कला

तीन जनालाई झपट पुरस्कार

झपट पुरस्कार व्यवस्था समितिले कविता, काव्य, आख्यान, नाटक, निबन्ध र प्रबन्ध सिर्जनाका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याएवापत प्राज्ञ कञ्चन पुडासैनीलाई २०८० सालको ‘झपट पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ।

यसैगरी योगशिक्षा तथा प्राकृतिक चिकित्सा क्षेत्रमा अहोरात्र समर्पित भई मानव स्वास्थ्य सेवा संवर्धनमा उल्लेखनीय योगदान दिएबापत डा. हरिप्रसाद पोखरेल ‘मानसाग्नि’ लाई २०८० सालको ‘यज्ञ केशर पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ। यी दुवै पुरस्कारका राशि जनही एक लाख रुपियाँ रहेका छन्।

यसैगरी नेपाली कथा साहित्यका अमर स्रष्टा गुरुप्रसाद मैनालीका कथाको वक्रोक्ति शीर्षकमा विद्यावारिधि अनुसन्धान  गरी नेपाली समालोचनाका क्षेत्रमा विशिष्ट योगदान दिएवापत प्रा.डा. ऋषिराम शर्मालाई २०८० सालको पचास हजार रुपैयाँ रााशिको ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ समर्पण गर्ने निर्णय गरिएको छ।

झपट पुरस्कार व्यवस्था समितिका अध्यक्ष अरुण राणाको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो। झपट पुरस्कार गुठीका संस्थापक यज्ञविक्रम राणाको शतवार्षिकीका अवसरमा आगामी चैत २४ गते झपट पुरस्कार समर्पण गरिने छ।

प्रकाशित: २४ फाल्गुन २०८० १३:२५ बिहीबार

झपट पुरस्कार प्राज्ञ कञ्चन पुडासैनी झपट पुरस्कार व्यवस्था समिति नेपाली साहित्य श्रीवृद्धि