कला

डा.पुरण राईका पाँच विधाका पाँच कृति लोकार्पण

डा.पुरण राईका पाँच विधाका पाँच कृति एकैसाथ लोकार्पण गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले डा. राईको कथासङ्ग्रह ‘अस्तु’ कृतिको लोकार्पण गरेका हुन्।

सोही कार्यक्रममा डा. राईका कृतिहरू ‘डरका बिम्वहरू’ कोभिड डायरी, ‘वसन्त रितु’ उपन्यास, ‘लासमाथिको मानवता’ नाटक र ‘आप्रवासी नेपाली कवितामा अलङ्कारविधान’ विश्लेषणको लोकार्पण गरिएको थियो।

मन्त्री किरातीले लेखक डा. राईलाई बधाई दिंदै सबै साहित्यकार एवं लेखकलाई समाजवादको विकासका निम्ति कलम चलाउन आग्रह गरे।

“नेपाली समाजको गर्भभित्र समाजवादका भ्रूणहरू छन्। लेखकहरूले त्यसलाई उजागर गर्नुपर्छ”, उनले भने।

त्रिभुवन विश्वविद्यालयका प्राडा खगेन्द्रप्रसाद लुइँटेलले ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ काे समालोचना गर्दै आप्रवासी नेपाली कवितामा अलङ्कार विधानमा नै केन्द्रित भएर गहन अध्ययनका साथ तयार पारिएको पहिलो शोधप्रबन्ध भएकाले यसको विशेष महत्त्व भएको धारणा राखे।

प्राडा लुइँटेलले डा. राईकाे ‘आप्रवासी नेपाली कवितामा अलङ्कार विधान’ काे आफैंले साेध निर्देशन गरेकाे भन्दै यसमा पूर्वकाे अलंकार र पश्चिमका डायाेस्परालाई मजासँग समेटिएकाे बताए। उनले स्रष्टा राई निकै शिष्ट, शालीन र सक्रिय विद्यार्थीकाे रूपमा पनि आफूले चिनेकाे बताए।

कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले डा. राईले आफ्नो उपन्यासमा हामीले भोगिरहेको समाज र समाजका विभेद अन्त्य हुनुपर्ने विषयलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। डा. सुवेदीले हजारौं उपन्यास निस्के पनि पनि केही उपन्यास मात्रै पठनीय भएको र डा. राईको उपन्यास अनेक दृष्टिले पठनीय भएको बताए।

कार्यक्रममा राष्ट्रिय समाचार समिति (रासस) का महाप्रबन्धक सिद्धराज राईले लेखक डा. राईलाई शुभकामना दिंदै लेखकको बहुआयामिक व्यक्तित्व लेखनमा झल्किएको बताए।

त्यस्तै साहित्यकार देवविक्रम राईले साहित्य, संगीत र कला क्षेत्रको पुण्यभूमि खाेटाङकाे बुइपामा जन्मिएका जसरात किराँती, राजेशपायल राई, डा. शुकराज राई जस्तो अग्रजको पदचाप पछ्याउँदै लेखक राईले आफ्नो सिर्जनामा भुइँमान्छेको पक्षमा कलम चलाएको बताए।

वरिष्ठ समालाेचक डा. शुकराज राईले लोकार्पित कृतिका स्रष्टा डा. पुरण राईले हामीले टेकिरहेको धर्ती, हेरिरहेको आकाश र अनुभव गरिरहेको कुरालाई सुन्दर ढंगले सिर्जना प्रस्तुत गरेको बताए।

डा. राईले स्रष्टा डा. पुरण राईकाे सिर्जनामा मानवीय संवेदना, प्रेम-स्नेह, समाजका विकृत पक्ष, विश्वबन्धुत्वको भावना जस्ता यावत् पक्ष घनीभूत रूपमा प्रस्तुत भएको पनि उल्लेख गरे।

अनलाइन अभिलेख प्रालिले प्रकाशन गरेकाे उक्त कृतिमा प्राडा विष्णु राई, झरना सञ्चारका सम्पादक सोमनाथ दाहाल र डा. भक्त राईले समालोचना गरे।

नेपाल एयरलाइन्समा कार्यरत लेखक डा. राईले उपन्यास र नाटक आफ्नो पहिलो प्रयास भएको सुनाउँदै लेखनका सन्दर्भमा आवश्यक सुझाव र सल्लाह दिने सबैप्रति आभार प्रकट गरेका थिए।

“डरका विम्बहरू, विश्वव्यापी महामारी कोभिडले आक्रान्त बनाएका मानिसको कहानी हो”, उनले आफ्नो दैनिकी ‘डरका विम्ब’ बारे भने, “म पनि हजारौं मानिस प्रवाह हुने अन्तर्राष्ट्रिय विमानस्थलमा दिनरात खटिने कारिन्दा भएकाले यी कहानीको देखी जान्ने र सुनी जान्ने साक्षी हो।”

विष्णु सिंगकको सञ्चालनमा सम्पन्न कार्यक्रममा योगेन्द्रकुमार राईले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए। कार्यक्रममा बालसाहित्य समाजका डा. यादेवी ढकाल, रावासावा प्राज्ञिक समाजका अध्यक्ष बम बानियाँ, सचिव श्रीराम राई लगायत सयाैकाे उपस्थिति रहेको थियो।

प्रकाशित: १३ फाल्गुन २०८० ०७:१२ आइतबार

अक्षर