कला

नदीझैं सलल्ल बगेको ‘नदीको राजमार्ग’

पुस्तक

लगभग २५ वर्षअघि नदीपुरमा भेटिएका दीपक समीपले यो वर्ष २०८० मा नदीको राजमार्गको उद्घाटन गरेका छन्। नदीको राजमार्गमा उनले लघुकथाका पाङ्ग्रा कुदाएका छन्। उनले नदीमा छाडेका डुङ्गाहरू या भनौं राजमार्गमा कुदाएका वाहनहरूझैं लघुकथा साना र ठूला आफ्नो भार वहन गर्दै अघि बढेको देखिन्छ।

तीन वाक्यको हैसियत लघुकथा, मझौला कदका एक पेजसम्मका केही थान, अझ सानो साइजका धेरै कथा र केही एक पेजभन्दा लामा कथाहरू गरी ६६ लघुकथा समेटिएको यस लघुकथासङ्ग्रहको प्रकाशन पेज टर्नरले गरेको छ।

चाैरासी पेजको यस सङ्ग्रह हलुका र सानो छ तथापि विषयवस्तुका हिसाबले खँदिलो छ। सङ्ग्रहको नामजस्तै यस सङ्ग्रहका धेरै कथाले पर्यावरणीय चेत बोकेको छ- नदीको राजमार्ग, इकोसिस्टम, फूल, स्वाभिमान, मोटरबाटो, विनाश, विकास, छिमेकी, अर्पण र लालसा आदि लघुकथाले।

नदी थुन्नु, नदीको बहाव हुने क्षेत्रमा घरघडेरी, बाटोघाटो बनाएर शहर बसाउने अनि नदीले घर बगायो, खेतबारी बगायो, अन्नबाली सखाप पार्‍याे, जनधनको क्षति गर्‍याे भनिरहन्छौं तथापि हामी नदीको राजमार्ग रोक्तै हुन्छौं।

स्वाभिमान कथामा उनले जीवन नदीझैं सलल्ल नबग्ने भनेका छन् तर उनका अधिकांश लघुकथा सललल बगेका छन्, हण्डरठक्कर खाँदै बग्ने नदीझैं। कथाहरू विषयको एउटा बिन्दुबाट शुरू हुन्छ। एउटा आयाममा अघि बढ्छ र विस्तारित हुन्छ। परिवेश निर्माण गर्छ र मीठो कथा सुनाउँछ। उनका केही कथा राजमार्गमा सवारी गुडेझैं रफ्तारमा कुद्दछ। ठाउँठाउँको कथा बोक्छ र सुनाउँछ।

उनका धेरै कथाले एकैखालको लय समातेको भान हुन्छ। गाउँदेखि शहर पुग्ने, शहर पुगेर कमाइ गर्ने, कमाइको आकांक्षाको सीमा नहुने, त्यो आफ्नो महत्त्वाकांक्षाले डोर्‍याउँदा डाेर्‍याउँदै कहिले सकसमा पर्ने कहिले सफलताको चुलीमा पुग्ने। ज्वलन्त प्रतिनिधित्व मन शीर्षकको कथाले गर्छ-अतृप्त चाहनाको प्रस्तुति। उस्तै गरी सम्पत्ति लघुकथाले पैसाको लोभ गर्दा गर्दै सिक्का अड्किएर छोराको मृत्यु हुने दुखान्त संयोगको प्रसङ्ग उक्काएको छ।

कतिपय कथाले सामाजिक, आर्थिक, धार्मिक र पारिस्थितिक परिवेश बोलेको छ- सोच, अवस्था, पसिना, ऋण, हस्पिटल, भविष्य, आस्था, बढुवा जस्ता कथाहरू। केही कथाले मानिसमा हुने विरोधाभासलाई उजागर गरेका छन्-उपदेश कथामा गुरू भन्छन् एक र गर्छन् ठिक उल्टो। समाज कथाले महिला हुनु र पुरूष हुनुमा सामाजिक मान्यता रहेको विभेदको उल्लेख गरेका छन्। यी कथाहरूले विभेद, भेदभाव, पक्षपात जस्ता विषय समेटेका छन्।

उनले कति कथामा वैयक्तिक कमीकमजोरी ईर्ष्या, खुट्टा तान्ने प्रवृति, रीसराग, अव्यवहारिक सल्लाह अनि अस्वस्थ प्रतिष्पर्धालाई आफ्नो कथानाकमा समेटेका छन् - ओखती, नियत, गुदी, बन्द विचार, इन्कार, अवसर, प्रतिस्पर्धा, अहम्, कविको स्वभाव, विडम्बना जस्ता कथाहरू।

केही कथाले संघर्ष, राजनैतिक चेत, सामूहिक पहल जस्ता विषय समेटेका छन् -आन्दोलन, जनआन्दोलन, क्रान्ति, युद्घको परिणाम जस्ता कथाहरू।

केही कथाले त साहित्यिक अभ्यासहरूप्रति नै सन्देह गर्ने र सो प्रयासहरू अर्थात् साहित्य सिर्जनाको तपस्याले कुनै न कुनै दिन सफलता पाउने आशा राख्न सकिने प्रसंग उल्लेख गरेको छ- अपेक्षा, कविको स्वभाव जस्ता कथाहरू।

उम्दाका कथाहरू - अन्तिम कथा ‘सन्ताप’, सालिक, देउताको मूल्य, चेत, नदीको राजमार्ग, फूल आदि हुन् जस्तो लाग्छ।

लघुकथाका मानकहरू- लघुत्तम आकार, विषय आफैमा पूर्ण, चोटिलो प्रहार, चामत्कारिक अन्त्य, जादुमयी प्रस्तुति, शब्दहरूको सीमा, एक घटना या परिघटनाको प्रस्तुति, उठान-व्याख्या-बैठानको तारतम्य जस्ता ढाँचाभन्दा बाहिर छ अधिकांश कथा।

‘परिचय’ कथा लघुकथाको रूपमा भन्दा कविताको रूपमा ठिक लाग्ने क्या! बरू एक घटे पनि ६५ लघुकथाले पनि नदीको राजमार्ग उत्तिकै फराकिलो हुन्थ्यो कि। अझै केही कथाको सन्देश के होला भनेर टाउको कन्याउनुपर्ने अवस्थाको माग गर्दछ।

यसरी नदीको राजमार्गले खासगरी लघुकथाको मार्गमा आफ्नो छुट्टै राजमार्ग तय गरेको छ। पोखरेली साहित्य आकाशमा यस लघुकथाको संग्रह उसमाथि पर्यावरणीय चेतसहितका कथाहरूले दीपक समीपको छुट्टै राजमार्ग तय गर्ने निश्चित छ। संग्रहको सफलताको असीम शुभकामना!

प्रकाशित: २५ माघ २०८० १३:१२ बिहीबार

अक्षर लघुकथा