कला

प्रेम-दिवसमा गुलाबको चीत्कार

कविता

म प्रेमको परिभाषा

खोजिरहेछु यतिबेला,

निमोठिएर चुँडिएका  

गुलाबका थुँगाथुँगाहरूमा

र म सोधिरहेछु,

मायाका अनुभवहरू

च्यातिएका प्रत्येक गुलाबका

पत्रपत्रहरूसँग

तर,

मौन गुलाब मौनताभित्रै

सुँक्सुँकाइरहेकी हुन्छे,

ऊ निरुत्तर बन्छे आफैं,

आफ्नो हत्याको

कारण बुझ्न नसकेर।

हुन पनि त हो,

के कसैको प्रेम प्राप्ति भन्नाले

कसैको जीवन समाप्ति हो?

अनि कसैलाई प्रेम अर्पण गर्नु भनेको  

गुलाबको घाँटी रेटिनु नै हो?

अनि म आफू पनि निरुत्तर भएर

स्तब्ध हुन्छु,

तब केही मिठा भावना मभित्र

उर्लिएर आउँछन्

र मलाई कानेखुसी गर्छन्

प्रेमदिवस मात्र प्रेमीप्रेमिकाको

लेनदेनको माध्यम होइन

प्रेमदिवस त स्वच्छ मनबाट दिइने  

मिठो प्रेम हो,

आत्मीयको प्रतीक हो

जो जसलाई र जहिले पनि

निः सन्देह दिइन्छ अनि लिइन्छ

प्रेमदिवस यसैको पर्याय हो

हरपल/हरसमय

बाँडिने अन्तर्मनको मिठो

आभास हो भन्दै

अनि म ‘मेरो प्रश्नभित्र आफैं

उत्तर बनेर गुन्जिन्छु

र, ती ओइलिएर सुकेका गुलाबहरूलाई

म पटकपटक चुम्छु

अफसाेस! ती ओइलाएर सुकेका गुलाबहरू

भुइँभरि असरल्ल छरिइरहेकै हुन्छन्

म प्रेमले समेटेर ती गुलाबका

पत्रपत्रहरूलाई

मेरो पुरानो डायरीको पानाहरूभित्र

राखिदिन्छु

बल्ल ती गुलाबका पत्रहरूले

आफूहरूले पनि प्रेम प्राप्तिको  

अनुभूत गरेझैं लाग्छ

म सन्तोषको सुस्केरा लिएर

टोल्हाउन थाल्छु।

प्रकाशित: २७ माघ २०८० १३:२३ शनिबार

कविता अक्षर