कला

सम्पन्न भयाे श्रीमद्भागवत ज्ञान-विज्ञान महायज्ञ

साहित्य, संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम स्थापना गर्ने सिलसिलामा साहित्य संवर्द्धन केन्द्र नेपालले भव्य कलश यात्राबाट प्रारम्भ गरेको श्रीमद्भागवत महापुराण समापन भएकाे छ।

महेश सन्न्यास आश्रम देवघाटका पीठाधीश १००८ श्री रमणानन्द गिरिले उद्घाटन गरेको सो कार्यक्रमको समापन वेङ्कटेश मन्दिर बत्तीसपुतलीका स्वामी आचार्य श्री पुरूषोत्तमबाट भयो। पुराण वाचन प्रखर वक्ता आचार्य राघव उपाध्यायबाट भयो।

 नौ दिने कार्यक्रममा स्वामी पदमधराचार्य, स्वामी रामानुज र आचार्य रामकृष्ण उपाध्यायका विचार पनि प्रसारण गरिए। पुराण वाचनका अतिरिक्त गुरु नुर्बु शेर्पा, प्राडा प्रेम खत्री, प्राडा जगमान गुरूङ, प्राडा वीणा पौडेल, प्राडा माधवप्रसाद पोखरेल, प्राडा पार्थिवेश्वरप्रसाद तिमिल्सिना, प्राडा कृष्णप्रसाद दाहाल, प्रा. प्रभा भट्टराई, प्राडा रामप्रसाद ज्ञवाली, प्रा. पुण्य पराजुलीले साहित्य संस्कृति एवं पर्यटनका विषयमा सारगर्भित धारणा प्रस्तुत गरेका थिए।

यही क्रममा घुम्ती कवि गोष्ठी, कोठे कविता गोष्ठी लगायत कविता, गीत एवं भजन प्रस्तुत गरिए। श्रीमद्भागवत्लाई द्वापर युगको उन्नत साहित्य पनि मानिन्छ। वैशाख १ गते प्रभातफेरीसहित साहित्य दिवस मनाई सोही दिन १४ थान पुरस्कार प्रदान गर्ने र वर्षभरि प्रकाशित उपलब्ध भएसम्मका पुस्तकको समीक्षायुक्त वर्ष साहित्य पुस्तक प्रकाशन गर्दै आएको केन्द्रले आयोजना गरेको महापुराण सफलतापूर्वक सम्पन्न भएको छ।

साहित्य संवर्द्धन केन्द्र नेपालले करिब पचास रोपनी जमिन लिएर त्यसमा एक लाख पुस्तक अट्ने पुस्तकालय, साहित्यकार अध्ययन अनुसन्धान कक्ष, सरस्वती मन्दिर, बुद्ध प्रतिमा, ५ सय जना क्षमताको सभा कक्ष, २ सय जना क्षमताको प्रशिक्षण कक्ष, १ सय जना क्षमताको नाटक तथा नृत्य कक्ष, विभिन्न वर्गका साहित्य तथा संस्कृति झल्कने कम्तिमा १६ कक्ष, अनुसन्धाताका लागि आवासगृह, वनभोजस्थल, ध्यानस्थल, ऐना घर, पौडी पोखरी, बाल मनोरञ्जनस्थल, बौद्धिक आवास जस्ता साहित्य, संस्कृति एवं पर्यटनको सङ्गमरूपी सम्पदा जसको एकमुष्ठ नाम सङ्कल्प धाम हुने गरी निर्माण गर्ने लक्ष्य लिएको छ।

यो सम्पदामा स्वदेशी एवं विदेशी पर्यटकले मनोरञ्जन गर्दै संस्कृतिको अवलोकन गरी साहित्यको अनुभूत गर्ने वातावरण हुने कुरा महासचिव विनयकुमार शर्मा नेपालले बताए।

प्रकाशित: १८ फाल्गुन २०८० ०९:०७ शुक्रबार

अक्षर साहित्य संस्कृति र पर्यटनको सङ्गम सङ्कल्प धाम