कला

मुन्धुमीस्थलको प्रचार गर्न ‘सेहोनाम्लाङ’ महोत्सव हुने

किरात धर्मशास्त्र मुन्धुममा आधारित ठाउँहरूको प्रचार गर्न जिल्लामा ‘सेहोनाम्लाङ’ साँस्कृतिक पर्यटन महोत्सव हुने भएको छ।

मुन्धुममा वर्णन भएको लिम्बू समुदायको उत्पति भएको मानिने ठाउँ सेहोनाम्लाङ (छाला सुकुवाडाँडा) सहितका क्षेत्रको प्रचारका लागि फाल्गुनन्द गाउँपालिका–५, फाक्तेपमा यही चैत २६ गतेदेखि वैशाख २ गतेसम्म महोत्सव हुने भएको हो। सेहोनाम्लाङको धार्मिक, साँस्कृतिक तथा पर्यटकीय महत्वको प्रचार गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ।

सेहोनाम्लाङ क्षेत्र र लिम्बू समुदायको उत्पतिसम्बन्धी किंवदन्तीका दुई पात्र नामसामी र केसामीबारे छलफल गर्ने आयोजक समितिका सचिव सूर्यप्रकाश चेम्जोङले बताए। महोत्सव करिब ४० लाखको लागतमा गर्न लागिएको हो।

महोत्सवमा सेहोनाम्लाङ क्षेत्रमा नियमित भ्रमण गराउने, कृषिजन्य वस्तु प्रदर्शनीमा राख्ने, सेहोनाम्लाङबारे विज्ञहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ।

त्यसैगरी आदिवासी जनजातिका कला संस्कृति सम्वर्द्धनबारे वहस, कृषि तथा पर्यटनसम्बन्धी गोष्ठी, लोकसंस्कृतिमा आधारित कार्यक्रम, विभिन्न खेलकुद प्रतियोगिता हुने आयोजक समितिका अध्यक्ष डिएम आङ्देम्बेले बताए। 

प्रकाशित: ४ चैत्र २०८० १३:०६ आइतबार

अक्षर ‘सेहोनाम्लाङ’ महोत्सव