अध्ययन गर्न अत्यन्तै कठिन, अत्यन्तै गम्भीर कृति मान्छे हो। त्यसैले साथी बनाउन हतारिनु हुँदैन। पार्टीमा लाग्नु र छाड्नु पनि त्यस्तै हो। झन् बनिसकेका साथीसँग त मित्रता तोड्न हतारिनै हुँदैन।
सशरीर परिचित वा अपरिचितसँग संवाद हुन्छ। जीवन र जगत् कसले कसरी बुझेको छ ? कुन विषयमा परिष्कृत हुन समयले मागिरहेको छ? भनेर सिक्न र समकालीन समाज पढ्न मान्छे पढ्नु आवश्यक हुन्छ।
अझ समाज पढ्न सामाजिक सञ्जालका स्टाटस र प्रतिक्रिया सन्दर्भसामग्री बन्छन्। सबैसँग आफू ठिक भएका तर्क हुन्छन् नै। म अहिले अध्ययन सामग्रीमा समाज, साथी, सरकार र अदालतका फैसला सूक्ष्म नियालिरहेको छु।
म ‘बाउँठिएको’ मान्छे। पहिलाका साथीहरू तर्कन्छन्, न्यास्रो त लाग्छ नै।आफन्तसँग आमनेसामने भएर पनि नबोल्दा वैराग्य छाउँछ। अझ प्रेमीप्रेमिका आमनेसामने हुन् तर एकअर्कालाई नदेखेझैं गरून्, अनि उनीहरू आफैं के सोच्दा हुन्? केही मान्छे सम्बन्धहरू कपडा फेरेझैं फेर्छन्। सर्तले सम्बन्ध निर्धारण गर्ने याममा सफलताको सूत्र नै हृदयले होइन, मस्तिष्कले तय गर्छ। आफन्तसँग धेरै बेर आमनेसामने भएँ तर संवाद भने गरेनौं।
मान्छेसँग स्वत्वले अहङ्कारको रूप लिएपछि जटिलता सुरु हुन्छ। विकसित चिन्तनको स्तरअनुसार धारणा बनाएर व्यवहार गर्छ। बनिसकेको तस्बिर च्यात्न भने गाह्रै पर्छ। अपराधी, मानसिक रोगी, तानाशाह, व्यभिचारी र भ्रष्टाचारीसँग पनि आफू ठिक भएको विश्वस्त हुने तर्क र आधार हुन्छन्। नत्र गलत काम, अपराध र कुकृत्य गर्नै सक्दैनन्। विभिन्न पात्र र प्रवृत्तिसँग म संवादमा हुन्छु। त्यसका केही बान्की राखौं।
आज एकजनाले प्रेम र सत्यबारे सोध्यो। भनें– सत्य सार्वभौम हुँदैन। अझ भ्रमित सत्यले अविश्वास र आशंका जन्माउँछ। सत्य पनि फेरिँदा रहेछन्। फेरिएका सत्यसँगै आचरण र सौन्दर्यशास्त्र पनि फेरिन्छन्।
मित्र र विरोधी दुस्मन फेरिँदारहेछन्। नायक र खलनायक फेरिन्छन्। फेरिँदारहेछन् चस्मासँगै दृश्यहरू, दृश्यसँगै ओझेलिँदा रहेछन् सपनाहरू। भ्रमभन्दा ठुलो खतरा संसारमा केही हुँदैन।
जिज्ञासारहित अविश्वासले सधैं समर्पणको प्रमाणपत्र खोज्छ। प्रेममा कुनै तमसुक हुँदैन, समर्पण मात्र हुन्छ। प्रमाणपत्र देखाएर बन्ने प्रेमी र गेरुवस्त्र लगाएर बन्ने धार्मिक एकै खाले हुन्। जब प्रेम र धर्मले विश्वासको प्रमाणपत्र खोज्न थाल्छन्, तब प्रेमी र धार्मिक रहिरहँदैनन्।
प्रेमले विलीनको माग गर्छ। प्रेममा कुनै प्रमाणपत्र हुँदैन, न त्यो बजारमा खरिदबिक्री गर्ने वस्तु हो। प्रेमका तराजु हुँदैनन्। आवेग हुन्छ, समर्पण मात्र हुन्छ। प्राप्ति अपेक्षा हुँदैन। नत्र मान्छेमा बलिदानी भाव हुँदैन। मैले दर्शनप्रेमी सुकरातले विष पिएको, विज्ञानप्रेमी जियोड्रानो ब्रुनो जलाइएको पढेको छु।
धेरै देशप्रेमीका इतिहास पढेको छु। उनीहरूका हकवाला पनि देखेको छु। उनीहरूमा विधागत प्रेम हुँदैनथ्यो भने समपर्ण भाव नै जन्मिँदैनथ्यो। त्यसैले भ्रमित प्रियजनसँग औधी डराउँछु।
समय घर्कंदै जाँदा हुने सकारात्मक व्यवहारले भने भ्रम टुट्छ। मूर्खताबाट सुरु भएको रिस र भ्रमित सत्य पनि पछुतोमा गएर टुंगिने गर्छ। अर्काले के भन्यो? के गर्यो? त्यसले कुनै अर्थ राख्दैन। भ्रम उत्पादन हुने आधार त हुन्छन् तर त्यसलाई ध्वस्त गर्न तथ्यमा आधारित तर्क र जीवन व्यवहार हुनेगर्छ।
मान्छेको भ्रम जति शक्तिशाली दुस्मन अरू कोही हुँदैन। बिरालोलाई बाघ देख्छ, आफन्तलाई दुस्मन। अर्को पक्षको अवस्था, सोच, चिन्तन के छ? कुन मनोदशाबाट गुज्रिएको छ? बनाएका प्रतीक कोप्रति लक्षित छन्? भनेर सोच्ने कष्टै गर्दैन।
यथार्थको साक्षात्कार गर्न नसक्ने कविहरू धेरै भावुक हुन्छन्। भावनामा बगेर अझ भ्रमित हुन पनि सक्छन्। कतै आग्रहले अरूप्रति धारणा गलत त बनाइँदिँदैन भनेर आफ्नै विश्वासलाई पनि पुनर्मूल्याङ्कन गर्नुपर्छ।
क्रोधमा रहेका, आवेगमा आएका, मदहोस भएका, वासनामा लिप्त भएका, खुसीले अति उत्साहित भएका बेला मान्छे दिल र दिमाग छताछुल्ल पार्छन्। रिसाउन नहुने मान्छे रिसाए भने आफ्नै समस्या छ, खुसाउन नहुने मान्छे खुसाउँछ भने अवश्य गम्भीर षड्यन्त्र रचिँदै छ भनेर बुझे हुन्छ।
अझ खुसामदी व्यवहार कोही गर्छ भने गलत काम गराउन खोज्दैछ भनेर बुझे हुन्छ । स्वार्थ र सर्तमा कोही आफन्त हुनै सक्दैनन्। तितो बोल्ने मित्रहरू साँच्चिकै आफन्त हुन्छन्।
उनलाई दुःखित बनाउनु दुःख बेसाउनु हो। शत्रु कमाउन सजिलो हुन्छ, आफन्ती कमाउन औधी गाह्रो। तृष्णा र सन्तुष्टिबिचको द्वन्द्वमा हरेक व्यक्ति अल्झिरहेका हुन्छन्। रूप, मर्म र अवस्था भने एकैनास हुँदैनन्।
इच्छाको कहींकतै अन्त हुँदैन, अनन्त हुन्छ । आन्तरिक चेतबिचको विरोधाभाषी चिन्तन र अपेक्षा सहज रूपमा बुझ्न सक्ने चिन्तनशील व्यक्तिले नै जीवन र जगत्को सुखभोग गर्न सक्छन्। त्यस्ता मान्छेलाई सकभर पछ्याउने र संवाद गर्ने कोसिस गर्छु पनि।
बाधक नियाल्दा भने कहिलेकाहीं उत्पातै झोक चल्छ। तब म चिच्याउन छोडेर मौन बस्दै लेख्न थाल्छु। सम्झनाले पनि कहिलेकाहीं सम्हालिनै नसकिने गरी भक्कानो फुटाइदिन्छ।
सामाजिक चेत, अवस्था र मनोभावबाट म पनि टाढिन सक्दिनँ। सौन्दर्यबोध, विश्वासको आधारमा सुन्दरता र कुरूपता उम्रन्छन्। सुँगुरदृष्टिमा त फोहोरको डङ्गुर सुन्दर र गन्धेनाला बास्नादार लाग्न सक्छ। को, कहाँ, कसरी कुन वस्तु हेर्छ? सुन्दरता र कुरूपताका अर्थ पनि त्यस्तै लाग्छन्। शक्ति, धन र रूपको नसा अद्भुत नै हुन्छ। रक्सीजस्तै तुरुन्त उत्रिँदैन। गुमेपछि मात्र शक्ति र धनको नसा उत्रिन्छ।
व्यक्तित्वका अनुयायी भनेको विचार, भावना, भूमिका र जीवन व्यवहार पछ्याउनु हो। मान्छे मेसिन होइन। सबै सहन्छ, हेपेको सहँदैन। दुख्छ। दुःख पोखिन्छ–कहिले आक्रोशमा, कहिले आक्रमणमा, कहिले गुनासोमा र कतिपय अवस्थामा आफैंसँग झगडिएर पनि। समाजमा धेरैथरी सोच, चिन्तन, सक्रियता, मान्यता र विश्वास सक्रिय हुन्छन्। ती कतिपय तथ्यमा टेकेर तर्क उत्पादन भएर विश्वासमा फेरिन्छन्।
तिनै विश्वास अर्को सन्दर्भ र अनुसन्धानले नयाँ विश्वासका आधार बन्छन्। मान्छे परिष्कृत हुँदै नयाँ विश्वास गर्न थाल्छ। अध्ययन, अनुसन्धान, सङ्गत, अन्तरक्रिया र वादविवादले सिमेन्टेड सोच भत्काउँछ। जडसोच भत्काउने उत्तम थलो विश्वविद्यालय, पुस्तकालय, प्रयोगशाला र ज्ञानीजनका संगत हुने गर्छन्।
सबै मान्छेमा कुनै न कुनै स्तरको डिप्रेस हुन्छ। डिप्रेस बढेपछि त्यसलाई मनोरोगी भनिन्छ। रोगीले रोग लागेको पत्तै पाउँदैन। मनोरोगीलाई घृणा नभई माया, प्रेम र सम्मानको खाँचो हुन्छ। अपेक्षा र महत्त्वाकांक्षाको सबल व्यवस्थापन हुन नसक्दा उत्पन्न समस्याग्रस्त मान्छे नै मनोरोगी हुन्छन्।
दबाब र तनावलाई व्यवस्थापन गर्न सकिएन भने सोच र भूमिकामा प्रभाव पार्छ। शंकालु र भ्रमित स्वभाव देखिन्छन्। अरूबाट माया, सम्मान र सहयोगको अपेक्षा त हुन्छ तर आफ्नै शब्दवाणले अन्यलाई चोट पनि लाग्दो हो, पीडा पनि पुर्याउँदो हो भन्ने मनोरोगीले हेक्का राख्दैनन्। नकारात्मक र व्यक्ति केन्द्रित कुरा गर्नु स्वभाव नै बन्न पुग्छ।
हीनताबोध, उच्चताबोध र व्यक्ति केन्द्रित सोच मनोरोगीका लक्षण हुन्छन्। नेगेटिभ सोचका हुन्छन्। रोगको उपचार भनेकै आफन्तीको माया र विश्वास हो। चौतर्फी विरोधी देख्नु र चापलुसबाजलाई साखुल्ले सोच्नु अनि भजनमा रमाउनु स्वभाव बन्दै जान्छ। आलोचना, सुझाव र सल्लाह पचाउनै नसक्ने बन्न थाल्छन्। त्यस्ता बिरामीको संगत भने गर्नुहुँदैन, रोग सर्न सक्छ।
स्वीकार हो कि रोगले चापेर हो, डिप्रेसनले सताइएका आफन्तीले एकपटक भने– ‘समस्या ममा नै छ। खोट ममा नै छ। स्वभाव बनिसक्यो त के गरौं?’ मैले जीवनको अन्तसम्म अब यसैलाई भोग्नुपर्छ। अरूले आदर गर्दा अहंकारी बन्दो रहेछु। प्रेम गर्दा बैगुनी हुँदोरहेछु।
औलो दिँदा डुँडुलो निल्दोरहेछु। प्रशंसाको भोको चाकडीमा रमाउने पो भएछु। अरूको हैसियत, क्षमता बढेको पटक्कै देख्नै सक्तिनँ। अरूलाई हेपेपछि मनसुख हुन्छ। अरूको छिद्र खोज्न क्षमता र दक्षता खर्च गर्दो रहेछु।
अरूलाई संकेत गरिएका कुरा पनि आफैंलाई नै आक्रमण गरिएको सोच्छु। झगडिन्छु। अरू पाइएन भने नक्कली शत्रु बनाएर झगडिँदो रहेछु। अरूलाई हेप्न, दाप्न म जतिको सिपालु कोही छैन। चिनेका, जानेका र संगत गरेकालाई नै मैले हेप्ने हो। आदर्श छाँटिने हो।
अरूको हैसियत बढ्यो भने मलाई डाहा छुट्दोरहेछ। टाउको रिँगाउँछ। नचिनेका, नबुझेकाको त मैले रौं पनि हल्लाउन सक्तिन, थाहा छ। तर अरूलाई माया, प्रेम र आदर दिन म कन्जुस छु। हो, मेरो समस्या मनै हुँ।
मलाई फेरिन उपदेश दिने मूर्खजन, म फेरिनेवाला छैन। म यो लोकको सर्वज्ञ हुँ।’ चुपचाप उनको कुरा सुनें। उनले मलाई कमजोर, मूर्ख, तर्कहीन सोचे। म भने उनको रोगबाट चिन्तत भएँ।
संसारभरि विभिन्न आकारप्रकार, बास्ना, स्वादका चार लाखभन्दा बढी फूल फुल्ने बिरुवाका प्रजाति छन्। पात्रहरू पनि सबै सबैजस्तो हुन सक्दैनन्। स्वार्थ होस् या मानव केन्द्रित सोचले एकै भावमा देखिन सक्छ। तब मेरो बकपत्र बन्यो– उनीजस्तो म हुनै सकिनँ, उनी मजस्तो।
धेरैले हिँड्ने बाटाहरू नहिँडेपछि बाटो फरक भयो। फरक परे– विश्वास, मूल्य, मान्यता र सौन्दर्य। तब म भिडमा अकेला। उनलाई खुसी पार्न भिडसामु आत्मसमर्पण गर्नुपथ्र्यो। मिथकलाई इतिहास मान्नुपर्थ्याे। पत्थरमा प्राण भर्न सकिन्छ, स्विकार्नुपरथ्याे। पीतवस्त्र धारण गरेर संस्कारी बन्नुपथ्र्यो। सकिनँ। तब फेरिए आफन्तका परिभाषा।
प्रकाशित: १२ फाल्गुन २०८० ०७:४८ शनिबार