कला

एकपछि अर्को फिल्ममा दोहोरिँदै दयाहाङ र मिरुना जोडी

अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडी एकपछि अर्को चलचित्रमा देखिन थालेको छ। गत वैशाख १ गते प्रदर्शनमा आएको चलचित्र ‘जारी’ पश्चात यो जोडीले ‘नाङ्गो गाउँ’, ‘रङ्गेली’, ‘घर ज्वाइँ’, ‘अञ्जिला’लगायतका चलचित्रमा काम गरिसकेको छ।

उनीहरु दुवैले अभिनय गरेको  ‘रङ्गेली’ आउँदो यही फागुन २५ गतेदेखि प्रदर्शन हुँदैछ। 'हाम्रो जोडीलाई दर्शक र निर्माता निर्देशकले रुचाउनुभएकै कारण चलचित्रमा अभिनयको प्रस्ताव आइरहेका छन्। सोही कारण सुहाउँदो भूमिकालाई स्वीकार गरेर चलचित्रमा काम गरिरहेका छौँ', अभिनेता दयाहाङ राईले भने।

अभिनेता राई पछिल्लो व्यस्त अभिनेतामा पर्छन्। यस वर्ष मात्र उनले दशभन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन्। सोही कारण पनि उनको चरित्र उस्तै देखिने गरेको गुनासो बढ्ने गर्छ। अभिनेता राई पनि यस विषयमा जानकार छन्। 'चलचित्र रङ्गेलीमा मेरो भूमिका अघिल्लाभन्दा फरक छ। यस चलचित्रमा नायक र खलनायक दुवै भूमिकामा मलाई देख्नसक्नुहुनेछ', उनले भने, 'सामान्य मान्छे कसरी असामान्य हुँदै जान्छ भन्ने चरित्र छ।' उनले यसमा एक आपाराधिक समूहको नेतृत्वकर्ताको भूमिका निर्वाह गरेका छन्। उनले धेरै समय पश्चात यस किसिमको भूमिका निर्वाह गरेको बताए।

'पैसा र शक्तिले एक सामान्य व्यक्तिको जीवनमा पार्ने प्रभाव र त्यसले निम्त्याउने घटनाक्रमले क्षणिक लाभ र दीर्घकालीन असरलाई मेरो पात्रले देखाउने प्रयास गरेको छ', अभिनेता राईले भने।

अभिनेत्री मगरले यस चलचित्रमा थारु समुदायकी युवतीको भूमिका निर्वाह गरेकी छिन्। 'मेरो चलचित्र यात्राकै एक सशक्त भूमिका यसमा निर्वाह गरेकी छु। किनकि यसमा मेरो भूमिका नाचगानमा मात्र सीमित छैन। चलचित्रमा नायिकको भूमिका पनि बलियो छ', अभिनेत्री मगरले भनिन्।

अर्जुन सुवेदीले लेखन तथा निर्देशन रहेको चलचित्रमा अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताललगायतले पनि अभिनय गरेका छन्। 

प्रकाशित: २२ फाल्गुन २०८० १४:४९ मंगलबार

अभिनेता दयाहाङ राई अभिनेत्री मिरुना मगर