कला

भक्तपुरको बिस्का जात्रा : यसिंद्य ढालिंदै आज

आठ रात नौ दिन लामो भक्तपुरको बिस्का जात्राको ५५ हात लामो यसिंद्य (लिंगो) आज साँंझ ५ बजे ढालिँदै छ। लिंगो शुक्रबार साँझ सात बजेर ४४ मिनेटमा उठाइएको थियो। डोरीको सहायताले तानिएको यसिंद्य राति उठाइएको थियो। जात्रा हेर्न दिउँंसोदेखि नै हजारौंको भीड लागेको थियो।

भक्तपुर नगरपालिका ५ को योसिंखेलमा प्रत्येक वर्ष जस्तै यसिंद्य उठाइन्छ। प्रत्येक वर्ष यसिंद्य उठाइने भएकै कारण यो ठाउँ योसिंखेलका नामले चिनिँदै आएको छ।

गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरकी प्रमुख खिमा ओलीले जात्रा सफलतापूर्वक सम्पन्न भएको बताइन्।

प्रत्येक वर्ष चैतको अन्तिम दिन साँझ यहाँ लिंगो ठड्याउने र वैशाख १ गते साँझ ढाल्ने प्रचलन छ। यही नियमअनुसार आज लिंगो ढालिँदै छ।

पाँचतले मन्दिर रहेको टौमढीअगाडि राखेर बनाइएको भैरवनाथको रथ नयाँ वर्ष आगमनको चार दिनअगाडि तानिएको र सँगसँगै जात्रा पनि सुरु भएको थियो। प्यागोडा शैलीमा बनाइएको तीनतले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन अद्यापि छ।

संस्कृतिविद् प्राडा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकाल अर्थात् तीन सय वर्षअगाडि राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो। तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानी नगरका रूपमा रहेका बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाउने गरिएको उनले बताए।

बिस्का जात्रा प्रत्येक वर्ष वैशाख ५ मा समापन हुँदै छ।

प्रकाशित: १ वैशाख २०८१ ०८:१७ शनिबार

भक्तपुरको बिस्का जात्रा यसिंद्य