साँचो प्रेमले जात, धर्म र भूगोल हेर्दैन। वीरगन्जका राम पञ्जियार (चौधरी) र गोर्खाकी सुदृष्टि श्रेष्ठले यसलाई सही सावित गरेका छन्। पढाइको सिलसिलामा राजधानीमा रहेकी श्रेष्ठ र कामको सिलसिलामा राजधानी आएका पञ्जियारको प्रेमले मनलाई मात्र हैन दुई भूगोललाई पनि जोडेको छ।
लकडाउनको समयमा २०७७ सालमा प्रेम अंकुरित भएको थियो। उनीहरू त्यही वर्ष वैवाहिक बन्धनमा बाँधिए। ‘रामको सरल व्यवहारले मलाई प्रभावित बनायो, ‘सुदृष्टि भन्छिन्, ‘झन्डै एक वर्ष लामो प्रेमपछि हामी वैवाहिक बन्धनमा बाँधियौं।’
प्रेममा परेकी सुदृष्टिले विवाह गर्नु अगाडीसम्म प्रेमीको थर र जात नसोधेको बताइँन्। ‘मलाई जात र धर्मसँग केही लिनु दिनु थिएन,’ उनले भनिन् ‘बस् मलाई ऊ मन प¥यो।’
झन्डै एक वर्षको प्रेमपछि उनीहरू २०७७ मङ्सिर २४ गते वैवाहिक जीवनमा प्रवेश गरे। त्यस यता जीवनमा निकै खुसी छाएको श्रेष्ठ सुनाउँछिन्। ‘विवाहअगाडि मलाई तराईमा हेप्छन्, भेदभाव हुन्छ भनेर सुनाउने पनि थिए,’ भ्यालेन्टाइन्सडेको पूर्वसन्ध्यामा उनले विगत सम्झिन्, ‘जब म रामको घर वीरगन्ज पुगे मलाई आफ्नै घरमा बसेजस्तो महसुस भयो।’
वीरगन्जमा बस्दा आफूलाई अप्ठेरो लाग्ला भनेर सासु–ससुराले नेपाली भाषामै बोलेको उनले सुनाइन्। ‘मलाई कसरी सजिलो हुन्छ भन्ने उहाँहरूको भावना थियो,’ उनले थपिन्, ‘सुरुमा रामले जितेको मन विवाह लगत्तै परिवारका बा–आमाले पनि जिते।’
सुदृष्टिसँग विवाह गर्न पाएकोमा राम पनि निकै खुसी छिन्। उनीहरूका सुअन्श नाम गरेको दुई वर्षीय छोरा पनि छन्। ‘सुदृष्टिसँग जीवन बिताउन पाएकोमा मलाई निकै खुसी लागेको छ,’ रामले भने, ‘उनको खुसीको लागी म मिहिनेत गर्ने छु।’ यति बेला राम काम गर्छन् भने सुदृष्टि स्नातक तहमा अध्ययनरत छिन। ‘उनले जति पढे पनि म पढाउने छु,’ रामले भने, ‘उनले पढिन् भने परिवार थप बलियो हुन्छ।’
सुदृष्टिको व्यवहारले पन्जियार परिवारमा पनि खुसी छाएको छ । काम र अध्ययनको सिलसिलामा राम र सुदृष्टि राजधानीमै बस्छन्। जब राम सुदृष्टिलाई लिएर वीरगन्ज पुग्छन् तब परिवारमात्र हैन छिमेकी पनि खुसी हुन्छन्। ‘बुहारीको आगमनसँगै परिवारमा थप खुसी छाएको छ,’ रामका बुवा जयकरण पञ्जियार भन्छन्, ‘नाति टुकुटुकु हिँड्दा पहाड र तराई आँगनमै रमाए जस्तो लाग्छ।’
प्रकाशित: २ फाल्गुन २०८० ०९:४८ बुधबार