कला

‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई

मुक्तक मञ्च पोखरामा स्थापित ‘राष्ट्रिय मुक्तक पुरस्कार-२०८०’ साहित्यकार उषा शेरचनलाई अर्पण गरिएको छ। तेत्तीस हजार तीन सय ३३ रूपैयाँ राशिको सो पुरस्कार शनिबार आयोजित समारोहमा कलाकार दुर्गा बराल ‘वात्सायन’, साहित्यकार सरुभक्त लगायतले संयुक्त रूपमा शेरचनलाई हस्तान्तरण गरेका थिए।

पोखरेली साहित्यकार अल्पविरामले स्थापना गरेको उक्त पुरस्कार छैटौं पटक साहित्यकार शेरचनलाई प्रदान गरिएको हो। मुक्तक विधाको उन्नयनमा सिर्जनात्मक योगदान पुर्‍याएकामा उनलाई पुरस्कृत गरिएको मञ्चका अध्यक्ष रामजीप्रसाद आचार्यले बताए।

शेरचनका मुक्तकसहित, कविता, गीत, कथा, उपन्यास लगायतका विधामा कृति र फुटकर रचना प्रकाशित छन्।

मञ्चले यसअघि उक्त पुरस्कार साहित्यकार सरुभक्त, चेतन कार्की, तेजनाथ घिमिरे, रत्नशम्शेर थापा लगायतलाई प्रदान गरिसकेको छ। विसं २०६८ देखि हरेक दुई वर्षको अन्तरमा उक्त पुरस्कार प्रदान गर्ने गरिएको अध्यक्ष आचार्यले बताए। मुक्तकको उत्थानमा मञ्च क्रियाशील रहेकाे छ।

प्रकाशित: २८ माघ २०८० ०७:२१ आइतबार

अक्षर ‘राष्ट्रिय मुक्तक पुरस्कार’ शेरचनलाई