कला

विभीषिका

लघुकथा

दिनरात अन्धधुन्ध गोलाबारूदको गड्याङ्गगुडुङ र धुलोधुवाँले वातावरण स्तब्ध बनेको थियो। उनको आँखा अगाडि टोलछिमेकका घरहरू ढलेर  मान्छेहरू थोचिएका थिए। पिल्सिएका थिए।

धरापमा परेर बाँचेकाहरू खाना खानेकुरा त परै रहोस् तिर्खाले चिरा परेको घाँटीसम्म भिजाउन आएका थिएनन्। आफ्नै  घरतिर सोझिएर पड्किन लागेको बमदेखि जोगिन लुकेर बसेको बारूदको लपेटामा परेर लडेर ढलेको घरको भुइँतलामा लुकेर बसेका परिवारहरू फेरि हानिएर आएको बमद्वारा जोगिन बाहिर निस्केर भाग्न खोज्दा निस्कन भ्याएका चार जनाकाे परिवार एकैचिहान भए। बाँकी हजुरआमा र छ वर्षे नाति भित्रै छुटे।

भित्र भएको सुकेको रोटीका टुक्रा र एक सिसी पानी जतन गरेर पुर्‍याएर चपाउँदै र घाँटी भिजाउँदै  गर्दा तीन दिन बित्यो। बाहिर चहलपहल नसुनिएपछि ती बजू र नाति ताजा हावा सास फेर्न लुकेको ठाउँबाट बाहिर निस्किए।

बाहिरको स्थिति भयावह थियो। घरहरू गर्ल्यामगुर्लुम ढलेका थिए। वातावरण बारूदले जलेर कालाम्य देखिएको थियो। केही पर भरि पानीको एउटा बोत्तल देखेर नाति त्यो ल्याउँछु बन्दै दौडियो। हस्याङफस्याङ गर्दै घिसारेर भित्र छिराउँदै ‘यो पनि हामीलाई कति दिन पुग्छ हजुर आमा’ भनेर सोध्यो। अनि हस्याङफस्याङ गर्दै ‘आगो ताप्ने दाउरा पनि ल्याउँछु है’ भनेर दौडियो।

हजुरमाले ‘बाहिर डरलाग्दो अवस्था छ नजाउ’ भनेको सुन्ने फुर्सद पनि उसको भएन।

भत्किएको घरभित्र केही खानेकुरा पाउँछु कि भनेर कोप्राबाट छिर्ने दाउ खोज्दै थियो। आफ्नी सानी बैनीसहित गुडाउने मेच भेट्टायो। हेर्‍यो, बैनी आँखा चिम्लिरहेकी थिई।

‘यस्तो चिसोमा मेरी बैनीलाई कति जाडो भयो होला’ भनेर उसका हातखुट्टा त्यसैमा भएको सानो ओढ्नेले तानतुन गरेर छोपिदियो अनि दायाँबायाँ खतराहरूसँग जोगिंदै हजुरमा भएको आफ्नो घरको तल्लो खण्डमा लुकेको ठाउँमा गुडाउँदै पुगेर बैनी भेट्टाएर ल्याएकोमा खुशी हुँदै ‘हजुरमा! मैले बैनी पाएँ। एक्लै चिसो भएर सुतिरहेकी रहिछ हेर्नुस् त’ भन्यो।

नातिको कुरा सुनेर हजुरमा खुशी हुँदै ‘मेरा परिवार सुरक्षित रहेछन्’ भन्ने ठानी पल्याकपुलुक हेर्दै नातिनीलाई गुडाउने मेचबाट झिक्न खोजिन्। नातिनी लल्याकलुलुक्क मेचबाट झरिन्।

प्रकाशित: १६ माघ २०८० ०६:५६ मंगलबार

अक्षर लघुकथा