हो नि! सञ्जालले देखाउने अनुहार र जोड्ने साइनो नवीन छ। अझ नवीनतम भने पनि केही बिग्रन्न।
उनको उद्धृत परिचय लेखिएको पेज सरसरती हेरेपछि आँखाले तानेर मन अड्याएको अनुहारसित साइनो जोडिन्छ। कहाँ जोडिन्छ मात्र विकसित हुन्छ।
विस्तारै भलाकुसारी चल्छ, साँझबिहान फुर्सदले बोलाउँछ। एकातिर व्यस्तता रहे अर्कोतिर छटपटी बढ्छ। सँगसँगै फुर्सदको साइत जुरे मन रमाउँछ। आँखा लोलाउँछन्। भेटिने निम्तो लेनदेन सुरु हुन्छ। उपयुक्त स्थानको खोजी सुरु हुन्छ। सतर्क भई गोपनीय रक्षा गर्दै भेटघाटले जस लिन्छ। गति बढाउँछ।
समय बित्छ। भेटसँगै रहरहरू थपिन्छन्। साथीअनुकूल आफ्नो स्वभाव बनाउने कौशल देखिन्छ दुवैतर्फ।
मन कल्पन्छ। सान्निध्यले जिस्क्याउन थाल्छ। मन कुतकुतिन्छ। अङ्गहरू स्पर्श खोज्छन्। मस्तिष्कले एकान्त माग्छ।
व्यवस्थापकीय कौशल जम्काभेटका लागि क्रियाशील हुन्छ। उता यस्तै यता उस्तै खसखसले कोट्याउँछ।
उताबाट खै कहिले भेट्ने? किन भेट्न नमानेको? निष्ठुरी प्रश्नहरू बर्सन्छन्। दुवै मन उद्वेलिन्छन्। यो मनलाई लाग्छ झ्वाम्मै हामफालेर जाऊँ र अँगालोमा बेरियूँ, घण्टौं बितेको पत्तै नहोस्।
यो सृष्टिको सूत्र, हरेक जीवन रसरङ्गमा रमाउने चाहले तानिने रहेछ। मन साटिने र हृदय गाँसिने सुसाइतको पर्खाइ। आखिर कर्म गर्ने ध्याउन्नमै त दिन जाने, रहरहरू फक्रिरहने, मनकै रहेछ रीत।
प्रविधिले चमत्कार थपेको देखेर ठोक्किएका दुवैको नजर चेतनामा अडिन्छ, इमान चिनाएर विवेकले सामाजिक मूल्य नभत्काई उभ्याएको नैतिकतामा मित्रता रमाउँछ।
- डा.छायादत्त न्याैपाने
प्रकाशित: २८ फाल्गुन २०८० १०:५८ सोमबार