कला

न गुलाब आयो, न त मनको प्रस्ताव आयो!

मुक्तक

१) मुक्तक

न गुलाब आयो, न त मनको प्रस्ताव आयो।

मात्र समयको असजिलो एक वहाव आयो।

सोचेथे दुनियाँमा सच्चा मान्छे पनि त हुन्छन,

अफसोस हरबार यहाँ मान्छेको नकाव आयो।

२) मुक्तक

जब बुझे यो संसारको असली भेद मैले।

अनि गर्न छोडिदिए हरकुरामा खेद मैले।

रातो रङ्ग प्रिय धेरैका लागि बुझेकी छु,

तर बनाए चाहनाको पहिरन सफेद मैले।

३) मुक्तक

पत्थरकै होस बरू यहाँ यो दिल यही सोच्दछु।

नछल्कियोस् यो आँखाको डिल यही सोच्दछु।

सकिओस् बाँड्न हृदयको प्यार जगमा सबैलाई,

मानवताको होस सुन्दर महफिल यही सोच्दछु।

४) मुक्तक

यो लुछाचुँडी अनि भागदौड बिर्सिदेऊ अब।

हराएर आफू जित्नै पर्ने होड बिर्सिदेऊ अब।

रित्तै संसार छोडेर जाने त हो एक दिन सबैले,

शून्य जीवनको घटाऊ र जोड बिर्सिदेऊ अब।

५) मुक्तक

धरतीभन्दा माथि चाहना उठाएर हेर।

अबनी र अम्बरलाई सँगै जुटाएर हेर।

असम्भव त केही छैन् नेपाली हौ हामी,

पौरखी हातले कर्मको मूल फुटाएर हेर।

६) मुक्तक

यो समय  र समयसँगै उर्लिएका छालहरू।

यी मान्छे र मान्छेसँगै हुर्किएका चालहरू।

ए कोशी, तिमी कतिन्जेल बगाउछौ यसरी?

अथाह विवशताले जेलिएका हर सालहरू।

७) मुक्तक

मन्दिरसम्म पुगेर फर्किए भगवान नभेटेर।

चाकरी गरिन कहिल्यै स्वाभिमान नभेटेर।

तिमीलाई त माया गरेकी हुँ हरेक ऋतुमा,

पाइला एक्लै लम्कियो मेरो पहिचान नभेटेर।

८) मुक्तक

डुब्दै गरेको घामसँग सोध्दै छु जीवनको मूल्य।  

सधैं बदलिने यामसँग सोध्दै छु जीवनको मूल्य।  

कहाँ भेटिन्छ र खुशी अनि मायाको संसार यहाँ,

बन्द सब ति खामसँग सोध्दै छु जीवनको मूल्य।

९) मुक्तक

मूर्ति पुजेर के हुन्छ? सोध्छे मेरी  छोरी।

यो मन बुझेर के हुन्छ? सोध्छे मेरी  छोरी।

तेरो र मेरो मनमुटाव सधै देखेर होला यहाँ,

यी मान्छे जुधेर के हुन्छ? सोध्छे मेरी छोरी।

१०) मुक्तक

रित्तिएको साससँग सोध्ने मन छ खै त जीवन?

टुक्रिएको आशसँग सोध्ने मन छ खै त जीवन?

भुलिरहे सबै कुरा खुशी खुशी आज सम्म यहाँ,

प्राप्ति र प्याससँग सोध्ने मन छ खै त जीवन?

-अम्बु बिहानी

प्रकाशित: २९ माघ २०८० १२:०९ सोमबार

अक्षर मुक्तक