कला

दोष

लघुकथा

गाउँको चिया पसलमा राजनैतिक गफ चल्दै थियो। यसै क्रममा एकजनाले भने, “हैन, हामीले जिताएर पठाएका नेताहरू आजभोलि संसदमा के गर्दैछन्? यतातिर पनि नआएको धेरै भयो। उता बसेर केही काम पनि गर्छन् कि गफ मात्रै हो?’

“के गर्छन् र तिनीहरू त्यहाँ? अहिले त अधिवेशन चलिराख्या छ। हिजो त्यही सदनमैं पो भनाभन गर्दै थिए त। कानुन बनाउलान्, देशको विकास गर्लान्, देशको गम्भीर समस्याका बारेमा छलफल गर्लान् भनेको त कतिखेर एउटाले अर्कोलाई भ्रष्टचारी भन्छ। फेरि उसलाई अर्कोले तस्करी भन्छ। कसैलाई चोर अरे, कोही  हत्यारा अरे। हैट। खाली एकले अर्काको दोष देखायो बस्यो। हैन यो संसद् भनेको दोष देखाउने ठाउँ पो हो कि क्या हो?”

“स्वच्छ छविको नेता त पाउनै मुश्किल छ। कोहीकोही त दोषी पनि होलान् नि। त्यही भएर भनेका होलान नि।”

“त्यति मात्र कहाँ हो र?” अर्को एकजना अघि सरेर भने “कहिलेकाहीं  त त्यै संसद् पनि अवरोध गर्दा रहेछन्। संसद किन अवरोध गरेको भनेर पत्रकारले सोधेको सत्ता पक्षले प्रतिपक्षलाई अनि  प्रतिपक्षले सत्तापक्षलाई दोष दिंदो रहेछ।”

“अनि दोष कस्को रहेछ त? सत्ता पक्षको कि प्रतिपक्षको?”

“उनीहरू कसैको दोष किन हुन्थ्यो, उनीहरू त सबै निर्दोष। दोष त  हाम्रो भयो नि केटाहरू हो, त्यस्तालाई जिताएर पठाउनु नै हाम्रो दोष भयो।” अलि पाका मान्छेले भने।

-डा. धर्म सापकोटा राजु

प्रकाशित: ९ चैत्र २०८० १३:४२ शुक्रबार

अक्षर