कला

स्रष्टाद्वयको कृति चर्चा र संवाद

सिर्जना अभियान समाजको आयोजनामा भएको सिर्जना र संवादमा स्रष्टाद्वय नियात्राकार शरद निरोला र कवि ध्रुव जोशीले आफ्ना सिर्जना वाचन तथा लेखन अनुभूतिका बारेमा पाठकहरूसित संवाद गरेका छन्।

सिर्जना र संवादअन्तर्गत भएको सो कार्यक्रममा कवि एवं नियात्राकार निरोलाले एक समय जासुसी उपन्यास लेखे पनि हाल कविता र नियात्रामा कलम चलाएर आफ्ना अनुभूति र भोगाइ प्रस्तुत गरिरहेको बताए।

कवि जोशीले जीवनको उत्तरार्द्धमा आएर कविता लेखे पनि सानैदेखि साहित्यमा पनि रुचि रहेको बताउँदै लेखनमा लाग्दा नौलो अनुभूति भइरहेको उल्लेख गरे।

कार्यक्रममा कथाकार ध्रुव मधिकर्मीले स्रष्टाद्वयको परिचय गराउँदै लेखक र पाठक बीच सिर्जनालाई लिएर गरिने संवादले दुवैलाई फाइदा पुग्ने बताए।

कार्यक्रमको दोस्राे चरण कृतिचर्चामा कवि जोशीको अनुभूतिमा महक कवितासंग्रहमाथि समीक्षक ईश्वर बुढाथोकी र नियात्राकार निरोलाको एटलान्टिकदेखि प्रशान्त महासागरससम्म नियात्रा कृतिमाथि लेखक उत्तम मल्लले समीक्षात्मक टिप्पणी गरेका थिए।

ती कृति र लेखकीय अनुभूतिमाथि डा. हिमलाल श्रेष्ठ, सुवासचन्द्र पौडेल, मञ्जु हाडा निरौला, मुरारी सिग्देल र राजेशमान केसीले विभिन्न जिज्ञासा राखेका थिए।

सो अवसरमा समाजको तर्फबाट सचिव धु्व मधिकर्मीले स्रष्टाद्वयलाई भादगाउँले टोपी पहिर्‍याएर सम्मान गरेका थिए।

कार्यक्रममा स्रष्टाहरू माथवरसिंह बस्नेत, किशोर पहाडी, हरिगोविन्द भोमी, तिलक प्रकाश, तारा बराल, विटु केसी, सुनीता निरौला, माणिकबाबु ग्वंग, सुधा शर्मा, शमशेर बहादुर न्हुच्छे प्रधान, सुलोचना सैंजू , ध्रुव जोन्छें, नवीना श्रेष्ठ लगायत विविध क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेकाे थियो।

प्रकाशित: २६ फाल्गुन २०८० ११:०४ शनिबार

अक्षर