कला

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानबाट कवि वैद्य र गुरुङलाई सम्मान

नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले इलामका कवि विमल वैद्यलाई योगेश्वर वाङमय पुरस्कार वर्ष-२०८० र भरतकुमार गुरुङलाई ग्रेगरी कलासंस्कृति पुरस्कार-२०८० सम्मान गर्ने निर्णय गरेकाे छ।

कवि विमल वैद्यलाई दिइने योगेश्वर वाङमय पुरस्कारकाे नगद राशि २५ हजार रूपैयाँ रहेकाे छ। साे पुरस्कार योगेश्वर स्मृति प्रतिष्ठानका अध्यक्ष राजेश्वर कार्कीले स्रष्टा एवं समाजसेवी पिता योगेश्वर कार्कीका नाममा स्थापना गरेका हुन्। कवि वैद्यलाई साहित्य र  समाजसेवाकाे क्षेत्रमा काम गरेबापत सम्मान गर्न लागिएकाे हाे।

कला संस्कृतिविद् प्राडा ग्रेगरी जी. मस्कारिनेकका नाममा स्थापना भएकाे ग्रेगरी कलासंस्कृति पुरस्कारकाे नगद राशि २० हजार रूपैयाँ रहेकाे छ। साहित्य, कला, सङ्गीत तथा संस्कृति क्षेत्रमा उल्लेख्य याेगदान गरेकाेमा ताप्लेजुङकै स्रष्टा भरतकुमार गुरुङलाई सम्मान गर्न लागिएकाे हाे।

नेपाली कलासाहित्य डट कम प्रतिष्ठान नेपाली भाषा, साहित्य, कला, सङ्गीत, इतिहास, दर्शन, संस्कृति आदि विविध क्षेत्रको उत्थानमा १७ वर्षदेखि काम गरिरहेको छ।

संस्थाका उपाध्यक्ष राजेश्वर कार्कीकै अध्यक्षतामा बसेको बैठकमा यस्तो निर्णय गरिएको हो। काठमाडौं बाहिरका स्रष्टालाई प्रेरणा प्रदान गर्ने उद्देश्यले स्थापना गरिएका यी दुवै पुरस्कार यही फागुन २६ गते ताप्लेजुङमा हुने विशेष सिर्जना उत्सव समारोहका बीच समर्पण गरिने प्रतिष्ठनकी अध्यक्ष, कवि तथा निबन्धकार मोमिलाले एक प्रेस विज्ञप्तिमार्फत जनाएकी छिन्।

योगेश्वर वाङमय पुरस्कार यसअघि स्रष्टाहरू डा. कृष्णराज डीसी, अमर गिरी, कृष्णभूषण बल, उषा शेरचन, वनमाली निराकार, मुकुन्द प्रयास, दिलिप शाह, कृष्णराज ओलिया, पद्मराज जोशी, पुरीचन्द्र देवकोटा, डा. मधुसूदन गिरी, डीबी टुहुरो र पुष्कराज रेग्मीलाई प्रदान गरिएको थियाे।

त्यसै गरी ग्रेगरी कलासंस्कृति पुरस्कार यसअघि शेरबहादुर अधिकारी, पूर्ण समीर महतारा, खडानन्द चौलागाई, मनोहर लामिछाने, नवीन विभास र राजेन्द्र गोपाल सिंहलाई प्रदान गरिसकिएको छ।

प्रकाशित: १३ फाल्गुन २०८० १३:०५ आइतबार

अक्षर