कला

लिखु पालिका गान ‘प्यारो ओखलढुंगा हाम्रो प्यारो लिखु’ सार्वजनिक

ओखलढुंगाको लिखु गाउँपालिकाले आफ्नो पालिका गान भव्य कार्यक्रमका बिच सार्वजनिक गरेको छ। लिखु गाउँपालिकाले आयोजना गरेको लिखु पालिका अध्यक्ष कप २०८० को उदघाटन कार्यक्रममा लिखु गानको सार्वजनिक गरिएको हो।

लिखु गाउँ कार्यपालिका कार्यसमितिको फाल्गुन ३ गते गाउँपालिका कार्यालयमा बसेको बसेको बैठकले पालिका गानका लागि विभिन्न सर्जकबाट रचना माग गरेको थियो। यसरी आवेदन गरिएको मागका आधारमा ८सर्जकले पालिका गान छनौटका लागि आफ्नो रचना दर्ता गराएका थिए।

आवेदनमा परेका ८ रचनामध्ये लिखु ५ का सर्जक कुमार काफ्लेको ‘प्यारो ओखलढुंगा हाम्रो प्यारो लिखु’ छनौटमा परी रेकर्ड गरिएको लिखु गाउँपालिका ओखलढुंगाका प्रमुख प्रशासकीय अधिकृत लिलाराज श्रेष्ठले बताएका छन्। पालिका गान छनौट गर्न राष्ट्रिय गानका सर्जक प्रदीपकुमार राई (व्याकुल माइला) को संयोजकत्वमा पालिका गान छनौट समिति गठन गरिएको थियो।

छनौट समितिको सिफारिसको आधारमा लिखु गाउँ कार्यपालिकाले २०८० फागुन २७ गते निर्णय गरी फागुन ३० गते गीत सार्वजनिक गरिएको हो।

लिखु पालिका गान सार्वजनिक गर्ने क्रममा संविधान सभा सदस्य यज्ञराज सुनुवार, सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनाल, लिखु गाउँपालिका अध्यक्ष अशोककुमार कार्की, उपाध्यक्ष अस्मिता थापा, जिल्ला समन्वय समितिका सदस्य बद्रीविक्रम कार्की, भीमप्रसाद गौतम, पालिका प्रवक्ता मोहन कार्की लगायतका अतिथिले उत्कृष्ट गीत सिर्जनाको लागि स्रष्टा कुमार काफ्लेलाई बधाई तथा शुभकामना दिएका थिए।

पालिकाले पालिका गान सर्जक कुमार काफ्लेलाई सम्मानपत्र सहित सम्मान गरेको छ। पालिका गानका सर्जक काफ्लेले उक्त अवसरमा गीत लेखनका प्रेरणाका स्रोत वरिष्ठ गीतकार कृष्णहरि बराल, कालीप्रसाद रिजाल, टंक भट्टराई, श्रीराम राई लगायतका गीतसङ्गीतका स्रष्टा तथा सर्जकहरूलाई सम्झिएका थिए।

‘हजार सपना’ उपन्यासबाट एकाएक चर्चामा आएका गीतकार काफ्लेका उपन्याससँगै अन्य संयुक्त सङ्ग्रहहरू पनि प्रकाशित छन्। ‘हृदयको सपना’ कथासङ्ग्रह र ‘सपना कतिपय’ लघुकथासङ्ग्रह उनका प्रकाश उन्मुख कृति हुन्।

लिखु गानमा पुष्कर सुनुवार, कुवेर तामाङ, नरेश तामाङ, लाक्पा दिकु शेर्पा र अनुमा चौधरीको आवाज रहेको छ। यसै गरी गानमा संगीतत एरेन्ज पुष्कर सुनुवारको रहेको छ।

विभिन्न संघसंस्थामा आबद्ध भई समाज सेवामा समर्पित गीतकार काफ्ले शिक्षणमा पेसामा संलग्न रहेको छन्।

प्रकाशित: १ चैत्र २०८० ०८:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App