न हो उनलाई थाह भैगयो।

पर्सि बिहान ८ बज्दा नबज्दा मलाई लिन उनी र उनकी श्रीमती भएको कार घर अगाडि आयो। ठिक्क परेर बसेकी मैले छोरालाई गाडीसम्म लिंदै आएर उनीसँग परिचय गराएँ। अनि हामी हाम्रो गन्तव्यमा लाग्यौ। लगभग डेढ घण्टा लाग्यो  कार्यक्रमस्थल पुग्न। त्यो डेढ घण्टाको कार यात्रामा कोल्हापुरका थुप्रै अवयव देखाउँदै जानकारी दिंदै लगे।

गाउँले जनजीवनको दृष्यले रंगेली मोरङको झझल्को आयो। जमिनको खुलापनले रंंगेली, झापा रमरम भइरह्यो। यति फरक थियो कि यस्तो गाउँमा पनि सडकको विकास बडो व्यवस्थित रूपले भएको देखियो। गोबरका गुइँठा घर वरिपरि छरिएका। गाईवस्तु चरनमा भएको दृष्यले पनि मन आफ्नै देशको गाउँहरूमा पुग्न छाडेन। उद्योगहरूको विकास, खेतीबारीको सौन्दर्य वा कस्तो सक्रिय जीवन पद्धति।

यो संसार जति हेर्‍यो त्यति फराकिलो हुँदै जाने, जति घुम्योे त्यति तृष्णा बढ्दै जाने, जति पढ्यो त्यति पाठ थपिदै जाने, जति जान्यो त्यति अपुरो हुँदै जाने कस्तो अचम्म। यो अनौठो संसार पूर्ण रूपमा अनुभूत गर्न जीवन कसैलाई नपुग्ने।

हो नि संसारका हरेक सिर्जनाको अनुभूत गर्न पनि त सकिंदैनन्। सृष्टि सिर्जना त कति हो कति त्यसको लेखाजोखा राख्न मात्र पनि कसैको सामर्थ छैन। एउटा कुइनेटो जान्दा नजान्दा झ्याप्प सकिन्छ यो जीन्दगी। हुन त आफ्नो जीवन नै बुझ्न नसक्ने हामीले संसार कसरी बुझ्न सकौला र? तर पनि जिन्दगी रहुन्जेल जति सकिन्छ संसार हेर्नुपर्छ। नयाँ जीवन पद्धति नयाँ परिवेश, नयाँ मित्र, नयाँ स्थान, नयाँ वातावरण कति हो कति। यस्तै यस्ता कुराहरू मनमा खेलाउँदै अलिअलि गफ गर्दै हामी कार्यक्रम स्थलमा १० बजेतिर पुग्यौं।

समय बगिरह्यो गति दिएर आफ्नै सुरमा। आइतवार २०१०, २, १४ तारिकमा १०–३० बाट कार्यक्रम सुरु भयो। अतिथिको आसनमा मेरो परिचय गराएर मलाई फुरुङ्ग पार्दै लगे सरले मराठी भाषामा मलाई बोलाइयो। हङ्याङहुडुङ बोले पनि मन र शरीरको भाषा बुझ्न सकिंदो रहेछ। पहिलो उद्घाटन सत्रमा पुरस्कार वितरण कार्यक्रममा १० जना पुरस्कृत भए। पुरस्कार वितरणको क्रममा मलाई पनि एउटा भूमिकाको अवसर दिइयो।

उक्त कार्यक्रम सकिएर खाना खाने समय भयो। त्यसबेला मरठी साहित्यकारहरू र म भाषाको समस्या हुँदा हुँदै पनि हाउभाउले कुरा  बुझाबुझ गर्‍यौँ। त्यहाँको मुख्य प्रकाशक संस्था रश्मि बुक प्रकाशनका प्रमुख मनोहर पाटिल हिन्दी भाषा राम्ररी बोल्ने रहेछन्। उनीसँग गफ गर्न भाषाका कारण मलाई कुनै आपति नै भएन। उनले त्यही नै मेरो बालकृति मराठीमा अनुवाद गरेर प्रकाशन गर्ने प्रश्ताव राखे र केही समय सिक्किममा कार्यरत हुनुभएकाले एकजना त्यहीँका वासिन्दालाई देखाएर भने उहाँ नेपाली भाषा बुझ्नुहुन्छ। उहाँले तपाईको कृति अनुवाद गर्दिनुहुन्छ अनि हामी प्रकाशन गर्छौ भने। अहो, त्यो मेरो लागि सुखद् अवसर थियो, मैले नकार्ने त कुरै थिएन। खुसीखुसी सहमत जनाएर नेपाल जानासाथ पठाउँछु भनेर पठाउने ठेगाना लिएँ। अनि खाना खायौँ।

त्यसपछि दोस्रो सत्र सुरु भयो। दोस्रो सत्रको कार्यक्रममा मेरो उपस्थितिले अन्तराष्ट्रिय कार्यक्रम भयो भनेर प्रमुख अतिथि प्रा. किसेनराव कुराडे लगायत अरू अतिथिहरूले पनि मुक्तकण्ठले प्रशंसा गरेको त्यो अविस्मरणीय क्षण अहा कसरी बिर्सनु। मैले त्यहाँ जाने पनि नजाने पनि हिन्दीमा सानो मन्तव्य दिएर नेपाली भाषामा नै कविता वाचन गरे। कार्यक्रमको अन्त्यमा मायाको चिनो अरूसँगै मैले पनि प्राप्त सो कार्यक्रम ५ बजे सकियो। त्यसपछि पनि मेरो उपस्थितिमा सबैले खुसी प्रकट गरेर फेरि भेट्ने छौ भनेर गन्तव्यका लागि हामी त्यहाँबाट छुट्टियो। प्रो चन्द्रप्रकाश नलगेले त्यसपछि त्यहाबाट आधा घण्टा टाढाको कार यात्रामा एउटी नारी साहित्यकारको घरमा तपाईलाई लिएर आउनु भन्ने निमन्त्रणा छ। जाउ र फर्कियौ है भनेकाले हामी तिनै जना त्यतातिर लाग्यौं। त्यो दिन प्रेमदिवस मेरी बुहारीको जन्मदिन। म सामिल हुन नपाएकाले अलिअलि बैचैनी पनि थियो। छोराले कल गरेर हतार नगरी आउनुहोला हामी बजार जान्छौ है भन्यो।

कार गुडिरहेछ हामी ती साहित्यकार महिलाको घरामा पुगिसकेछौ। घरभित्र गएपछि चन्द्र सरले हाम्रो परिचय गराउनुभयो। पहिलो पटक आउने पाहुनालाई त्यहाँको संस्कृतिअनुसार उनले मेरो स्वागत गरिन्। कस्तो भव्य पो हुँदो रहेछ कोही मान्छे बोलाएर पहिलो पटक जादाँ त। सिङ्गो नरिवल, कुनै लाउने खालकै साडी या चोलो, रातो रंगको पुरिया, एकमुठी चामल आदि दिएर मित्रता सधैं रहोस् भन्ने भावनाले स्वागत गर्ने संस्कार। यस्तो खालको स्वागतमा सरिक हुने पहिलो अनुभव थियो मेरा लागि। त्यसपछि कोल्हापुरका मित्रहरूले बोलाएर पहिलो पटक घरमा भेट गर्न जाँदा त्यस्तो सद्भावपूर्ण सत्कार पाउँदा मलाई भित्र कतै असजिलो जस्तो भैरह्यो। तर, त्यहाँको संस्कृतिप्रतिको सम्मानका लागि पनि अस्विकार्नु नहुने कुरा थाहा पाएपछि म आत्मा गौरवले गदगद भएर सरिक हुन्थे।

त्यहाँ एक घण्टा जति बस्यौँ। रात्रिभोजनको त्यही व्यवस्था गरेको रहेछ। रात छिप्पिसकेको  थियो। जान हतारिदै खाना खाएर विदा भयौ। त्यहाँदेखि उनीसँग भेट हुन सकेन तर सम्झनामा आइरहने कोल्हापुरकी मित्रमा उनी पनि एक भइन्।

चकमन्न अँध्यारो छ हामी चढेको कार घुइकी रहेको छ। बेलाबेलामा केही गफगाफका सिलसिला चलिरहे। यतिकैमा हामी बस्ने डेरा अगाडि ल्याएर चन्द्र सरले हामीलाई छाड्दिंदा लगभग रातको ११ बज्न लागिसकेको थियो। छोराबुहारी  पनि भरखर बजारबाट आएका रहेछन्।

कोल्हापुरका इमानी र मानवातावादी मानिसहरूको मन नै त्यहाँको दर्शन हो। कुनै कुरा सोध्दा कुनै झिंजो नमानी बताउने, ठाउँ देखाउने त्यहाँका मानिसको सुन्दर पक्ष। होहल्ला, भिडभाडमा नलागी जीवनको लय मिलाउदै बाँचेका त्यहाका केही मानिस आजसम्म पनि हार्दिकताका साथ सहयोगी हात बढाउन पछि परेका छैन। नेपालमा कुनै संकट पर्दा उनीहरू चिन्तित भएर सम्पर्कमा आउँछन्।

त्यसको ३/४ दिनपछि मनोहर पाटिलजी हाम्रो डेरामा २ जना अरू साहित्यकारलाई लिएर आउनुभयो। ६ दिनपछि हुने साहित्यिक कार्यक्रममा प्रमुख अथिति भई सहभागिता जनाउन अनुरोध गर्नुभयो। मैले स्विकारें। त्यसको २ दिनमा विशिष्ठ अतिथिमा मेरो नाम छापिएको कार्ड दिंदै उक्त दिन समयमा गाडि लिन आउँछ  ठिक परेर बस्नु भनेर जानुभयो। कोल्हापुरसँग म जोडिंदै गए। त्यो कार्यक्रममा पनि मेरो आगवनले चर्चा पायो। पुस्तक विमोचन रहेछ। त्यसको महत्त्वपूर्ण भूमिकामा म सम्मिलित भएको क्षण सम्झिरहन्छु।

म उल्लासित हुँदै गएँ। आंबेडकर नगरमा तिसरे प्रयाग ग्रामीण साहित्य सम्मेलनको कार्यक्रमका प्रमुख अतिथि प्रा. किसन राव कुराडे हुनुहुन्थ्यो। उनले २७ तारिखको गडहिग्लडामा हुने साहित्यिक,शैक्षिक र सास्कृतिक कार्यक्रमको प्रमुख अतिथिकै रूपमा सहभागी जनाइदिनु भनेर अनुरोध गरे। आउनेजाने गाडीको व्यवस्था हामी गर्छौ। तपाईको स्विकृति मात्र चाहियो भने। भित्र कतै संकोच लागेर पनि स्विकृति जनाएँ। २४ तारिकका दिन त मनोहरजीकै साथ अरू २ जना आएर कार्ड दिएर गए। प्रमुख पाहुणे मा. लक्ष्मीदेवी (नेपालच्या लेखिका भनेर लेखेको र अन्य साहित्यिक र सांस्कृतिक व्यक्तित्वको विभिन्न भूमिकामा २० जना जतिको नामावली लेखेको काड हेरेर म अभिभूत भइरहें। कार्यक्रम रहेछ कर्मवीर विठ्ठल रामजी शिंदे शिक्षण संस्थाको- संभाजीराव माने साहित्य, वाणिज्य तथा विज्ञान कनिष्ठ महाविद्यालय, गडहिंग्लज भन्ने ठाउFमा। म बसेको ठाउँ भन्दा झण्डै २ घण्टा टाढाको कार यात्रा। उक्त संस्थाका अध्यक्ष प्रा. किसन राव कुराडे रहेछन्।

फागुन महिना विहानदेखि नै सूर्यले आफ्नो राग छाडेर यो धरा हँसाएको छ। २०१०, २, २७ तारिक शनिवारको दिन आज मेरो भोलि नेपाल फर्किने टिकट भैसकेको छ। जीवनमाा सुखद् अनुभव गर्दै आजको यात्रा समेत गरेर तीन पटक जुर्‍यो यसै पटकको कोल्हापुर बसाइमा अक्षरका नाता गाँसेर रमाउन पाएँ।

विहान ८ बजे म बसेको ठाउँ उजलावाडी कोल्हापुरमा मलाई लिन गाडी आउँछ। त्यो गाडीमा मराठी भाषाका वरिष्ठ बालसाहित्यकार श्री श्याम कुरले र उहाँकी श्रीमती र श्री मुरलीघर देशाई हुनुहुन्थ्यो। मसँग जाने मेरी बुहारी पूजा सहितको यो यात्रा चिल्लो बाटो हुँदै रफ्तारमा गाडी अगाडि बढ्छ।

घामको चमकले उजेलिएको यो यात्राले मनमा उल्लास थपेको छ। योजनाबद्ध तरीकाले बनिएका फराकिला सडक माझ अग्ला रुखहरूले झन् आलोकित बनाएको छ यो वातावरणलाई। हावाका झोक्काले रुखका पात र साना साना हाँगाबिँगालाई चञ्चल चुलबुल नचाइरहेको रोमाञ्चित दृश्य आहा, माथिमाथि चराहरू उडेर आकाशिएका छन्। आजको मौसमले यो परिवेशलाई नै मुग्ध बनाएको छ। सडकछेउ घर र झुप्राझुप्रीहरू निर्मित मानव वस्तीहरू। कोल्हापुरमाथिको आकाशमा आकार बदल्दै कुदेका बादलका अनेक आकृति! साँच्चि नै प्रकृतिलाई यी अवयवहरुले कति सुहाउँदिलो बनाइदिएको छ।

हरेक ठाउँमा गरिएका यात्राहरुले नयाँनयाँ कुरा सिकाउँछ नयाँनयाँ जीवन बुझाउँछ। हुन त एकै ठाउँको यात्रा बारम्बार गरियो भने पनि फरकफरक अनुभूति हुन्छ जिन्दगीमा।

कहिलेकाहीं र उदेश्य विनाको या भनौँ पूर्व योजना विनाको यात्रा पनि मीठो मीठो हुन्छ जीवनमा। आज यो प्रकृतिको अनुपम छटामा मैले यही अनुभव गरिरहेछु। मेरो जीवनलाई नयाँ नयाँ अभ्यास र अर्थ दिने अवसरहरू प्राप्त भइरहेका छन्।

वर्तमानको उत्सवमा अतीत बग्दोरहेछ थाहै नपाई सुटुक्क। कति पटक खुसीका पलहमा पनि उदासउदास भएझै यसपटक पनि यस्तै भएको छु। मनभरि रोएर पनि हाँस्ने अभिनयमा आर्द्र भएकी छु। यस्तो परिस्थितिमा कति पटक समयसँग फुत्कन खोज्थे तर समयले आफ्नो गति नछाड्न सक्यो, नथाम्म सक्थ्यो। एकान्तको छायाले बेचैनी बिच सुन्दर जीवन बाँच्ने रंग कसैले मिलाउन सक्दैन। आफ्नै सिर्जनाबाट इच्छाका सुगन्ध पिउन पाउँदा कस्तो आनन्द हुन्छ अनुभव गर्नेले मात्र अनुमान लगाउन सक्छन्। जीवनका हारलाई जीतको फूल फुलाउने कोसिस गरेर खुसी हुने प्रयास गरिरहें। कहिले नरित्तिने उपहार बनेर समयमा टाँगिएका तितामीठा स्मृतिहरू। जीवनमा यो प्राप्तिको पलमा भित्रभित्रै नौलौ तरङ्गमा आन्दोलित छ।

अहो! कसरी सम्हाल्नु यो मनलाई आज। यो विरानो ठाउँमाथि विराना मानिसहरूले मलाई गरेको सम्मान कम छैन। यस्तो उचाइमा मलाई यिनीहरूले ससम्मान राखेका छन्। मेन सडकबाट कार्यक्रम हलमा आउन रातो तुल ओछिएको छ। दुई लाइनमा विद्यार्थीहरूले फूलका गुच्छा थमाइरहेछन्। यो सपना हो कि विपना नै हो म अन्योलमा पर्थे र  सुटुक्क विपनाको संसारमा अवतरण गर्थे।

मिति सन् २०१०, २,२७ तारिकका दिन भारतको महाराष्ट्र गडाहग्लडा भन्ने ठाउँमा स्थापित कर्मविर विठ्ठल रामजी शिंदे शिक्षण संस्थाको सभाकक्षमा सहभागी विशाल जनसमूह अगाडिको मञ्चमा आसिन छु म प्रमुख अतिथि (प्रमुख-पाउणे) का रूपमा। मञ्चमा लेखक, प्राध्यापक, कलाकार, पत्रकार र समाजसेवीहरू क्रमबद्ध बसेका छन्। स्रोता  दीर्घामा सहभागीहरूको खचाखच हल भरिएको छ। त्यहींको परम्परा अनुरूप कार्यक्रम संचालित छ। मराठी भाषा दिवसको कार्यक्रम रहेछ त्यो। भाषा नबुझे पनि शारीरिक हाउभाउ र मनको भाषा बुझ्न रोक्ने कुनै सीमा हुन्न रैछ।

छोराको कर्मथलोमा गएको बेला यस्तो सुखद् मौका जुर्‍यो। मनमा छोराको साथमा पाएको जीवन गीतमा रमाएर अभिभूत छु। वरिष्ठ लेखक प्राध्यापक चंद्रकुमार नलगेलाई स्मरण गर्दा सन्तुष्ट हुन्छु। त्यो कार्यक्रममा आफ्नो भूमिका पूरा गर्न सके सकिन मलाई थाह छैन तर गएका ती पल समेटिएका छन्।

कार्यक्रम सकिए पछि प्रा. किसनराव कुराडेको अलि परतिर उहाँको घरमा हामी कोल्हापुरबाट आउनेलाई लानुभयो। त्यहाँ पनि पाहुनाका रूपमा उहाँकी श्रीमतीबाट पहिले जस्तै स्वागतसत्कार भयो। प्रा.कुराडेको घरनै संस्कृतिका अवयवको सानो सानो सङ्ग्रहालयजस्तै रैछ।

सफा मनका मानिसको शहर कोल्हापुरमा अक्षरकै दुनियाँबाट परिचित भएँ म। त्यहाँ साहित्यिक मन भएका प्रकाशन संस्था नै स्थापना गरेर व्यावसाय गर्ने मनोहर पाटिलको नेतृत्वमा नेपाल बालसाहित्य समाजको निमन्त्रणामा त्यहाँबाट केही साहित्यकार नेपाल आउनुभयो। नेपालका साहित्यकारलाई कोल्हापुर बोलाएर धुमधामले स्वागत सत्कार गरेको पनि बिर्सन सक्दिनँ। परिवारसँग र साहित्यिक मित्रहरूसँग घुमेका रमाइला क्षणले मन स्पर्श गरेको सम्झेर म आल्हादित हुन्छु। अक्षरको नाताले मानवीय मन र आफ्नोपनको रंगीन कलेवर भएका स्नेहीहरूलाई सम्झदै हृदयरत कोलापुरलाई प्रेम गरिरहेछु।

प्रकाशित: १ वैशाख २०८१ १३:४० शनिबार

अक्षर