कला

‘पञ्चायत’ हेर्न प्रचन्डदेखि झलनाथसम्म

काठमाडौं – आगामी शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पञ्चायत’ले शुक्रबार साँझमा शीर्ष नेताको उपस्थितिमा भिआइपी प्रिमियर शो गरेको छ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्व सभामुख ओनसरी घर्ती मगर, पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाल, पूर्व सूचना तथा सञ्चारमन्त्री डा मिनेन्द्र रिजाल लगायतका राजनीतिकर्मीसँगै फिल्मकर्मीको प्रिमियरमा बाक्लो उपस्थिति थियो।

२०३१ सालमा एउटा गाउँमा भएको न्याय प्रणाली, सामाजिक व्यवस्था तथा संस्कृतिसँग जोडेर निर्माण गरिएको फिल्म हेरेपछि शीर्ष नेताले फिल्मको तथा कलाकारको प्रशंसा गरेका थिए । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका दाहालले फिल्मको कथा र नाममा अन्तरविरोध देखिए पनि कलाकारले अभिनय राम्रो रहेको टिप्पणी गरे ।  ‘फिल्मले तत्कालीन समाज र संस्कृतिको यथार्थ चित्रण गरेको पाएँ ‘कलाकारको प्रस्तुति राम्रो र प्रभावकारी छ । तर नाम, कथावस्तु र पात्रको प्रस्तुतिमा अलिकति अन्तरविरोध जस्तो देखियो,’दाहालले भने।

एमाले नेता खनालले फिल्म यथार्थ, रोचक र मार्मिक भएको उल्लेख गर्दै फिल्ममा समाजको यथार्थ प्रतिबिम्ब प्रस्तुत गरिएको बताए । पूर्व अर्थमन्त्री तथा माओवादी नेता वर्षमान पुनले पुरानो इतिहास र समाज चित्रण गरेको भन्दै नयाँ पुस्ताले त्यो बेलाको राजनीतिक र सामाजिक परिवर्तन हेर्न पाउनु ठूलो कुरा भएको जनाए।

पूर्व उर्जामन्त्री एवं माओवादी केन्द्रका अर्का नेता जनार्दन शर्माले पुरानो भएपनि नेपाली समाजले भोगेको कुरा देखाउन खोजेको भन्दै कलाकारको मेहनतको प्रशंसा गरे । नेकपा एमालेका युवा नेता योगेश भट्टराईले नेपाली समाजको ग्रामीण भेगको थुप्रै घटना फिल्ममा उद्घाटित भएको प्रतिक्रिया दिए । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजालले शक्तिशाली विषयबस्तुमा फिल्म बनेको बताए ।
प्रिमियरमा उद्योग मन्त्री मातृकाप्रसाद यादव, पुर्व सभामुख ओनसरी घर्ती मगर, माओवादी केन्द्रका नेता नारायण दाहाल, कांग्रेस नेतृ उमा रेग्मी, प्रहरी अधिकारीहरु सर्वेन्द्रनाथ खनाल, रमेश खरेल, छविलाल जोशीलगायतको उपस्थिति थियो।

कार्यक्रममा फिल्मकी नायिका नीता ढुंगाना, अभिनेता सरोज खनाल, गणेश गिरी, जाहान्वी बस्नेत फिल्मकै गेटअपमा उपस्थित भएका थिए । गणेश गिरी, सुसान्त श्रेष्ठ र शंकर सुवेदीको लगानी रहेको फिल्ममा शिवम अधिकारीको लेखन तथा निर्देशन छ । फिल्ममा रुपा राना, गीता अधिकारी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठ र रवि अधिकारीको समेत अभिनय छ । फिल्म आउँदो चैत २ बाट देशभर रिलिज हुँदैछ।

प्रकाशित: २७ फाल्गुन २०७४ ०३:०१ आइतबार