कला

लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ!

मुक्तक

१) मुक्तक

विडम्बना आफू विष पिएर कपुतलाई अमृत पिलाइरहन्छौ,

अभावको भुङ्ग्रोमा पाकेर पनि सुखचयन दिलाइरहन्छौ।

हामी स्वयं भेडा नभए के हौं त? दुष्टहरूको कुकर्म बिर्सने,

बुझेर पनि नियत नेताको देश लुट्ने तारतम्य मिलाइरहन्छौ।

२) मुक्तक

पर्दा विपत सबैमा शान्तिका लागि आराधना गर्न सकिन्छ,

ढले पनि सपनाका धरोहरहरू फेरि स्थापना गर्न सकिन्छ।

विपत्ति किन नपरोस् वञ्चित हुन नपरोस् शिक्षाबाट कोही पनि,

त्यसैले कस्तै प्रकृति प्रकोपको पनि सामना गर्न सकिन्छ।

३) मुक्तक

लाग्छ मान्छेको जन्मसँगै नियतिले खेल खेलेको हुन्छ,

बाटोघाटो कतै पाउँदैनन् जसलाई समस्याले जेलेको हुन्छ।

हुन् यिनै जीवनका सार र अर्थ अनि यावत भोगाइहरू,

जीवन–जगत उसैले बुझ्छ जसले दुःख सुख झेलेको हुन्छ।

४) मुक्तक

एकपछि अर्को गर्दै समस्याहरू खाँदिएका छन्,

झुटा आश्वासनहरू जबर्जस्ती लादिएका छन्।

कहाँ उन्मुक्ति छ जीवनमा सर्वसाधारणहरूको खै,

उल्टै पीडा र दुःखहरूमा झन्झन् बाँधिएका छन्।

५) मुक्तक

हरेक निकायहरूमा भ्रस्टाचार मात्र छ सहिनसक्नु मर्म छ,

काण्डै काण्ड हुने मेरो देशमा न गतिलो नीति छ न धर्म छ।

बुझेर पनि दुष्ट–निकृष्टहरूको पछि लाग्ने कस्ता हामीहरू?

देश र जनता कप्लक्कै खाने पाखण्डीहरूलाई के सर्म छ?

६) मुक्तक

ए हजुर नछाम्दा आफैंलाई, भ्रमले छल्छ बुझ्नु भकै छ,

संघर्षको मैदानमा जुध्दा जुध्दै जीवन ढल्छ बुझ्नु भकै छ।

अहो अब तँ बुढी भइचस्! भन्नुहुन्छ हजुर मलाई भेट्दा,

हजुर जीवन प्रकृति हो प्रकृति जसरी चल्छ बुझ्नु भकै छ।

७) मुक्तक

कहाँ एकनास हुन्छर जीवनमा आँधीहुरी पनि आउँछ,

भयो राम्रो भन्दैमा भुल्छ विगत चुरीफुरी पनि आउँछ।  

समयको चक्र हो कहाँनेर लगेर ठोकिदिन्छ पत्तै हुँदैन

खेल पल्टिन सक्छ मैं हुँ भन्नेको कुरीकुरी पनि आउँछ।

८) मुक्तक

खुसी र सुख भन्दा दुःख र भयहरू अँचेटिरहे हमेसा,

इमान, निष्ठामा कसरी रहनु? डरहरूले लखेटिरहे हमेसा।

मनले दृढ अठोटका मार्ग समातिरह्यो छाम्दै आफैंलाई,

र त धैर्यमा जीवनले कयौं अनुभुतहरू समेटिरहे हमेसा।

९) मुक्तक

हामीहरू झुट लुकाउन झुटकै फुलबुट्टा भर्छौं तर लुक्दैन,

विडम्बना अति, झुट उमार्न झुटकै बिउ छर्छौं तर लुक्दैन।

हेर्नुस् त! कति कठिन काम रहेछ यो झुटको खेती गर्न पनि,

नहारी अनेकौं पुलिंदा बाँधेर हर प्रयत्न गर्छौं तर लुक्दैन।

१०) मुक्तक

तिम्रो तस्वीर आँखामा छाइसकेपछि थाहा भो,

हो ढक्ढकाउन मुटुमै आइसकेपछि थाहा भो।

बहुलाउँदै हिंड्ने बनायौ दुष्ट पापी किन यसरी, 

मायाको नमेटिने रङ्ग लाइसकेपछि थाहा भो।

प्रकाशित: २७ माघ २०८० ११:५३ शनिबार

अक्षर मुक्तक