कला

थिमिमा नगरव्यापी भजन प्रतियोगिता

परम्परागत भजनलाई युवा तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुरको मध्यपुर थिमिमा पहिलो पटक मध्यपुर थिमि नगरव्यापी भजन प्रतियोगिता हुने भएको छ।

पञ्चरंग भजन समूह र कुतिंचिवा भजन खलःले संयुक्त रूपमा फागुन २५ गते शुक्रबार महाशिवरात्रीको अवसरमा नगरव्यापी भजन प्रतियोगिताको आयोजना गर्ने जनाएको हो।

आयोजकद्वारा शुक्रबार पत्रकार सम्मेलन गरी मध्यपुर थिमि नगरपालिकाको सहयोगमा हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने भजन खलःलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र दुई हजार रूपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने जानकारी दिइयो।

आयोजक समूहका अध्यक्ष कान्छाकाजी प्रजापतिले प्रतियोगितामा करिब २० वटा भजन खलःको सहभागिता हुने अनुमान गरेको बताए। उनले नगरभित्र करिब ७५ वटा भजन/खलः रहेको तथ्यांक पनि जानकारी गराए।

अध्यक्ष प्रजापतिले प्रतियोगितामा करिब चार लाख खर्च हुने अनुमान गरेकोमा दुई लाख रूपैयाँ मध्यपुर थिमि नगरपालिकाले सहयोग गर्ने आश्वासन पाएको र बाँकी दुई लाख रूपैयाँ स्थानीय तथा सामाजिक संघसंस्थाबाट आर्थिक सहयोग संकलन गर्ने योजना रहेको बताए।

प्रतियोगिता निष्पक्ष होस् भनेर थिमिबाहिरबाट चार जनाको निर्णायक मण्डल रहने भन्दै अध्यक्ष प्रजापतिले प्रतियोगितामा एउटा भजनलाई बढीमा १५ मिनेटको समय दिइनेसमेत बताए।

प्रकाशित: ५ फाल्गुन २०८० १३:३१ शनिबार

अक्षर