कला

युकेजीमा अध्ययनरत बालकको चित्रकला प्रदर्शनी

युकेजीमा अध्ययनरत भक्तपुरका ६ वर्षीय बाल आरभबन्धु थापाको एकल खुल्ला चित्रकला प्रदर्शनी आइतबार राजधानीमा सुरु भएको छ। चेल्सी वर्ल्ड स्कुल अत्तर खेलमा युकेजीमा अध्ययनरत आरभबन्धुले चित्र बनाउँदा खुसी मिल्ने सुनाए।

सानो उमेरमै प्रकृती, संस्कृति र सम्पदाका आकर्षक चित्रकलाले धेरैको ध्यान खिचेको छ। नयाँ बानेश्वस्थित एनबी सेन्टरमा भएको खुल्ला चित्र प्रदर्शनीमा विभिन्न मठ मन्दिर र जात्राका करिब २५ वटा चित्र रहेका छन्।

यी चित्र बनाउन १५ दिन लागेको आरभले सुनाए। बिस्केट जात्रादेखि रातो मच्छिन्द्र जात्रा सम्मका चित्र बनाएका उनले न्यातपोलदेखि कुम्भेश्वरसम्मका मन्दिर पनि बनाएका छन्।

आफूले बनाएको मध्ये जनकपुरधामको चित्र सबैभन्दा बढी मन परेको उनले बताए।  आइतबार बिहान ११ बजेदेखि ६ बजेसम्म प्रदर्शनी हुने आयोजकले जनाएको छ।

प्रकाशित: २५ चैत्र २०८० १६:१० आइतबार