आजका युवाको एक मात्र विकल्प बनेको छ–वैदेशिक रोजगारी। देशभित्रै रोजगारीका अवसर नहुँदा विदेशी भूमिमै गएर भए पनि दुई पैसा कमाउनु तिनको जीवनको उद्देश्य रहँदै आएको छ। पन्जाबका तत्कालीन राजा रणजित सिंहको सेनामा भर्ना हुन लाहोर पुगेका लाहुरेदेखि सुरु भएको वैदेशिक रोजगारीको कथा अहिले ‘खाडीका लाहुरे’सम्म निरन्तर छ।
अहिले सिंगै नेपाल विदेश गइरहेको जस्तो अवस्था छ। एक अनुमानअनुसार वार्षिक पाँच लाख युवा वैदेशिक रोजगारीका निम्ति विभिन्न देशको श्रम बजारमा जान्छन्। गत वर्ष सात लाख ७१ हजार तीन सय २७ युवा कामको खोजीमा वैदेशिक रोजगारीका लागि श्रम बजारमा प्रवेश गरेका छन्।
एकातिर नेपाली वैदेशिक श्रमबजारमा जान मरिमेटिरहेका छन् भने अर्कातिर नेपालको आन्तरिक श्रम बजारमा भारतीय र अन्य श्रमिकले राम्रै कमाइ गरिरहेका छन्। रेमिटान्सका हिसाबले नेपाल भारतका निम्ति आठौं मुलुकमा पर्छ।
भारतीय, चिनियाँ, कोरियाली आदिले यहाँबाट रेमिटान्स लगिरहेका छन्। कतिपय विदेशी नागरिकले विज्ञ सेवा दिने परामर्शदाताका रूपमा पनि यहाँबाट ठुलो रकम कमाइ गरेर लगिरहेका छन्।
प्रत्येकजसो नेपाली घरधुरीले वैदेशिक रोजगारीबाट लाभ लिएका छन्। त्यसरी वैदेशिक रोजगारीमा जानेले पठाएको विदेशी मुद्राले देशको अर्थतन्त्रमा ठुलो टेवा पुगेको छ। यसैकारण हाम्रा अर्थमन्त्रीहरूले अर्थतन्त्रका बाह्य सूचक सुधारिएको दाबी गर्ने मौका पाएका छन्।
वैदेशिक रोजगारीमा गएका सबै युवाले भने सुखानुभूति गर्न पाएका छैनन्। सुखदुःख जसरी भए पनि विदेश गएर केही कमाउन पाए घरपरिवारले सुख पाउँथे भनी ती विदेश जान्छन्। यो समयमा नेपाली ‘मदन’ मात्र होइनन्, ‘मुना’ पनि विदेश गइरहेका छन्।
यी आधुनिक ‘मुनामदन’ले पाउने सुविधा सुनिश्चित गर्न राज्यका तर्फबाट अपनाउनुपर्ने सावधानी अझै पुगेको छैन। यही स्थितिमा रोजगारीका लागि नेपाली युवा कहिलेसम्म विदेश धाइरहने? विदेशमा रोजगारी सधैं उपलब्ध नहुन सक्छ। त्यसैले त्यहाँको रोजगारी नपाउने स्थिति आउनुअघि नै नेपालले वैकल्पिक योजना गर्नुपर्ने सुझाव विज्ञहरूले दिँदै आएका छन्। त्यसो नहुँदा नेपाली युवाका निम्ति वैदेशिक रोजगारी बाध्यताको विषय बनिरहँदैन। घरमै बसीबसी केही गर्ने अवसर प्राप्त हुन्छ।
वैदेशिक रोजगारीबाट फर्केका नेपालीलाई देशमै तिनले सिकेको सिप उपयोग गरी उत्पादनमूलक क्षेत्रमा लगाउन सकिन्छ।
नेपालको श्रम बजारमा वार्षिक कति लाख मान्छे आउँछन्? आन्तरिक खपत कति गर्न सकिन्छ? कस्तो काममा विदेशबाट आएका कामदार लगाउने भन्ने योजनाको तथ्यांक सरकारसँग छैन।
वैदेशिक रोजगारीको अवस्था के छ? विदेशमा रोजगारीको सम्भावना कति छ ? विदेशमा पाइने रोजगारीको विस्तृत विवरणसमेत थाहा नपाई बाहिरिने युवा संख्या अत्यधिक छ। त्यसमा पनि कक्षा दशसम्म पनि नपढेका युवा धेरै छन्। उनीहरू पढाइसमेत पूरा गर्न नसकी आर्थिक दबाबमा परेर बिदेसिएका हुन्। पढाइ पूरा नगरे पनि ऋणपान गरेर भए पनि विदेश पठाउन अभिभावकदेखि समाजसम्म सक्रिय भएको देखिन्छ।
युवालाई विदेश पठाउने एजेन्ट पनि घरघरमा पुगेर वैदेशिक रोजगारीका लागि सहजीकरण गर्छन्। देशभित्रै उद्योगधन्धा, व्यापार व्यवसाय चले वैदेशिक रोजगारीमा जानैपर्ने थिएन। गाउँगाउँमा विदेशबाट परिवारजनले दुःख गरेर पठाएको रेमिटान्स आउन थालेपछि धेरैलाई अल्छी पनि बनाएको छ। घरको करेसाबारीमा दुई मुठा साग फलाउन पनि मन नलाग्ने भइसकेको छ। बजार गयो, दुःख गरेर ल्याएको पैसाले किनेर खायो।
वैदेशिक रोजगारबाट आएको रेमिटान्सलाई सदुपयोग गर्ने सही योजना नहुँदा उपभोगमै ठुलो हिस्सा सकिन थालेको छ। कतिपय अवस्थामा विदेशबाट आएको रेमिटान्स उतै फर्कने गरेको देखिन्छ। विदेशमा रहेका व्यक्तिले एकै परिवारका अर्का सदस्यलाई विदेश तान्न पनि रेमिटान्स प्रयोगमा आउने गरेको छ।
गत आर्थिक वर्षमा १२ खर्ब २० अर्ब रूपैयाँ रेमिटान्सका रूपमा नेपाल आएको थियो। दुःखको कुरा कमाइको तीन चौथाइ खर्च हुन्छ। करिब २८ प्रतिशत मात्र बचत हुन्छ। आयको एक चौथाइ ऋण तिर्न, अर्को एक चौथाइ उपभोग गर्न र करिब १० प्रतिशत शिक्षा–स्वास्थ्यमा खर्च हुन्छ।
नेपालमा महँगी चुलिएको छ। देशमा रोजगारी पाए पनि त्यसले खान, लाउन पुग्ने अवस्था छैन। वैदेशिक रोजगारीबाट आएको आम्दानीले मानिसको जीवनस्तर भने बढेको छ। खरका छानामा टिन लागेको छ, छोराछोरी सहर बसेर पढेका छन्, हिजोभन्दा भान्सामा पोष्टिक खानेकुरा थपिएको छ।
वैदेशिक रोजगारीमा जान बाध्य हुनु र आन्तरिक कृषि बजारलाई व्यवस्थित नगर्नुले गाउँगाउँ खाली हुन थालेका छन्। खेतीयोग्य जमिन सुक्खा भएर पटपट फुटिरहेका छन्। त्यस्ता गाउँमा काम गर्ने मानिस छैनन्।
कुनै घरमा काम गर्ने मानिस भए पनि तिनका कोही न कोही विदेशमा हुन्छन्। घरमा भएका मानिसले ‘दुःख गर्ने दिन गए’ भन्दै काम गर्न छाडिदिन्छन्। विदेश जाने परिवार सदस्यले पनि घरका मानिसलाई दुःख नगर्न र ‘बेंसीसहर’तिर जान आग्रह गर्छन्। अझ सक्नेले सबै परिवार विदेश लैजान चाहन्छन्। यसमा पर्छन् खासगरी पश्चिमा मुलुकमा परिवार सदस्य रहेकाहरू।
वैदेशिक रोजगारीको सपना आफ्नै छिमेक, विद्यालयको पाठ्यक्रम, सामाजिक सञ्जाल आदिले देखाउँछ। आफूले चिनेको अर्को मान्छे विदेश गएको देख्नासाथ यहाँ हुनेलाई पनि कहिले जाऊँजस्तो हुन्छ।
‘१२ कक्षा पास गरियो,’ ललितपुर चापागाउँकी १९ वर्षीय सुविना केसी भन्छिन्, ‘दुईचार देशका लागि ट्राइ गरिरहेकी छु। जुन देशको भिसा चाँडो आउँछ, त्यही देश जाने हो।’
उनले मसँग भनिन्, ‘यहाँ बसेर के गर्नु र? भविष्य पूरै अन्धकार छ। जति वर्ष मेहनत गरे पनि उस्तै हुन्छ। मेरा दाइले भारत गएर सिभिल इन्जिनियरिङ गर्नुभएको छ। नेपालमा खै केही काम पाउनुभएको छैन। दाइ पनि बिदेसिने तयारीमा हुनुहुन्छ।’
यी दाजुबहिनीको विदेशमा पुगेपछि बाबुआमालाई पनि उतै लैजाने सोच रहेको छ। यस्तो सोच केसी परिवारको मात्र छैन, सबै विदेश हानिन चाहन्छन्। घरघरमा भिसा आउनु भनेको भाग्यको ढोका खुल्नु हो भन्ने भावना विकास भइरहेको छ।
विदेशमा अध्ययनका लागि लाखौं खर्चेर स्वदेश फर्किएका युवापुस्तामा उस्तै निराशापन छ। उनीहरूले आफ्नो पढाइमा लगाएको लगानीको फल नेपालमा पाउन सकेका छैनन्।
यस्तो अवस्थामा के वैदेशिक रोजगारको अन्त्य होला त? युवापुस्तालाई राज्यको सेवा प्रदान प्रणालीले झनै दिकदार बनाएको छ। एउटा सेवा पाउन थुप्रै अल्झन झेल्नुभन्दा विदेशै जान्छु भन्ने मानसिकता बनाउन उनीहरू बाध्य भएका छन्।
राज्यले स्वदेशमा रहेका युवालाई त केही गरेको छैन, विदेशबाट सिप सिकेर आएका युवालाई हौसलाका साथै सेवासुविधा पनि नदिएको थु्रपै पीडितहरू बताउँछन्। विदेशबाट सिप सिकी नेपाल आएर कृषि थालेकाहरू पनि दिकदार भई पुनः विदेश जाने तयारीमा छन्।
वैदेशिक रोजगारीमा जाँदा सक्दो कमाइ गरे पनि त्यो कमाएको रकम कहाँ र कसरी प्रयोगमा ल्याउने भन्नेबारे थाहा नपाउने युवायुवतीको संख्या पनि ठुलो छ। घरमा गुजारा गर्ने कुनै अवसर नहुँदा वैदेशिक रोजगारीमा जान बाध्य युवायुवतीले विदेशमा जति हाडछाला घोटे पनि कमाएको रकमलाई उत्पादनमूलक क्षेत्रमा उपयोग गर्न नसक्दा वैदेशिक रोजगारीमा जानेहरूको आर्थिक अवस्थामा सुधार आउन सकेको छैन।
विदेशी सिप र मुद्रालाई स्वदेशमा कसरी परिचालित गर्ने भन्ने ध्यान राज्यको भएन। युवाले वैदेशिक रोजगारीबाट ल्याएका विभिन्न सिप र सोचले हाम्रो देश पनि विदेशजस्तै सुन्दर हुन्छ। त्यसका निम्ति त्यो जनशक्तिलाई प्रयोग गर्ने सोच हुनुपर्छ। राज्यले युवालाई स्वदेशमै सपना देखाउन सकेको छैन। यसले गर्दा वैदेशिक रोजगारीको आकांक्षा तत्काल टुट्ने देखिन्न।
भारतमै गएका श्रमिकहरूले पनि नेपालमै रोजगारी पाए फर्किने इच्छा गरेको देखिन्छ। मैले व्यक्तिगत तहमा भेट्दा कतिपयले न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक दिए पनि हुन्छ तर काम चाहियो भनेका थिए।
भारतबाहेक अन्य देशमा गएका अधिकांशले भने रोजगारीको काम नगर्ने र उद्यमी बन्ने इच्छा राखेका छन्। उद्यम गर्ने भनेको नेतृत्व लिने हो। तर, उद्यम गर्ने अवसर र वातावरण राज्यबाट हुनुपर्छ भन्ने नै हो। त्यसो नहुँदा उनीहरू उद्यम गर्ने सपना त्यागेर बिदेसिन बाध्य हुन्छन्।
विदेशमा देखेर आएको सिप र साधनलाई स्वदेशमा परिचालित गर्ने पक्षमा युवाहरू छन्। स्थानीय निकायले नै विदेशमा देखेको कुरा यहाँ कसरी सम्भव हुन्छ भनेर थुप्रै युवाको मनोबल घटाउने गरेका छन्।
वैदेशिक रोजगारबाट फर्किएका युवाहरू आफूले केही गर्न खोज्दा उत्साह दिने मानिस र संस्थाको कमी रहेको अनुभव गरेका छन्। विदेशबाट ज्ञान, सिप, नयाँ विचार लिएर आएका युवालाई स्वदेशमै सेवासुविधासहित उनीहरूले देखेका आधुनिक औजार उपकरण प्रयोग गरी उद्यम गर्न सक्ने वातावरण चाहिएको छ।
केहीका लागि वैदेशिक रोजगार रहरको विषय भए तापनि अधिकांशका लागि यो बाध्यता बन्न पुगेको छ। नेपालबाट सबैभन्दा धेरै कामदार जाने मुलुक मलेसिया र साउदी अरेबिया हुन्।
समाजशास्त्री तथा श्रमविज्ञ गणेश गुरुङका अनुसार वैदेशिक रोजगारी दिन प्रतिदिन फस्टाउँदै गएको यो क्रम चलिरहन्छ। यसको अन्त्य हुन गाह्रो छ। ‘वैदेशिक रोजगारीमा संख्यात्मक हिसाब र यसको स्वरूपमा फरक आउन सक्छ,’ उनले भने, ‘देशमै आन्तरिक रोजगारीको अवसर नभएसम्म यो प्रक्रिया चलिरहन्छ। अन्य देशमा दिइने तलबसहितको सेवासुविधासरह स्वदेशमा नभएसम्म युवा विदेश गइरहन्छन्।’
अहिलेका युवा देशमै प्रगति गर्नुभन्दा विदेशतिरको सोच बुनिरहेका छन्। विदेशबाट फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमी सबैलाई सम्मानपूर्ण वातावरण दिन सकेमात्र अहिलेको बाह्य रोजगारी गन्तव्यको खोजी कम हुन सक्छ।
सरकारले आन्तरिक रोजगारी प्रवृत्तिमा बढी ख्याल नगर्दा विदेशको बाटो नै युवापुस्ताको पहिलो प्राथमिकताभित्र परेको छ। सरकारको श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डहरूले अहिलेसम्म वैदेशिक रोजगारमै पहल गरिरहेका छन्।
देशभित्रै युवालाई कसरी आकर्षित गर्ने भन्ने योजनामा उनीहरू छैनन्। एउटा बिन्दुमा पुगेपछि विदेशको मुख ताक्न छाडेर यहीं केही गर्नुपर्ने अवस्था आउँछ। किन अहिल्यै त्यसका निम्ति योजना नबनाउने? देशकै निम्ति श्रम शक्ति चाहिन्छ। त्यसका निम्ति पनि उपाय खोज्ने बेला भइसकेको छ।
प्रकाशित: ३ चैत्र २०८० ०८:०८ शनिबार