कला

मिडियाको रोइलो!

यस्ताे पनि!

अन्य उद्योग बन्द भयो भने मिडियामा खासै रोनाधोना हुँदैन तर जब मिडिया उद्योगमध्ये कुनै एउटा बन्द भयो भने पूरै हाई तौबा मच्चिन्छ। यो हाई तौबा सन् २०२४ को शुरूमा नै मच्चियो। द वाल स्ट्रिट जर्नल, टाइम म्यागेजिन, बिजनेस इन्साइडर, लस एञ्जलस् टाइम्स र स्पोर्ट्स इलुस्ट्रेटेडमा धेरै पत्रकारको जागिर खोसुवामा पर्यो।

द मेसेन्जर नामक मिडिया स्टार्टअप त प्रख्यातिमा नआउँदै आफू डुबेको घोषणा गर्यो। गत विहीबार भाइस न्युज नामक मिडिया कम्पनीले सयौँ जागिरेलाई बिदा दियो र अब कम्पनीले समाचार नछाप्ने सूचना जारी गर्‍यो।

उता बेलायती मिडियाको दुःख पनि कम छैन। गार्डियनको घाटा तीन करोड ९० लाख पाउन्ड पुगेपछि उसले कर्मचारी कटौती गर्न जानकारी पत्रकारहरूलाई दिएको छ। च्यानल फोरले दुई सय कर्मचारी कटौतीको घोषणा गरेको छ।

एकातिर ठूला कम्पनीहरू धमाधम बन्द हुने क्रम बढ्ने अनि स्वतन्त्र पत्रकारहरूले चलाइरहेका वेबसाइटहरूका पाठकचाहिँ बढिरहने के कारण होला?

अहिले धेरैजसो स्वतन्त्र पत्रकारहरूले आफ्नो ब्लग शैलीको न्युज मिडिया चलाइरहेका छन्। ती मज्जैले चलेका पनि छन्।

अबको मिडिया मोडल कस्तो हुने हो, त्यसबारे धेरै आकलनहरू भइरहेका छन्। वैयक्तिक न्युजलेटर, भिडियो च्यानल, पडकास्टजस्ता चिजहरूको लोकप्रियता दिनानुदिन बढ्दै जान थालेको छ। हेर्दा, कम समाचार र टिप्पणी बढी चलेको देखिन्छ।

स्वतन्त्र रूपले चलेका वा चलाइएका कम्पनीहरूले समाचार कम दिन्छन्। समाचार उत्पादन खर्चिलो छ र गाह्रो पनि। क्यानडा र अस्ट्रेलियाले सामाजिक सञ्जालमा सेयर गरिएका समाचारहरूबापत तिनले पैसा तिर्नुपर्ने नियम बनाएको छ। अमेरिकी मिडियाले भने यस्ता कुरा गर्न हिच्किचाउँछन्। बरू उनीहरूले अर्कै बाटो खोजिरहेको महसुस हुन्छ।

यावत् हल्ला, आशङ्का र उथलपुथलका बाबजुद मिडियाको भविष्य हल्ला गरिएजस्तो सकिएको भने छैन। शैलीमा भने परिवर्तन आएको छ, खासगरी अमेरिकामा।

पारम्परिक पत्रकारिता अब कस्तो हुन्छ भन्नेबारे ‘पोलिटिको’मा लेखिएको आलेखमा भनिएजस्तो हुनसक्छः यो एउटा स्क्रापबुकिङजस्तो रहरे काम हुनेछ।

ज्याक क्रस्बीले एउटा ब्लगमा लेखेजस्तो, मिडिया कम्पनीहरू आउट अफ डेट भइसके। अबका दिनमा एउटा मास्ट हेडमा उस्तै विचार र सिद्धान्तप्रति प्रतिबद्धहरूले समाचार योगदान गर्ने दिन आउने र त्यसरी नै पत्रकारिता बाँच्ने उनको दाबी छ।

कागजी अखबारको बिक्री दिनदिनै घट्दैछ। पहिले गज्जबका मिडिया भनिएका अनलाइनहरू पनि धमाधम बन्द हुँदैछन्। पछिल्लो उदाहरण बजफिड न्युज बन्न पुगेको छ। गएको अगस्तमा एउटा नयाँ मिडिया कम्पनी उदायो। ४०४ मिडिया नामक यो कम्पनीले सर्वसाधारणलाई काम लाग्ने, रूचि लाग्ने समाचारहरू पस्कियो। यति छोटो अवधिमा नै यो कम्पनी ब्रेकइभनमा आइसकेको दाबी गरिँदैछ।

साह्रै नकारात्मक हल्ला भएको बेला पनि मिडिया कम्पनी कसरी स्थापित गर्ने? यस्तो अवस्थामा पनि विज्ञापनहरू कसरी आकर्षित गर्ने? यसका लागि पहिले गरिएका गल्तीहरूको उदाहरणबाट सिक्नुपर्ने ४०४ मिडियाका सञ्चालकको भनाइ छ।

यसका संस्थापक जेसन कोब्लर र उनका तीन जना संस्थापक साथीहरू पहिले भाइस मिडियामा काम गर्थे। सन् २०१० मा यो कम्पनी अघि बढ्दै जाँदा कर्मचारीको संख्या पनि ह्वात्तै बढ्यो। तर जति कर्मचारी बढ्यो, कम्पनीको खर्च उति बढ्यो। जति खर्च बढ्यो, ऋणको मात्रा उति बढ्यो। अन्ततः कम्पनी डुब्यो।

त्यो गल्तीबाट जोगिन जेसन र उनका साथीहरूले अलग्गै सबै किसिमका आम्दानी मोडलमा काम गरिरहेका छन्।

चाहे त्यो ग्राहक बनाउने होस्, (१०० डलर प्रति वर्ष), डिजिटल विज्ञापन होस्, अनलाइनमा टिप दिनुस् भनेर भिख माग्ने काम होस् या विभिन्न व्यवसायिक वस्तु बनाएर बेच्ने काम होस्।

त्यति मात्र नभएर फिल्म तथा डकुमेन्ट्रीसमेत बनाएर राख्ने काम भइरहेको छ। यहाँ काम गर्नेहरूले घरैबाट काम गर्छन् ताकि अफिसियल खर्च जोगाउन सकियोस्।

लेखकले संसारमा भएभरका सबैजसो सामाजिक सञ्जालमा आफ्ना समाचार हाल्छन्। चाहे फेसबुक होस्, एक्स, ब्लुस्काई, थ्रेड, टिकटक, इन्स्टाग्राम रिल, युट्युब, मस्टोडन नै किन नहोस्। पाठकले इमेलमार्फत पनि समाचार पाउँछन्।

४०४ मिडियाले त्यो काम गर्छ, जुन काम अन्य ठूला भनिएका मिडियाले गर्दैनन्। तिनीहरूको न्युज रूम भर्चुअल छ, अफिसमा कामदार निकै कम देखिन्छन् तर पुग्नुपर्ने ठाउँभरि पुगिरहेकै हुन्छन्। पाठक समाचारसम्म पुग्ने पुरानो कुरा भइसक्यो, पाठकसम्म समाचार पुर्‍याउने जिम्मेवारी लिनेहरू नै अबको समयमा टिक्ने हुन्।

अनुवाद: अच्युत कोइराला

प्रकाशित: २५ फाल्गुन २०८० ०८:१३ शुक्रबार

यस्ताे पनि ! मिडियाको रोइलो!