कला

महाशिवरात्रीमा तौलेश्वरनाथ महादेव मन्दिरमा १० हजार बढीले गरे पूजा

तालेश्वर महादेव मन्दिरस्थित शिवलिंगमा पूजाआजापछि दीप प्रज्ज्वलन गर्दै। तस्बिर : नागरिक

महाशिवरात्रीका अवसरमा तौलिहवास्थित प्राचीन तौलेश्वरनाथ महादेवसहित जिल्लाका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको छ। नेपालकै ठुलो शिवलिंग दाबी गरिएको मन्दिरमा १० हजार बढी भक्तजनले पूजापाठ गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ।

छिमेकी जिल्ला, रुपन्देही, अर्घाखाँची र अन्य जिल्ला भारतबाट भक्तजन आएका थिए। शुक्रबार  रातिदेखि नै मन्दिरमा भक्तजनको भीड लागेको थियो।

मन्दिरमा आएका साधु, सन्त, भक्तजनलाई सहज दर्शका लागि मन्दिर व्यवस्थापन समितिले विशेष व्यवस्था गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकुमार गुप्ताले बताए। मन्दिरमा महिला र पुरुषका लागि छुट्टै लाइनको व्यवस्था गरिएको थियो।

पुरुषलाई पूर्वी द्वार र महिलालाई पश्चिमी द्वारबाट मन्दिरमा प्रवेश गराइएको थियो। मन्दिरदेखि मुख्य बाटोसम्म लामो लाइन लागेको थियो। पश्चिम द्वारदेखि बहादुरगञ्ज जाने चोकसम्म महिला भक्तजनको लाइन थियो। सहज ढंगबाट दर्शन तथा सुरक्षित पुजापाठका लागि मन्दिरपरिसरमा प्रहरी परिचालन गरिएको थियो।

भगवान् गौतमबुद्धको जन्म भएपछि राजधानी तिलौराकोट फर्कंदा उनका पिता राजा शुद्धोधनले यही मन्दिरमा दर्शन गराएको किंवदन्ती छ। मन्दिरमा साउन र फागुन गरी दुई महिनामा मेला लाग्ने गर्दछ।

१८७२ सालमा स्थापित तौलेश्वरनाथ महादेव मन्दिर तराईवासी हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्रसमेत बनेको छ। भक्तजनको सुरक्षालाई मध्यनजर गरी मन्दिरपरिसरमा सिसी क्यामेरासमेत जडान गरिएको समितिले जनाएको छ ।

आवास तथा भोजन, स्वयंसेवक, प्राथमिक स्वास्थ्य, मेला व्यवस्थापन, प्रचारप्रसार, बत्ती व्यवस्थापन, सुरक्षा, साधुसन्त व्यवस्थापन गरी पूजाआजाको उचित व्यवस्थापन गरिएको समितिले जनएको छ ।

यस्तै शिवराज नगरपालिका– ९  शिवगढी धानखोला र रमुवा दहमा रहेको शिवमन्दिरमा समेत भक्तजनको घुइँचो लागेको छ। जिल्लाकै सबैभन्दा उचाइमा रहेको मन्दिरमा समेत ठुलो संख्यामा भक्तजनले पूजापाठ गरेका थिए।

यस्तै शिवरात्रीका अवसरमा बाणगंगा नगरपालिकाको हथौसामा एकहप्ते मेला सुरु भएको छ। यस्तै रमुवा दह धानखोलामा समेत मेला लागेको छ।

प्रकाशित: २५ फाल्गुन २०८० १४:५९ शुक्रबार

तौलेश्वरनाथ महादेव तौलिहवा महाशिवरात्री भक्तजन मन्दिर व्यवस्थापन समिति