कला

म मरे पनि

कविता

एउटा गीत

बराबर जनमानसको

नशानशामा तरङ्गित हुन्छ

एक यो सिमानाको गीत

माटोको गीत

मुटुको गीत

देशको गीत

यो कुनै सीमापारिको गीत होइन

पराई भूमिको गीत पनि होइन

यो आफ्नै जन्मभूमिको गीत हो

म मरे पनि मेरो देश बाँचिरहोस्  

यो देशको खास राजाको गीत हो

एक राजाको मात्र गीत पनि होइन

यो हिमालको, पहाडको

तराईको गीत हो

हाम्रो श्वास र प्रश्वासको

आवाजको गीत हो

सुन्दर, शान्त, विशाल

स्वर्गभूमि र स्वर्णभूमिको गीत हो

खेतखलियान, नदीनाला

झरझर झरनाको शीतल सुसेली हो

वीर बलभद्र, अमरसिंहको

स्वाभिमानको आवाज हो

बुद्धको सम्यक शान्तिको सन्देश हो

विद्वान जनकको स्थितिबोध हो

शहीद शिरोमणि शुक्रराजको

अन्तर्रात्माको पुकार हो

महावीर राजा यलम्बरको श्वास हो

मूक आवाज हो

या कुनै देशद्रोही

दलाल, पटाहा, चोर

धेरैधेरै बथानका बथान राजाहरूको

गीत पनि होइन

आवाज पनि होइन

नेपाली साराको साझा

मुटु र प्राणको गीत हो

रगत र पसीनाको गीत हो

चन्द्रसूर्य अङ्कित झण्डाको

सरसरारत हो, फरफरारत हो

निलो आकाशको बुलन्द आवाज हो

यो हाम्रो आनवान शानको गान हो

हाम्रो सिमानाको पुकार हो

आमा नेपालको चीत्कार हो

अन्तर्मनको प्रफुल्लता हो

खबरदारी हो

साँच्चैकै भन्नु पर्दा, 

यो देश दुखेको गीत हो

म मरे पनि मेरो देश।

-मङ्गलनारायण जोशी

प्रकाशित: ३ फाल्गुन २०८० १२:१७ बिहीबार

कविता अक्षर