कला

पोखरामा नेपाल भारत साहित्य महोत्सव

पोखरामा नेपाल भारत साहित्य महोत्सवकाे पाँचौं संस्करण सम्पन्न भएकाे छ। पोखरामा आयोजित तीन दिने कार्यक्रममा पहिलो दिन कृति लोकार्पण र लघुकथा एवं काव्य वाचन सहित कार्यक्रम भएकाे छ।

क्रान्तिधरा साहित्य अकादमीले आयोजना गरेकाे उक्त तीन दिने कार्यक्रमको उद्घाटन सत्रमा हेटौडाका लघुकथाकार श्यामप्रसाद श्रेष्ठको व्यथाभित्रको कथा लघुकथासंग्रह र हेटौडाका लघुकथाकार किशन पौडेलको हिन्दीमा अनूदित लघुकथासंग्रह अन्तर्दृष्टिको  लोकार्पणकाे साथसाथै चर्चा गरिएको थियो।

गण्डकी प्रज्ञाप्रतिष्ठानका अध्यक्ष पदमराज ढकालको प्रमुख आतिथ्ययमा सञ्चालित कार्यक्रममा विशिष्ट अतिथिको रूपमा वीरगन्जका वरिष्ठ साहित्यकार गणेशप्रसाद लाठ, भारतीय दूतावासका अधिकारी सत्येन्द्र दहिया,नेपाल नाट्य तथा सङ्गीत प्रतिष्ठानको पूर्व उपकुलपति सरुभक्त श्रेष्ठ, बर्दघाट प्रज्ञाप्रतिष्ठानको उपकुलपति डा. घनश्याम परिश्रमी, भारत पटनाको वरिष्ठ लघुकथाकार विभा रानी साथै अन्य विशिष्ट व्यक्तिहरूको समेत उपस्थित रहेको थियो।

उक्त कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट विषयगत विज्ञहरूको समेत उपस्थित रहेको थियो। पहिलो दिनको कार्यक्रममा लघुकथा र कविता पनि वाचन गरिएको थियो।

लघुकथा सत्रको प्रमुख अतिथिको आतिथ्य भाषा आयोगको सदस्य माननीय डा. पुष्करराज भट्टले गरेका थिए। लाेकार्पित कृतिमाथि डा. भट्ट र भारतका वरिष्ठ साहित्यकार विभा रानी श्रीवास्तवले चर्चा  गरेका थिए।

क्रान्तिधरा साहित्य अकादमीका संस्थापक अध्यक्ष विजय पण्डितको संयोजकमा आयोजित उक्त कार्यक्रम वरिष्ठ काव्यकार डा. बलराम उपाध्याय रेग्मीको सभाध्यक्षयतामा सञ्चालन गरिएको थियो।

प्रकाशित: १३ फाल्गुन २०८० १२:४३ आइतबार

अक्षर