कला

तमोर

आज पनि फनिल माझी बिहानै हंसमोरङको अनुष्का खाजा घर पुग्यो। अघिल्लो दिन नै फलामेटार छेउ तमोरमा मारेको माछा पेरुङ्गोमा हाल्यो र बाटो लाग्यो। आज त बिहीबार। हंसमोरङमा हाट लाग्ने दिन। खाना र खाजा खानेको पनि भिड लाग्छ, माछा त बिकिहाल्छ नि।

यस्तै सोच्दै ऊ खाजा घर पुग्यो, जुन ऊ र उसको काका बसेको फलामेटारबाट लगभग १० मिनेटको दुरीमा थियो। अनुष्काकी आमालाई बोलायो र माछा दियो– ‘हिजो बेलुका मारेको हो, पाँच किलो छ। आज हटियाको दिन, यति त बिक्ला।’

हाट आउनेको भिड लाग्न थालिसकेको थियो। फनिल एक छिन बस्यो। यताउति हे¥यो। अनुष्कालाई देखेन। सोध्यो र थाहा पायो, ऊ त बिहानै धनकुटाको बिहिबारे हटिया पो गइसकिछ। उसले अरू केही सोधेन। सुरु हुँदै गरेको हटियातिर पनि पसेन। बरु याक्चानामा पुल बनाउनेलाई फेरि एकपटक गाली गर्दै घर फर्कियो।

पुल बन्नुअघि फनिल याक्चानामा नाउ चलाउँथ्यो। उसका काका फलामेटारमा। फलामेटारमा त अझै पुल बनेको छैन र काका नाउ चलाइरहेका छन्। तर फनिलको त नाउ नै बन्द भो पुलले गर्दा। आउनेजाने मान्छेसँगको सम्पर्क टुट्यो। पुल नबन्दा नाउ बेगर कोही पनि नदी तर्न सक्दैनथे।

फनिललाई सबै थाहा हुन्थ्यो को कता जाँदैछ र को कताबाट आउँदैछ भनेर। नदीमा पुल हाल्ने कुरा हुँदादेखि नै सबै माझीले विरोध नगरेका होइनन् तर उनीहरूको कुरो कसैले सुनेन किनकि विरोध गर्नेमा माझी मात्र थिए। उनीहरूलाई लाग्यो– संख्या थोरै र आवाज सानो भयो भने त जायज कुराको पनि सुनुवाइ नहुनेरहेछ। पुल बन्यो। तमोर नदीमाथिको यात्रा सहज त भयो तर फनिलजस्ताको पेसा नै सकियो।

काम बन्द भएपछि फनिल पनि काकासँगै फलामेटारतिरै बस्न थाल्यो। कहिले काकालाई नाउ चलाउन सघाउँथ्यो त कहिले आफैंले बुनेको जाल बोकेर तमोरमा माछा मार्न जान्थ्यो। अलग अलग भएर काम गरेको साँझ दुवैजना सँगै बसेर दिनभरिका कथा सुनाउँथे। फनिल याक्चाना घाटमा नाउ तार्दाका पुराना कथा पनि सुनाउँथ्यो।  

याक्चानामा नाउ तार्ने क्रममा नै उसले अनुष्कालाई चिनेको होे। उनीहरूको चिनजान हुनुमा पनि संयोग छ। अनुष्का एकदिन बिहानै याक्चाना पुगेकी थिई। बिहीबारको दिन थियो। राम्ररी उज्यालो पनि भइसकेको थिएन। ऊ चाँडै धनकुटाको बिहिबारे हटिया पुगेर आफूले बोकेका बदाम, केराउ र सिमीको दाल बेच्ने र त्यसैको पैसाले घरका लागि मुर्रै, चिनी र नुन किनेर बेलुका नै घर फर्कनेगरी घरबाट हिँडेकी थिई। तर फनिल नाउ लिएर घाटमा आइसकेको थिएन।

ऊ फनिल खोज्दै उसकै घरमा गई र बोलाई। फनिललाई तयार हुन केही समय लाग्यो। ‘अहिले अलिक अँध्यारै छ। एकछिनमा जाऊँ न है। अलिक उज्यालो पनि होस्।’ उसले अनुष्कालाई केही समय पर्खन भन्यो। त्यहीं बसेका बेलामा उनीहरूले केहीबेर गफ गरे। त्यही क्रममा उनीहरूले अलिक बढी चिने एकअर्कालाई।

फनिलले भन्यो– ‘अनुष्का, तिमीलाई जुनसुकै बेला पनि म तमोर तार्दिन तयार हुन्छु। त्यस्तो पर्‍यो भने आजमात्र हैन, अरू बेला पनि भन्नू।’ अनुष्काले ल, नाइ केही भनिन। बरु सोधी– ‘छ्याङ्ङ उज्यालो नभई नाउ चलाउन सकिन्न हो? हुन त किन खतरा मोल्नु। भरे केही भै हाल्यो भने?’ ‘त्यस्तो त केही हँुदैन,’ फनिलले भन्यो– ‘माझीको जीवन पनि यो तमोरको पानी जस्तै नै हुन्छ। उज्यालो होस् कि अँध्यारो, उनीहरूलाई आफ्नो बाटो थाहा हुन्छ।’  

‘तिमीले त धेरैलाई चिनेको होला नि। कति धेरैलाई तारिदिएका छौ होला अहिलेसम्म। अनि चिनेजति सबैलाई तारिदिन सक्छौ जुनैबेला पनि?’ 

‘सबैलाई त सक्दिनँ। यो गाउँ टोलका प्रायःलाई त चिन्छु। तर तमोर तर्नेहरू यताका मात्र हँुदैनन्। त्यसैले कहिलेकाहीं आउनेलाई चिनेर साध्य पनि हुन्न।’ र थप्यो– ‘आज मैले तिमीलाई चाहिँ राम्ररी चिने जस्तो लाग्यो। बगरमा भेटिएकालाई भन्दा घरमै आएकालाई अलिक बढी चिन्न पाइन्छ नि।’ 

यस्तै कुरा गर्दै तमोर तरेका थिए उनीहरू त्यो दिन। त्यस दिनदेखि नै उनीहरू अलिक बढी बोल्न थाले। अलिक बढी खुल्न थाले। परेको बेलामा सजिलै नाउ तर्न पाइयोस् भनेर अनुष्का पनि हासेरै बोल्थी फनिलसँग।

भन्थी पनि– हाँस्दैमा र बोल्दैमा के नै पो बिग्रन्छ र? फनिल पनि अनुष्कालाई भेटेको दिन हँसिलो र फुरुङ्ग देखिन्थ्यो। माछा मारेको दिन राखिदिन्थ्यो। कहिलेकाहीं त धोएर काटिवरी ठिक्क पारेको हुन्थ्यो र भन्थ्यो– अनुष्का, यो लिएर जाऊ र सिधै पकाऊ, खुर्कने, सफा गर्ने झन्झट नै पर्दैन तिमीलाई।

यही निकटताले गर्दा उनीहरू एकदिन मुलाघाटसम्म घुम्न गएका थिए। घुम्न जाऊँ भनेर फनिलले नै भनेको थियो अनुष्कालाई। ‘म नाउ चलाइहाल्छु। तिमी पछाडि बस। हिउँदको तमोर, भेल पनि आउँदैन, पानीको डर पनि हुँदैन। उखु पनि खाउँला र साँझ नपरी फर्कौंला नि।’ फनिलको कुराले अनुष्कालाई लोभ्यायो। ऊ घुम्न जान तयार भई। यसरी उनीहरू पहिलो पटक मुलाघाट घुम्न गए। जाँदा फनिल र अनुष्का विश्रान्ति मन्दिरसम्म नाउमा गएका थिए।

नाउ चढेर तमोरको बिचबाट यात्रा गर्न पाउँदा अनुष्का रोमाञ्चित बनेकी थिई। विश्रान्ति पुगेपछि फनिलले आफ्नो नाउ त्यही मन्दिर छेउमा ढुङ्गामा अड्यायो र त्यहींबाट ऊ र अनुष्का हिँड्दै मुलाघाटको पुल पुगे। उखु र बदाम किने। 

केहीबेर लेउतीको बगर हुँदै वारिपारि डुले र फर्कने बेलामा लावरबोटेको याखा पसलमा चिया नास्ता खाए। त्यो दिन अनुष्कालाई पनि मौका जुरेको थियो। बुबा अर्खौले सुवेदीकामा पूजा लगाउन गएका थिए, दुई रात उतै बस्नेगरी। आमालाई साथीकोमा जान्छु भनेर आएकी थिई घुम्नलाई। बुबा घरमा नै भएका भए त उसले कतै हिँड्न नै पाउने थिइन।

याक्चानामा पुल नबनेको भए फनिलले आज पनि अनुष्कालाई उसकै पसलमा अथवा याक्चाना घाटमा भेट्ने थियो नाउ तार्नेक्रममा। तर जब त्यहाँ पुल बन्यो, पुलले फनिलको नाउ तार्ने पेसा मात्र विस्थापित गरेन, मान्छेसँगको भेट पनि बन्द गराइदियो। पुलले तमोरको वारि र पारिका किनारलाई त जोड्यो तर फनिलको अनुष्कासँग भेटिरहने र बोलिरहने रहरलाई तोडिदियो। पुलले त जोड्ने मात्र होइन, तोड्ने पनि पो र’छ त !

साँझ काकासँग बसेर कथा हाल्ने क्रममा नै फनिलले सुनाएको थियो, उसले अनुष्कालाई भेटेको र नाउमा राखेर एक्लै मुलाघाटसम्म घुमाएको कुरा। कुरा सुनेर काका एकछिन टोलाए। अक्क न बक्क भए। तर फनिल बोलिरह्यो। भन्यो– ‘अनुष्का मलाई देख्दा खुसी हुन्छे। म पनि ऊसँग हुँदा फुरुङ्ङ हुन्छु। हामी त एक अर्कालाई मन पो पराउँछौं त काका।’  

‘ए, कुरो त्यहाँ पो पुगिसक्यो। तँ त मन पराउलास् तर अनुष्काले तँलाई चैं के गर्छे नि? तेरो कुरो...,’ फनिलले काकालाई पूरै बोल्न पनि दिएन। उसले बिचैमा भन्यो– ‘ऊ पनि मलाई मन पराउँछे। नत्र मसँग एक्लै किन घुम्न जान्थी र मुलाघाटसम्म? अनि मैले दिएको माछा किन लान्थी र घर?’

काकाले आफू बसिरहेको पिर्का अगेनातिर ताने र आगो चलाउँदै गालीको आवाजमा सम्झाउन खोजे, ‘हेर् फनिल, ती सबै तँबाट काम लिनका लागि त्यसो गरेकी हो। तँ नाउ तार्दिन जतिबेला पनि तयार भइदिन्छस्। तेरो नाउबिना वारिपारि गर्ने बाटो नै बन्द हुन्छ। त्यही भएर तँलाई देख्दा नहाँसेर के गरोस् त। तैले मन पराउने रहर त गरिस् तर हुनेखाने र हामीजस्ता गरिबका रहर उस्तै हुँदैनन्। हामी रहरलाई नै माया भन्छौं, उनीहरू त्यसो भन्दैनन्।’

‘तर अनुष्का र मेरो कुरो मिलेको छ काका। तपाईं पुरानो पारामा सोच्नुहुन्छ। म फरक तरिकाबाट अघि बढिरहेको छु।’  

‘तँ आफ्नो दुःख आफैं बनाउँदैछस्, फनिल। तँ माझी होस्। ऊ होइन। जे सोचेको छस्, त्यो हँुदैन। हाम्रा रहरहरू यो तमोरका माछाजस्तै हुन्, ती हाम्रा मात्र हुँदैनन्। अरूले जाल हानेको दिन ती अरूको जालमा पनि पर्छन्।’  

तर फनिलले काकालाई सुन्न चाहेन। बरु केटाकेटी पारामा भन्योे– ‘जाल त हामीसँग छ, अरू कसले हान्छ र?’  

‘माझीसँगको जाल माछाका लागि मात्र काम लाग्छ, फनिल। मान्छेका लागि काम लाग्दैन। मान्छेलाई पार्ने जाल यस्तो हामीले बनाए जस्तो प्वालैप्वाल भएको, देखिने खालको हुँदैन।’  

‘जाल नदेखिए पनि, माया देखिदिए त भै’गो नि,’ फनिल पनि झर्कियो।    

‘म पनि भन्न त त्यसै भन्छु। हुनुपर्ने पनि त्यही हो तर हाम्रो मायालाई पनि कसैले देख्दैन। यहाँ त मायालाई हेर्ने आँखा पनि जातअनुसारका हुन्छन्। सुनेको छैनस् र जातसँग हारेका प्रेमीहरूले आत्महत्या गरेको?’

‘तर हाम्रो हकमा त्यस्तो हुँदैन काका। तपाईं अलिक बढी नै सोच्नुहुन्छ।’

‘तँसँग अरू विवाद त गर्दिनँ म अब तर फनिल, एउटा कुराचाहिँ याद राखेस्– जातले नहारेको ठाउँमा मायाले जितेको मैलेचाहिँ देखेको छैन। तँ दुःखको बाटो हिँडिरा’कोछस्।’  

‘काकाले त आफैंले भोगेको कुरा गरेका हुन् कि क्या हो? नत्र उनी पनि अहिलेसम्म किन एक्लै बस्थे होला र?’ उसको मनमा चिसो पस्यो। अनुष्का खाजा घरबाट फर्कंदा काकाले भनेका सबैकुरा सम्झियो। ‘अनुष्का मेरो दुःख हो कि सुख?’ आफैंलाई सोध्यो। ‘अनुष्कालाई कसैले जाल हानेको हो र?’ आफैं तिरिमिरी भयो। घर पुग्नेबित्तिकै आफैंले बुनेर थाङ्ग्रोमा झुन्ड्याएको जाल हेर्‍यो। 

त्यही जालले समाएका माछा सम्झियो। कुनै साना, कुनै ठुला। पानीमा खेलिरहेका साना माछा जालमा पर्दा पनि ऊ उतिनै खुसी हुन्थ्यो, ठुला माछा पर्दा पनि उतिनै खुसी। तर उसको मनमा खेलिरहेको अनुष्कासँगको रहर कत्रो हो ठम्याउनै सकेन। अनि त्यो रहर पूरा गर्न कस्तो जाल चाहिन्छ, अन्दाज नै भएन।  

काकाले किन त्यसो भने? उसले दोहोर्‍याएर सोच्यो। तर जति सोचे पनि उसलाई काका पुराना पाराका नै हुन् भन्ने लाग्यो। आफू नयाँ पारामा सोच्ने भएकाले काकाले भनेजस्तो नहुने ठम्यायो। तर उसको मनमा परेको चिसो भने जमेर झन् झन् चिसो हुन थाल्यो। म त नयाँ पारामा सोच्छु तर अनुष्काचाहिँ कसरी सोच्छे नि? उसका बुबासँग त्यसरी डराउने अनुष्काले आफ्नो निर्णय आफंै गर्न सक्ली र? तर नसक्ने भए मसँग फिलिम हेर्न किन जान्थी होला र फेरि?

फनिलको मन तमोरको छालजस्तै हल्लिरह्यो। सबै कुरा रिलजस्तै घुम्न थाले एकैपटक।  एकपटक उनीहरू धनकुटाको बिहिबारे हटिया पनि सँगै गएका थिए। त्यति बेला याक्चानामा पुल बनिसकेको थियो। फनिलको नाउ चलाउने काम बन्द भइसकेकाले ऊ फुर्सदिलो थियो। उनीहरू सल्लाह गरेर झिसमिसेमै याक्चाना पुलमा पुगेका थिए। किन्ताङको उकालो  

चढ्दा पनि उज्यालो भइसकेको थिएन। घाम झुल्कनु अघि नै बिहिबारे हटिया पुगे। अनुष्काले आफूले ल्याएको बयर, बदाम र सरिफा बेची। फनिलले सुकेका माछा ल्याएको थियो, त्यही बेच्यो। आफ्नो काम सकेर ठाडाबजारको चुवाबोटतिर लागे। कोलेनिका छेउमा एउटा एउटा ठन्डा बरफ किने र त्यहीं सल्लाह गरे– ‘अझै समय बाँकी छ, जाऔं फिलिम हेरौं।’

यो प्रस्ताव अनुष्काले गरेकी थिई। फिलिम कस्तो हुन्छ, कहिल्यै नदेखेको फनिलका लागि यो मौका थियो। उनीहरूले त्यो बेलाको खुबै चर्चित ‘देउता’ फिलिम हेरे। फिलिम हेरुन्जेल फनिलले हिरोइनको ठाउँमा अनुष्कालाई राख्यो र आफूलाई मन लागेको कल्पना ग¥यो। बिचबिचमा नबुझेर सोध्यो पनि– ‘यो फिलिममा देखिएका सबै चिज साच्चैका हुन्?’ अनुष्काले भनी– ‘फिलिममा देखाएको सबै त साँच्चैको हुँदैन। फिलिम त कल्पना गरेर बनाएको हुन्छ।’

उसले फेरि सोध्यो– ‘अनि यहाँ देखिएका मान्छे पनि नक्कली हुन् र?’ भनी– ‘मान्छे त साँच्चैका हुन्।’ फेरि सोध्यो– ‘अनि साँच्चैका मान्छेले कल्पना गरेको कुरा साँच्चैको हुँदैन र?’ प्रश्नमाथि प्रश्नले अनुष्कालाई झिझो लाग्यो। भनी– ‘अब नबोली फिलिम हेरौं। अनि सकिएपछि कुरा गरौंला है !’

फनिल भने आफैंभित्र हराउन थाल्यो– ‘साच्चैको मान्छेले गरेको कल्पना पनि त साँच्चैको भइहाल्छ नि। म पनि अनुष्कालाई यो हिरोनीले लगाएजस्तै साडी, यस्तै रङको ब्लाउज, गाजल र लाली किनिदिन्छु।’ र उसलाई एकखाले ढुक्क पनि लाग्यो, ‘अनुष्काले नै फिलिम हेर्न भनेपछि त मैले सोचेको र उसले चाहेको हुन्छ।’ 

फिलिम सकियो। अब उनीहरूलाई घर फर्कन नै हतार भयो। फर्कंदा बाटाभरि फिलिमका कुरा गरे। फनिलले जति बुझ्यो, त्यही भन्यो। अनुष्काले जे बुझी, त्यही भनी। फनिलले त खासै केही किनेको थिएन हटियामा तर अनुष्काले नुन, चिनी, मुर्रै, खुदो किनेकी थिई उसको पसलका लागि। नुनको झोला फनिलले बोकिदियो। अरू अनुष्का आफैंले बोकी।

अनुष्कालाई पसलमा नदेखेको त्यो दिन उसले केही काम गरेन। मनमा आएका तर्कनाले उसलाई दिनभर छोपिरह्यो। गह्रांै गरी मनभित्र बसेका यादहरू सजिलैसँग आइदिन्छन् सम्झनामा। उसलाई पनि त्यस्तै भयो। ऊ काकालाई सघाउन पनि गएन त्यो दिन। त्यसैले उसँग आजको साँझ काकासँग बसेर भन्नलाई कथा पनि थिएन।

तर ऊ र अनुष्का बिहिबारे हटिया गएको र फिलिम हेरेको कुरा आजसम्म नभनेकाले त्यही कुरा सुनाएर काकालाई एकपटक फेरि चक्मा दिने विचार ग¥यो। काकाले पनि अर्खौले गएर फर्किएका अनुष्काका बुबालाई तमोर तार्दा भएको कुरा सुनाएका थिएनन् फनिललाई। त्यो कुरा पनि भन्ने र फनिललाई एकपटक फेरि सम्झाउने विचार गरे उनले। त्यसैले आजको साँझ काकाले नै कुरा निकाले।

अनुष्काका बुबाले छोरीको विवाह १५ गते नै अर्खौलेका अधिकारीसँग गर्ने टुङ्गो गरेर फर्किएका थिए। तमोर तर्दा उनले त्यो कुरा फनिलका काकालाई सुनाउँदै भने– ‘मलाई त्यो दिनका लागि पाँच धार्नीजति माछा चाहिएको छ, ल्याइदिनू। अनि जन्तीलाई तमोर तार्नुपर्छ। अन्त कतै बोल नदिनू। यो पाँच सय राखिराख, त्यो दिनका लागि बैना भो यो। अरू पछि हिसाब गरौंला।’ काकाले यो कुरा फनिललाई सुनाइदिए। फनिलले आफ्नो कुरा भन्नै पाएन।

काकाको कुरो सुनेर अगेनाको डिलमा बसिरहेको फनिल जुरुक्क उठ्यो र फेरि थचक्क बस्यो। काकाले उसको छटपटी बुझेका थिए। सम्झाउँदै भने, ‘पूरा नहुने सपनाको भारी बोकेर बगरको बाटो हिँड्न सकिन्न फनिल। यो बगर पनि तमोरमा बाढी नआएका बेला मात्र हामीलाई हाम्रो हो जस्तो लाग्छ। तर बाढी आएको दिन त यो पनि हाम्रो हुँदैन।’

फनिलले न त यो कुरा सुन्न चाह्यो, न त बुझ्न नै।  उसले त आफ्नो मुटुको चाल मात्र सुन्यो, जुन बढिरहेको थियो। काका भने बोलिरहे– ‘हाम्रो सपना भनेको यो डेरादेखि त्यो तमोरको बगरसम्मको मात्र हो। तमोरले बाँच्ने आधार दिएको छ, डेराले बस्ने।

हामीले आफ्नै उज्यालोका लागि बालेको टुकीले पनि त कहिलेकाहिँ हाम्रै हात पोलिदिन्छ। टुकी बाल्न खोजेको थिइस्, बलेन त के भो। बिर्सिदे अब। बरु त्यो भनेको पाँच धार्नी माछा तैले नै खोजिदिनू र बिहेको दिन बिहानै पुर्‍याइदिनू।’

मन दुखे पनि र टाउको फनफनी घुमे पनि फनिलले काकाले भनेको काम गर्दिन भनेन। भनेअनुसारको माछा जम्मा पारिदियो तर पुर्‍याउन गएन। काका नै गएर छोडिदिए। जन्ती पनि आजै आउने भएकाले काकाले नाउ सफा गरे र तमोरतिर लागे।

फनिल काकालाई सघाउन गएन। ऊ त बिहानै कोठाबाट निस्कियो र माछा मार्दा प्रयोग गर्ने जाल कम्मरमा बाँधेर त्रिवेणीतिर गयो। बगरमा उभिएर बगिरहेको तमोरलाई हेर्दै टोलायो।

माछालाई जालमा पारेर बगरमा ल्याएपछि छटपटिएका माछाको चित्र उसको आँखामा नाच्न थाले। माछाप्रति दया जागेर आयो– माछालाई पनि त जालमा परेर बगरमा पुगेपछि मात्र थाहा हुन्छ होला नि, उनीहरू पानीमा बसेका थिए भनेर। यस्तै केही भन्यो। र सबैभन्दा बढी सम्झियो त्यो फिलिम हेर्न गएको क्षण, जहाँ उसले धेरै चिजको कल्पना गरेको थियो।

फिलिममा हिरोइनले लगाएजस्तै लुगा अनुष्काले लगाएको भए कस्ती देखिन्थी होला? त्यो कल्पनाले उसलाई खुब सतायो र त्यो दृश्य सम्झँदै बगरमा टुसुक्क बस्यो। पश्चिमतिरबाट हावा चल्न सुरु भइसकेको थियो। ऊ पूर्वतिर फर्कियो।

अलिकति भए पनि आफ्नै ढाडले चलिरहेको हावालाई छेक्यो। बालुवामा अनुष्काको चित्र को¥यो। अरू त जेनतेन ठिकै भयो तर त्यो चित्रको गुन्यु र चोली अनि अनुष्काको ओठ केले रातो बनाउने? कपाल र आँखा कसरी त्यस्तै कालो बनाउने?

अरू उपाय फुरेन उसलाई। बोकिरहेको जाल तमोरमा फाल्यो र एउटा माछा समायो। त्यही माछालाई ढुङ्गाले किचेर दुई टुक्रा पार्‍यो र त्यसैको रगतले अनुष्काको गुन्यु रातो बनायो। चोलीमा रातो बुट्टा भर्न रगतमा अलिकति बालुवा मुछ्यो र त्यो बालुवा छिर्केमिर्के हुने गरी चित्रको जिउमा छर्किदियो।

तमोरले बगाएर ल्याएका आधा जलेका काठका टुक्रा किनारमै भेट्यो। उसले जलेको भागतिर खुर्कियो र कालो निकाल्यो, पानीमा भिजायो अनि त्यसैलाई अनुष्काको आँखा र टाउकोमा लगाइदियो। उसले फिलिमको हिरोइनले आँखाको पलकमा पातलोे हरियो रङ लगाएको पनि देखेको थियो।

अनुष्काको आँखाको पलकलाई पनि त्यस्तै बनाइदिन उसले बयरको पात टिप्यो र ढुङ्गामा पिस्यो। त्यसबाट आएको हरियो झोलमा औंला चोबेर पलकमास्तिर लगाइदियो। अब भने उसलाई अनुष्का आफ्नै अगाडि भएजस्तो लाग्यो। यो चित्र उसका लागि फिलिममा देखेको हिरोइनभन्दा राम्रो थियो।

यति लामो बेलासम्म यो बगरमा बस्दा अनुष्कालाई तिर्खा पनि त लाग्यो होला। यस्तै सोच्यो र अँजुलीमै ल्याएर भए पनि पानी खुवाउँछु भनेर तमोरको किनारतिर गयो। जब ऊ पानी लिएर चित्र भएको ठाउँनेर पुग्यो, बालुवामा बनाएको चित्र हावाले उडाइसकेको थियो। यो देखेर ऊ खङ्रङ्ङै भयो।

अँजुलीको पानी चुहेर बालुवामा हरायो। फनिल घुँडा टेकेर घोप्टो पर्‍यो र सुकसुकाउन थाल्यो। त्यहीबेला हंसमोरङबाट नरसिङ्गा बजेको आवाज आयो। त्यो आवाज अनुष्कालाई अन्माएको बेलाको आवाज थियो।

प्रकाशित: १३ माघ २०८० ०१:४७ शनिबार

तमोर पेरुङ्गो माछा हंसमोरङ हाट फलामेटार हटिया मुलाघाट