साहित्यिक पत्रकार संघले पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठको आत्मकथा सूर्यास्त-विम्बको लोकार्पण गरेकाे छ।
सो कृतिको लोकार्पण पूर्व राष्ट्रपति सम्माननीय रामवरण यादवले गरेका थिए। साथै लेखक श्रेष्ठलाई सम्मान पनि गरिएको थियो।
एलिस रिसेप्सन, नक्साल, काठमाडौंमा आयोजना गरिएको उक्त कार्यक्रम साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न भएको थियो।
श्रेष्ठको लाेकार्पित उक्त आत्मकथाबारे लेखक एवं संविधानविद् काशीराज दहाल, त्रिविविका डिन प्राडा कुशुम शाक्य र पत्रकार डा. जगत नेपालले समीक्षात्मक मन्तव्य राखेका थिए।
कार्यक्रममा पूर्व राष्ट्रपति सम्माननीय रामवरण यादव, अध्यक्ष लेकाली, लेखक श्रेष्ठ, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का संस्थापक महासचिव एवं इन्हुरेड इन्टरनेसनलका अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटी र पुस्तकका सम्पादक विवश वस्तीले आआफ्नो मन्तव्य राखेका थिए।
सापसका पूर्व अध्यक्ष कलाकार नरेन्द्रबहादुर श्रेष्ठले स्वागत गरेको सो कार्यक्रममा इतिहासविद् प्राडा सुरेन्द्र केसी, राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक) का अध्यक्ष प्रा. कपिल श्रेष्ठ, प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, पूर्व प्रमुख निर्वाचन आयुक्तहरू भोजराज पोख्रेल र निलकण्ठ उप्रेती लगायतकाे उपस्थित रहेकाे थियाे।
कवि एवं पत्रकार ठाकुर बेलवासेले सञ्चालन गरेको उक्त कार्यक्रममा तीन सय पचास बढी विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
प्रकाशित: १८ चैत्र २०८० १२:०७ आइतबार