कला

कलाकार छान्ने मेगास्टार

काठमाडौं – अभिनयमार्फत फिल्ममा नयाँ प्रतिभालाई प्रवेश गराउन अभिनय सम्बन्धी नयाँ रियालिटी शो ‘नेपाल्स मेघा सिनेस्टार’ हुने भएको छ। ओ मेगा इन्टरटेनमेन्टले आयोजना गर्न लागेको शो अभिनयको कलाकार चयन गर्ने हालसम्मकै ठूलो कार्यक्रम हुने दाबी गरिएको छ। 

प्रतियोगिताका निर्देशक प्रवेश सम्राट बरालले फिल्मी अभिनयको अवसरबाट बञ्चित प्रतिभावान कलाकारको खोजी गर्दै उनीहरुलाई मञ्च दिलाउन प्रतियोगिता आयोजना गर्न लागिएको बताए। चैत्र २८ बाट शुरु हुने अडिसन काठमाडौसँगै चितवन, पोखरा, बुटवल, नेपालगन्ज, वीरगंज, इटहरीमा हुनेछ।

शोका निर्माण प्रमुख समील लामाले असारको पहिलो सातादेखि कुनै एक टेलिभिजन च्यानलबाट प्रसारण हुने बताए। विजेताले २० लाख नगदसहित एउटा कार, एक फिल्ममा अनुबन्धित हुने अवसर पाउनेछन्। कार्यक्रमको इभेन्ट प्रमुख मन्दिप कोईराला र अर्थ व्यवस्थापक सूर्यबहादुर थापा छन्। 

शोको निर्णायकमा निर्देशकद्वय शोभित बस्नेत र निश्चल बस्नेत तथा कोरियोग्राफर र पूर्व मिस नेपाल माल्भिका सुब्बा छन् । निर्णायक त्रयले रियालिटी शोमा आफुहरुले उचित निर्णय गरेर उत्कृष्ट प्रतिभा नेपाली फिल्म क्षेत्रमा ल्याउने प्रतिबद्धता व्यक्त गरे । फिल्म निर्देशक यादव खरेलले शोले छरिएर रहेका राम्रो प्रतिभा अभिनय क्षेत्रमा ल्याउने विश्वास व्यक्त गरे। 

प्रकाशित: २९ फाल्गुन २०७४ ०४:१२ मंगलबार