कला

तेङ्बोचेको उकालो

नियात्रा

‘अहिले तपाईं हिँड्नुपर्ने उकालो ऊ त्यही जङ्गलबिच देखिएका बाङ्गाटिङ्गा सेता धर्साजस्ता बाटा हुन्। जङ्गलमाथि देखिएका घरहरू तेङ्बोचेका होटल हुन्। त्यही ठाउँमा हो तपाईंको आजको बास।’ सनासाको बिसौनीमा एकजना यात्रीले मेरो जिज्ञासा यसरी मेटाइदिएका थिए। आफ्ना औंलाले पूर्वको पहाड औंल्याउँदै आजको मेरो गन्तव्यबारे मलाई यसरी जानकारी दिएका थिए।

‘उकालो त गाह्रो होला जस्तो पो छ। दुई घण्टामा त उकालो चढिएला नि भाइ?’ मैले उनलाई सोधें।

‘एक घण्टामा तेङ्बोचेको उकालो काट्नुहुन्छ,’ उनले आफूले हिँडिरहेको बाटो हिँड्न सजिलै सकिने अनुभव सुनाए।

यति भन्दै आफ्नो झोला बोकेर उनी नाम्चेतिर उकालिए। तीनचार दिनदेखि सोलु जिल्लाको खुम्बु क्षेत्रमा म हिँडिरहेछु। सगरमाथा आधार शिविरको पैदल यात्रामा पाइलैपिच्छे यात्रीहरूको भिडमा हराउँछु। लुक्लाबाट नाम्चे हुँदै रमाइलो, रोमाञ्चक र कौतुकमय पदयात्रा प्रारम्भ भएको छ।

नाम्चे तेङ्बोचे पुग्न सनासाबाट म लैसासाको ओरालो झर्न थालें। बाटैभरि पदयात्री, विदेशीहरूको भिडाम भिड। सामान बोकेका घोडा र झम्पेहरूको उस्तै लस्कर। बाटो छेउको बडेमान ढुङ्गामा ‘ऊँ माने पेमेँ हूँ’ लेखिएका सुन्दर अक्षर कुँदिएका। यति ठुलो पहाडजस्तो ढुङ्गामा पनि कसरी अक्षर कुँदेको होला भन्ने कौतूहल हुन्छ। उत्तरतिर यस्तै ठुलो चट्टानी पहाड गजधम्म उभिएको।

पूर्वी भागमा हिमाली लस्करैमुनि तेङ्बोचे पाहुना पर्यटक पर्खिएर बसिरहेझैं लाग्छ। लुङ्दर फरफराइरहेका जताततै। ती ध्वजापतकामा बुद्धका शान्त मुद्रा र लेखिएका अनेक अक्षरहरू चलायमान छन्।

तेर्सो बाटो, फेरि ओरालो, फेरि त्यस्तै तेर्सो। कतै बोटवनस्पति केही नभएको पाखो। फाट्टफुट्ट झारपात र बुट्यान मात्र। पाखामा निस्फिक्री नाउर चरिरहेका देखिन्थे। अनेक जातका चरा उडिरहेका, च्याँच्याँचुँचुँ कराइरहेका। बल्ल जङ्गलको ओरालो बाटो हुँदै बिसौनी, लज, रेस्टुरेन्ट। सफा, कञ्चन दुधजस्तै सेतो दुधकोसी उन्मुक्त जलप्रवाहमा बगिरहेको। एकछिन त्यही पानीको छाल, तरङ्ग र भेल हेरेर आनन्दित हुन्छु।

फुङ्गिताङ्गा भन्ने यो ठाउँ पहाडको काखमा पारिलो घामले न्यानो पारिरहने बेंसी। दुधकोसीको झोलुङ्गे पुल तरेर पारि जानुअघि पुलछेउमै चिटिक्कको रेस्टुरेन्ट देखिन्छ। फुलिरहेका फूलहरू गमलामा सजाइएका। सफासग्घर त्यस्तै। त्यहाँ पसेर चियाखाजाले पेटपूजा गर्छु।

‘भाइ, तेङ्बोचेको उकालो काट्न कति समय लाग्ला मलाई ? कत्तिको गाह्रो होला?’ उकालो काट्न अलि कठिन हुने सोच्दै जिज्ञासा राख्छु। रेस्टुरेन्टका शेर्पा भाइले धेरै कुरा सुनाए। हौसला दिएर मलाई हिम्मतिलो पारे। उनको कुरा सुनेर म सजिलै छिनभरमै तेङ्बोचे पुगेजस्तै महसुस भयो।

कोसीको सुसाइले कान टालिएको। हेर्छु सुन्दरताका दृश्यहरू बाटोघाटो, पुलपुलेसा, पाखा, खोल्सा, वन, बगर सबैतिर बिस्कुन सुकाइएझैं। तिनैलाई हेरेर धित मार्न विदेशी पारखी यता ओइरिएका होलान् भन्ठान्छु। त्यसपछि कोसीको बगर हेर्दै, होटल, लज, निकुञ्जको सुरक्षा पोस्ट हुँदै तेङ्बोचेको उकालो सुरु हुन्छ।

त्यहाँका होटल, लजहरूमा पर्यटकहरू आराम गर्दै चियाखाजा खान निकै घुँइचो देखिन्छ। भरियाहरू भारी बिसाइरहेका, बोकेर हिँड्ने तयारी गरिरहेका र पर्यटकहरू फोटो खिच्न व्यस्त छन्। कति त गफमा मस्तले हाँसिरहेका तर कोसीको प्रवाहसँगै पानीको आवाजले आवाज बुझिन्न। उनीहरूको रमाइलो हेर्दै म उकालोमा पाइला चाल्न थाल्छु।

तेङ्बोचेको उकालो छिचोल्नु थकित ज्यान भएको बेला निकै कठिन हुने रहेछ। मुस्किलले पाइला उचाल्दै फेरि अर्को पाइलालाई अघि बढाउनु कम गाह्रो नहुने। कहिले तेङ्बोचेको थाप्लामा पुगिएला र थपक्क पिठ्युँको झोला बिसाउँला भन्ने हतारो तर जति पाइला हिँडाए पनि पुग्न सकेको होइन।

उकालोमा कति पर्यटक ओहोरदोहोर गरिसके। कति जनाले उकालो काटिसके। कति जना ओरालो झरिसके। बटुवा नहिँड्दा एकलास जङ्गलको बाटो। सुनसान वातावरणमा चराचुरुङ्गी उडेको आवाज सुनिन्छ। जमिनमा जनावर हिँडेको आवाजले मन झस्याङ्ग हुँदै हठात् झस्किन्छ। अलिकति डर पनि लाग्छ। लुकाएर लुकाउन नसकिँदो रहेछ डरलाई। एकान्तमा अचानक कतै बाघ निस्कियो भने के गर्ने?

यहाँ यतिबेला ‘गुहार’ भन्दै चिच्याउने कि भाग्ने? रुख चढ्ने कि बाघमाथि जाइ लाग्ने? त्यसबेला मलाई बचाउन को आउने? वनको एकान्तमा कसले सुन्ने मेरो अरण्य रोदन?

यस्तो घना वनको बाटो छ, जहाँका पशुपक्षीलाई मानिसले केही गर्नुहुँदैन। सगरमाथा राष्ट्रिय निकुञ्जले निगरानीमा राखेको छ। आज बिहान चिया खाँदै गर्दा एकजना स्थानीयले भनेका थिए, ‘चराको बच्चा चिसोले मर्न लागेको भेटेर घरमा ल्याएको, बेलुका त सेनाका मानिस सोध्दैखोज्दै आए। किन ल्याएको वनका चरा भनेर सातो खाए। मर्छ होला भनेर न्यानोमा राख्न ल्याएको भन्दा पनि उनीहरूको चित्त बुझेन। यसरी ल्याउनु हुँदैन भन्ने कुरा थाहा भएन भनेपछि बल्ल छुट्कारा दिए। चराको बच्चा पनि उनीहरूले नै लिएर गए।’

तिनले अलि अफसोस माने-‘बिचरा! ती बच्चाले न्यानो पाए होलान् कि पाएनन्, चारा दिए कि दिएनन् होला? मर्न त मरेको छैन होला कि! बेकारमा मैले  जङ्जंगलबाट उठाएर ल्याएछु। तर मैले यसरी बच्चा घरमा ल्याएको कुरा चाहिँ ती सेनाका मान्छेलाई कसरी थाहा भयो? कसले भन्यो होला? मैले घरमा ल्याएको कसैले देखेजस्तो त लागेको थिएन।’

त्यसैले यहाँको यो उकालोको बाटो वन्यजन्तुहरूबाट निकै खतरनाक नहोला भन्न सकिन्न। कति हिंस्रक जनावरहरू होलान्। मानिसले केही गर्न नभएपछि तिनीहरू कतिसम्म मात्तिएर महसुर हुँदै डुलिरेहका होलान्। बाघ, भालु, हिउँचितुवा पनि होलान्।

जङ्गलमा घाँसदाउरा गर्न निषेध भएकाले मानिसहरू वनतिर पस्नु पनि भएन। यसो हुँदा वनजङ्गल धेरै झोरझाडी र बोटवनस्पतिले घना भएको होला। बाटा छेउछाउका रुखहरू बुढा भएर लेउझेउले जेलिएका, कुनै सुकेका देखिएकै हुन्। कति ठाउँमा त रुख ढलेर मक्किइसकेका र त्यहींबाट च्याउ, झ्याउ, उन्युजस्ता विरूवा पलाएर अनौठो रूप देखिन्थ्यो।

‘यस्तो जङ्गलको बाटोमा कुनै जनावरहरू आउँदैनन्? कसैलाई आक्रमण गरेको छैन?’ मैले गरेको प्रश्नमा चियापसलका सबैले ‘यस्तो नराम्रो घटना चाहिँ आजसम्म नघटेको’ बताए। तर मलाई विश्वास लागेन किनभने मान्छेले सिकार गर्न पनि नपाउने र जङ्गलभित्र जानु नै एकप्रकारले बन्देज भएपछि त्यहाँका जनावर डरलाग्दा नहोलान् र?

स्थानीयले मलाई आश्वस्त पार्दै भनेका कुरा पुनः सम्झिन्छु-‘जङ्गलको बाटो भए पनि कुनै डर, त्रास केही हुँदैन। राति एक्लै हिँड्दा पनि केही हुँदैन। जनावरले आक्रमण गर्ने वा चोरी, लुटपाट हुने केहीको पनि डर मान्नु पर्दैन। निर्धक्क भएर हिँड्नु भए हुन्छ।’

तथापि मन शान्त हुँदैन। बेचैनीले छट्पटिँदै बाटो छिटो छोट्याउन खोज्छु। कोसीको सुसाइ पनि अब टाढिँदै गइसकेको छ। त्यसैले उकालो बाटो आधाउधी त भयो होला भन्ने अनुमान गर्छु। आफू आएको बाटो फर्केर हेर्छु। जानुपर्ने बाटो घाँटी तन्काएर मास्तिर हेर्छु। अघिसम्म हिँड्नेहरूको कति धेरै हुल ओर्लिरहेका। उछिनापाछिन हुँदै यात्रीहरूको ओहोरदोहोर कति हो कति ? बाटामा भेटिने र छुटिने कति कति यात्री।

बिसौनीमा बिसाएर भरियाहरू खाजा खाइरहेका। भारीलाई तोक्मामा टेकाएर खुइड्ढय गर्दै लामो सास फेरिरहेका। उकालोको साँघुरो घुम्तीमा त बाटो पाउन एकछिन पालो पर्खिनुपर्ने। सामानले लादिएका घोडा, झम्पेहरूका घाँटीमा बाँधिएका घण्टीको आवाज सुनेपछि त बाटोको भित्तातिर सुरक्षित नबसे बित्याँसै पर्ने। तिनले बोकेका सामानको धक्काले लडाउन सक्ने। कुनैले त लात्तीले उछिट्याउने। त्यसैले यिनीहरू आएको देख्ना साथ पहिले नै सतर्क हुनुपर्ने रहेछ। बाटो छोड्नु र भित्तातिर आड लिएर बस्नु बुद्धिमानी हुने रहेछ।

त्राहिमाम् त्राहिमाम् हुँदै छिटो छिटो, झन् छिटो फड्को मार्छु। खुट्टा उकालोमा उक्लिन मुस्किल हुन्छ। नाम्चेदेखि दिनभरि ओरालो झरेकाले खुट्टा थाकिसकेको हुनुपर्छ। त्यसैले उकालोमा पाइला सार्नै हम्मे हम्मे भइरहेको छ। जङ्गलतिर आँखा नियाल्छु, लालीगुराँसको जङ्गल देखापर्छ।

ओहो! हाम्रो राष्ट्रिय फूल लालीगुराँस ! तर चिसोले खाएर होला, फूल फुल्नका लागि कोपिला लाग्ने सुरसारै भएको छैन। फुल्ने, फैलिने कहिले होला भनी सोच्छु। गुराँस फुल्दा वनै रङ्गीन, सुगन्धित भएर मगमगाउँदो होला।

कहिल्यै नदेखेका, नचिनिएका चराहरू निर्धक्क भुइँमा चारा खोज्दै खाँदैछन्। अनि आत्मबल बढाउँछु– यिनलाई त केही डर छैन भने म मान्छे किन डराउनु? यदि बाघ आउने भए यी बिचरा चरा कहाँ यसरी आरामले चारा खोज्दै बस्थे होलान् र?

मन बुझाउँछु। तथापि कानहरू चनाखा हुन्छन्। आँखाहरू जङ्गलतिर नियालिरहन्छन्। पाइला बाटोमा दौडाउँछु। चुपचाप चुपचाप मौन सन्नाटाले उकालो केहीछिन चकमन्न हुन्छ। झन् अनेकौं कुरा मनमा खेल्न थाल्छन्। डरले अन्यौलमा पर्छु। निधार खुम्च्याएर बाटो तलतिर यसो नियाल्छु।

पर्यटक भरिया कोही पनि उकालो निस्किरहेका देखिँदैनन्। बाटो पनि एकदमै सुनसान छ। विस्फारित लोचनले ठाडो उकालो मास्तिर हेर्छु– चरामुसाको पनि कुनै चालचुल छैन। पात खसेको, चरा चलबलाएको फिटिक्क केही आवाज सुनिँदैन।

मधुर गुञ्जन एक्कासी मेरो चनाखो कानमा पर्छ। सास रोकेर सुन्छु– यो गुञ्जन मान्छेको हो कि कुनै अज्ञात पशुपक्षीको हो? म ठम्याउन सक्दिनँ। मान्छेले खासखुस कुरा गरेजस्तो पनि लाग्छ। चराले पातपतिङ्गर खोस्रिएजस्तो पनि। कुनै जनावर बिस्तारै हिँडिरहेजस्तो पनि। आङ सिरिङ्ग हुन्छ। पछि थाहा भयो आखिर त्यो त सरर हावा चलेको सुस्तरी गुञ्जन मात्रै रहेछ।

दिन ढल्किसकेको छ। सायद घाम अस्ताउने तर्खरमा होला। हेलिकोप्टरको चर्को आवाज पनि आउन छाडिसकेको छ। चिसोको मात्रा पनि बढ्न थालिसकेको छ। त्यसैले होला, बाटोमा मानिसको हिँड्डुल कम हुँदै गइरहेको। चित्त बुझाउने प्रयत्न गर्छु। डर भगाउने उपाय खोज्छु। सोच्छु, सम्झन्छु, आफैंलाई सम्झाउँछु।

तेङ्बोचेबाट विदेशी पदयात्रीहरू प्रायः दिउँसै बास बस्छन्। र, आफूलाई वातावरण अनुकूल राख्न आराम गर्दै हिँड्छन्। ओरालो झरिरहेका भरियालाई सोध्छु– ‘अब तेङ्बोचे पुग्न कति समय लाग्ला?’

‘अँ, तपाईंलाई आधा घण्टा जति हो।’ मलाई यसो हेर्दै अनि आफू आएको उकालोतिर फर्केर हेर्दै तिनले मलाई लाग्ने समयको अनुमान गरी भने। तर तिनको त्यो अनुमान कति सही हो तिनैले जानून्। मलाई चाहिँ जति हिँड्दा पनि उकालो काटेर भन्ज्याङमा बिसाउन पुग्ने समय बितेर गइरहेकामा दिक्क लाग्नु स्वाभाविक हो।

आधा घण्टा भनेको एक घण्टामा त जसरी पनि पुगिहाल्छु भन्दै म फेरि उकालो चढ्छु। एकछिन बस्छु, बिसाउँछु। अब बास बस्न पुग्ने भनेकै त्यही तेङ्बोचे हो, के को हतार र!

झोला बोक्छु। लट्ठी टेक्छु। हिँड्छु। उही उकालो, उस्तै ढुङ्गाका सिँढी आउँछन्। तिनलाई टेक्दै मास्तिर निस्किन्छु। तर माथि पुग्ने छेकछन्दै आउँदैन। फेरि उस्तै कुइनेटो आउँछ। उही उकालो भेटिन्छ। उही बोटबुट्यानहरू आउँछन्।

आधा घण्टा कटेर एक घण्टा पुग्छ समय। तर मरिगए तेङ्बोचे आउँदैन। म जङ्गलकै उकालो बाटोमा छु। हरे, हैन थाकेको बेला पुग्नुपर्ने गन्तव्य पनि कति टाढिँदै गएको हो? आखिर म हिँडिरहेकै छु।

‘हैन, तेङ्बोचे अब आइपुगेन?’ अर्का बटुवासँग प्रश्न गर्छु।

‘अब अलिकति मात्रै हो। आधा घण्टा जतिमा पुगिहाल्नुहुन्छ,’ सजिलै उत्तर दिएर उनी खुरुरु ओरालो झर्छन्। म तिनको हिँडाइ र भारीको बोझ हेर्छु। यसरी भारी बोकेर सजिलै बाटो काट्नेहरूको कैयौं ताँतीले डाँडा काटिसके। म भने सोध्दैमा जहाँको तहीं छु जस्तो लाग्छ। कहिले पुगिने हो त्यो तेङ्बोचे? हैन कति टाढा भएको हो? आफैं हैरान हुन थाल्छु।

लालीगुराँसका बोटबुट्यानका जङ्गल हुँदै उकालो चढिरहँदा पाइपबाट पानी झरिरहेको आवाजले झस्काउँछ। पानी पिएर जाँगर बटुल्नुपर्ला भन्ने सोच्दै झोला बिसाउँछु। आँखै सामु एकदमै नजिकबाट पानी पिउन आएका एक जोडी डाँफे देखेर खुसीले उफ्रिन्छु। एकदमै नजिकबाट डाँफे देख्न पाउँदा खुसीले रमाउँछु। डाँफेका प्वाँख र पखेटाका रङहरू।

भाग्ला कि भनेर बिस्तारै चाल मारेर फोटो खिच्ने कोसिस गर्छु। एउटा डाँफे भुर्र उडेर जङ्गलतिर पस्यो। अर्को डाँफेले भने मलाई फोटो खिच्नका लागि मजाले ‘पोज’ दियो। यसरी राष्ट्रिय फूल र राष्ट्रिय पक्षी एकसाथ देख्न पाउँदा थाकेर हिरिक्क हुन लागेको ज्यानले पनि आनन्द महसुस गर्न पाउँदा आफैंलाई धन्य सम्झिँदै उकालो लाग्छु।

प्रकाशित: १७ चैत्र २०८० १०:१० शनिबार

अक्षर नियात्रा तेङ्बोचेको उकालो