कला

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

कविता

गहुँका मसिना आँकुरामा

रातले मोती छरेर जान्छ

जब उदाउँछ घाम

सारा मोती सोसेर लिन्छ

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

हलोमा नारेर कुटिन्छ गोरु

भारी लदाएर हाँकिन्छ गधा

खोरमा थुनेर सुगालाई

चाराको लोभमा बोल्न सिकाइन्छ

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

घुस टेवुलमुनिबाट

सुन बोरामा

हाँक रातो पासपोर्टको

सानसौगात न्यायाधीश जस्तो

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

नरिवल मन्दिरभित्र फोडिन्छ

आँगनमा काटिन्छ बोका, कुखुरा

चँदुवा टाँगेको मूर्ति मूर्ति नै छ

महाराज, निर्दोले कसरी न्याय पाउँछ?

गुरुले चेतना बाँडे

छरछिमेकीले अर्ती दिए

समकक्षीले लोभ देखाए

आफन्त हुँ भन्नेहरूले घेराबारा लगाए

महाराज, निर्धाेले कसरी न्याय पाउँछ?

पढेर हजारौं पुस्तकका ठेलीहरूमा

कहिल्यै प्राप्त गर्न नसकिएको एउटा ज्ञान  

तपाईंले म भएर हेर्नुभयो भने

साक्षात् रूपमा देख्नुहुनेछ मैले भोगेको युग

जहाँ खुट्टा काँटेर वैशाखी

र,

आँखा फोडेर चश्मा दिने सरकार छ

महाराज, निर्धाेले कसरी न्याय पाउँछ?

प्रकाशित: १६ चैत्र २०८० १०:३१ शुक्रबार

अक्षर