कला

डा.शेखरकुमार श्रेष्ठकाे कमिलाको जन्ती नियाल्दा

पुस्तक

२०३१ माघ २९ गते काठमाडौंको दक्षिणकाली नगरपालिका, फर्पिङमा जन्मिएका डा. शेखरकुमार श्रेष्ठले नेपाली साहित्यको कथा, कविता, समालोचनाका साथै बालसाहित्यमा पनि कलम चलाएका छन्।

उनका सगरपुर (२०६०), बोकाको खुसी (२०७९), छाता (२०७९) लघुकथासङ्ग्रह, सिद्धिचरणका खण्डकाव्यमा क्रान्तिचेत (२०६९), समालोचना पूर्णिमाको राती बालकवितासङ्ग्रह (संयुक्त २०६९), सेतो हिमाल मुन्तिर बालकवितासङ्ग्रह (२०७६), रोपाइँ (२०८०), रमाइलो पहाड (२०८०) बालकवितासङ्ग्रह, धन्यवादको पात्र (२०७५),  कमिलाको जन्ती बालकथासङ्ग्रह (२०७६) लगायत विभिन्न पत्रपत्रिकामा समालोचनात्मक लेखरचना प्रकाशित छन्।

डा. शेखरकुमार श्रेष्ठको ‘कमिलाको जन्ती’ (२०७६) नामक पुस्तक शिखा बुक्स बागबजारले बजारमा ल्याएको हो। यस कथासङ्ग्रहमा रहेका चित्र नीरबहादुर याख्खाले बनाएका हुन्। यस कथासङ्ग्हमा नै ओटा कथा सङ्गृहीत छन्। ४७ पेज पुष्ठ भएको यससङ्ग्रहमा कुनै पनि भूमिका लेखिएको छैन।

 यस सङ्ग्रहको पहिलो कथा कमिलाको जन्ती हो। यो पाँच पृष्ठको ११ ओटा अनुच्छेदमा लेखिएको छ। दोस्रो शीर्षकको कथा सडकको कुकुर रहेको छ। यो कथा छ पृष्ठको आयाममा २१ अनुच्छेद दिई लेखिएको छ।

तेस्रो शीर्षकको कथा गँगटोको सहयोग रहेको छ। यो कथा ५ पृष्ठ र ३० अनुच्छेदमा संरचित छ। चौथो शीर्षकको कथा ‘इच्छा’मा तीन पृष्ठ र  १८ ओटा अनुच्छेद छन्। पाँचौं शीर्षकको कथा ‘प्रतीक्षा’ रहेको छ। छैटौंमा ‘मिराको सहयोग’ कथा रहेको छ। यो छ पृष्ठ र ३५ अनुच्छेदमा लेखिएको छ।

त्यसै गरी साताैं पाँच रुपैयाँ शीर्षकको कथा रहेको छ। यस कथामा ५ पृष्ठ २६ अनुच्छेद रहेका छन्। यस सङ्ग्रहको आठौं कथा गायन प्रतियोगिता रहेको छ। यसमा छ पृष्ठ र २७ अनुच्छेद रहेका छन्।  यस सङ्ग्रहको नवौँ कथा हजुरआमाको कथा रहेको छ। यसमा सात पृष्ठ र ३९ अनुच्छेद रहेका छन्।

प्रस्तुत सङ्ग्रहको पहिलो कथा कमिलाको जन्ती हो। यस कथामा एक अर्काको सहायता लिनुपर्ने, एकतामा ठुलो बल हुने कुरा गर्दै सबै मिलेर बसे ठुलो शत्रु पनि परास्त गर्न सकिने कुरा व्यक्त भएको छ। सडकको कुकुरमा विदेशीले नेपाली चिन्न नसक्ने, आफनो देशको माया सधैं हुने, कुकुर मान्छेभन्दा बफादार प्राणी भएको कुरा उल्लेख छ।

गँगटोको सहयोग शीर्षक कथामा साथीको साथ सबैभन्दा ठुलो कुरा हो, अप्ठ्यारोमा साथी नै काम लाग्ने भाव व्यक्त भएको छ। इच्छा शीर्षकको कथामा साना केटाकेटीलाई गाली गरेर हैन व्यावहारिक ज्ञान दिएर सम्झाउनुपर्ने कुरा आएको छ।

त्यस्तै प्रतिज्ञा शीर्षकको कथामा साना नानीहरू चकचके र जिज्ञासु स्वभावका हुन्छन् उनीहरू नजानेर गल्ती गर्न पुग्छन् भन्दै हरेक गल्तीबाट पाठ सिक्नुपर्ने कुरा व्यक्त भएको छ।

मिराको सहयोग शीर्षकको कथामा अरूको ज्यान मारेर खुसी मिल्दैन। धर्तीका सबै प्राणीले आफनो ज्यान बचाउन प्रयास गरिरहन्छन् भन्ने भावका साथ सबै प्राणीको रक्षा गर्नुपर्ने कुरा अभिव्यक्त भएको छ।

पाँच रुपैयाँ शीर्षकको कथामा थौरै पैसाको पनि महत्व हुने कुरा गरिएको छ भने गायन प्रतियोगिता कथाले अर्काको चाकरी गरेर स्वार्थ पूरा गर्न खोज्दा परिणाम नराम्रो हुने र दुःख पाइने कुरा व्यक्त गरेको छ।

त्यसै गरी हजुरआमाको कथा शीर्षकको कथामा प्रकृतिमा भएका वस्तुको स्वरूप परिर्वतन भए पनि सबै चिज काम लाग्छन् भन्दै भोलिको चिन्ता नगरेर आजलाई हेरेर बाँच्नुपर्ने सन्देश व्यक्त भएको छ।

डा. शेखरकुमार श्रेष्ठकाे कमिलाको जन्ती शीर्षक बालकथासङ्ग्रहमा सङ्गृहीत नौओटा कथामा सरल भाषाशैलीको प्रयोग छ। यो साना बालबालिकाले सहज तरिकाले बुझ्न सक्छन्। स्थानीय स्तरका खोलानाला र परिवेशलाई जोड दिएर लेखिएको यस सङ्ग्रहका प्रत्येक कथाले सकारात्मक सन्देश प्रदान गरेको छ। 

प्रकाशित: १३ माघ २०८० ०४:११ शनिबार

अक्षर