कला

भाषा-मस्तिष्क संवाद

यस्ताे पनि!

मस्तिष्कमा भाषाहरू कसरी आउँछन् र जान्छन् भन्नेबारे एउटा शोधमा वैज्ञानिकहरू लागिपरेका छन्। बहुभाषीहरूमाझ भएको एउटा शोधमा वैज्ञानिकहरूले मस्तिष्कको कुन भाग भाषाका मामिलामा सक्रिय हुन्छ भनेर जान्नु मुख्य उद्देश्य रहेको छ।

वैज्ञानिकहरूले बहुभाषीहरूमा मस्तिष्कमा हुने गतिविधिका बारेमा अध्ययन गरेका छन्। ‘फङ्सनल म्याग्नेटिक रेजोनेन्स इमेजिङ’ नामक प्रक्रियाका माध्यमबाट वैज्ञानिकहरूले बहुभाषी मानिसहरूको बेग्लाबेग्लै भाषामा लेखिएका सामग्री पढिरहेका बेला दिमागमा हुने गतिविधिहरूको अध्ययन गरेका हुन्।

अध्ययनमा ३४ जना सहभागी थिए। तिनमा २० पुरुष र १४ जना महिला थिए। उनीहरूको उमेर ७१ देखि १९ वर्षसम्म थियो। २१ जना सहभागीहरूको मातृभाषा अंग्रेजी थियो भने अन्य फ्रान्सेली, रुसी, स्पेनी, डच, जर्मन, हंगेरियन र मन्डारिन भाषा बोल्नेहरू थिए। वैज्ञानिकहरूले दुई वटा समूह बनाए र तिनलाई बेग्लाबेग्लै तरिकाले अध्ययन गरे।

एउटा समूहमा पाँचदेखि ५४ भाषा जान्दथे। अर्को समूह भने कम भाषा जान्नेहरू थिए। एउटा अपवादबाहेक वैज्ञानिकहरूले बढी भाषा बोल्नेहरूले बेग्लाबेग्लै भाषा सुन्दा उनीहरूको अगाडिको भाग सेरेब्रल कर्टेक्स सक्रिय भएको पाए।

कुनै पनि भाषा बुझ्नका लागि मस्तिष्कका धेरै वटा भाग मिलेर काम गर्छन्। वैज्ञानिकहरू यसलाई ‘ल्याङ्वेज नेटवर्क’ भन्छन्। यो नेटवर्क निधार र कानका दुई भागतिर हुन्छन्। यिनले हाम्रा विचारलाई शब्दको सिलसिला मिलाउने र अन्यले भनेका वाक्यलाई सरलीकृत वा डिकोड गर्ने गर्छन्।

शोधकर्ता इभलिना फेडरेन्को भन्छिन्, ‘तपाईं कुनै भाषा राम्रोसँग जान्दछन् भने त्यसलाई सुन्दा तपाईंको मस्तिष्कमा भाषा विश्लेषण गर्ने मस्तिष्कको भाग पूर्ण रूपले सक्रिय हुन्छ।’

धेरै कम बहुभाषीहरू मात्र उनीहरूको मातृभाषामा पोख्त हुने पनि अध्ययनमा देखिएको छ। यस अध्ययनमा एउटा अपवादसमेत देखिएको छ। त्यसले वैज्ञानिकहरूलाई चकित बनाएको छ। धेरैजसोलाई मातृभाषा सुनाउँदा अन्य भाषाका तुलनामा मस्तिष्कमा कम प्रतिक्रिया देखिएको थियो।

औसतमा यो प्रतिक्रिया अन्यभन्दा २५ प्रतिशत कम थियो। केही बहुभाषीहरूको मस्तिष्कमा मातृभाषा सुन्दा एउटा हिस्सा मात्र सक्रिय भएको थियो, पूरै कर्टेक्स सक्रिय भएको थिएन। यस्तो किन भयो होला भन्नेबारे अध्ययन सहायक ओलेसिया योरावलेभ भन्छिन्, ‘बहुभाषीहरू आफ्नो मातृभाषामा यति पोख्त हुन्छन् कि भाषा बुझ्न आवश्यक मस्तिष्कको पूरै हिस्सा सक्रिय हुनु आवश्यक नै पर्दैन। एउटै हिस्सा वा सानो हिस्सा सक्रिय रहे पुग्छ।’

–एजेन्सी

प्रकाशित: १३ चैत्र २०८० ०८:४४ मंगलबार

यस्ताे पनि! भाषा–मस्तिष्क संवाद