कला

‘दयारानी’ हेर्न नेतादेखि कलाकारसम्म

फिल्म ‘दयारानी’ को पोखरामा प्रिमियर–शो गरिएको छ। मिडटाउन सिनेमाजमा गरिएको दयारानीको प्रिमियर–शो भएपनि आगामि शुक्रबारबाट फिल्म अल नेपाल रिलिज हुँदैछ । 

प्रिमियर शो हेर्न पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, गण्डकी प्रदेशका पूर्वअर्थमन्त्री किरण गुरुङ सहित पुगेका थिए। त्यस्तै कवि रमेश श्रेष्ठ, कलाकार प्रकाश घिमिरे, गायक तथा संगीतकार राजनराज शिवाकोटी, गायक विनोद बानियाँ, दयारानीका निर्देशक एवं लेखक माओत्से गुरुङ, नायिका दिया पुन लगायतका कलाकर्मी पनि उपस्थित थिए। 

प्रिमियर शो को औपचारिक उद्घाटन गर्दै मेयर धनराज आचार्यले पोखरामा पछिल्लो समय एक पछि अर्को साहित्य, कला र चलचित्र क्षेत्रका गतिविधि बढिरहेको बताए। फिल्मका लेखक माओत्से गुरुङ पोखराकै बासिन्दा हुन। दयारानी समाजको समसामायिक कथामा आधारित रहेको गुरुङले बताए। 

पूर्व अर्थमन्त्री किरण गुरुङले सिनेमा हेरिसकेपछि प्रतिक्रिया दिँदै भने,‘माओत्से गुरुङ कलाकारितासँगै निर्देशन र लेखनमा समेत अब्बल ठहरिएको फिल्मबाट पनि पुष्टि हुन्छ । निःसन्तान हुँदा घरपरिवार र समाजले हेर्ने दृष्टिकोणलाई सिनेमा मार्फत उजागर गर्न खोजिएको विषयले आफ्नो मन छोएको उनले बताए।

मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले आफ्नो गाउँपालिकाको याङ्जाकोटमा छायाँकन गरिएको दयारानी मार्फत उक्त ठाउँको पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए। दयारानीका निर्देशक तथा लेखक माओत्से गुरुङले कलाकार भएर अभिनय गुर्नभन्दा बढी निर्देशनमा गाह्रो हुने अनुभव सुनाए। 

उनले भने, ‘कलाकार भएर थुप्रै सिनेमामा अभिनय गरिएको छ। अभिनयमा त्यति अफ्ठ्यारो लाग्दैन जति निर्देशनमा अप्ठेरो छ। निर्देशन गर्दा जिम्मेबारी बढी हुन्छ।’ उनले निःसन्तान हुँदा आफ्नै साथीभाईको परिवारमा देखिएको समस्यालाई दयारानीमा समावेश गर्ने प्रयास गरेको बताए। दयारानीको कथाका लागि दयाहाङ राई र दिया पुन नै उत्कृष्ट भएकाले उनीहरुलाई मुख्य भूमिकामा प्रस्तुत गरिएको उनले बताए। 

नायिका दिया पुन पनि दयारानीबाट आशावादी देखिन्छिन्। दयारानीले आफ्नो कलाकर्म थप मजबुत बनेको उनको भनाई छ। दयारानीमा दयाहाङ राई, दिया पुन, विजय बराल, प्रमिशा गुरुङ, श्रीषा कुँवर, नयन गुरुङ, पुस्कर गुरुङ, टिकाराम घले, सुर्य सुनार, राजेन्द्र थापा, सितादेवी गुरुङ, कृष्टी गुरुङ लगायतले अभिनय गरेका छन्।

प्रकाशित: २२ माघ २०८० १४:४१ सोमबार

फिल्म ‘दयारानी’ पोखरामा प्रिमियर–शो