कला

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू!

मुक्तक

१) मुक्तक

मन जलेर खरानी भएको धेरै भो,

केवल आँसु सिरानी भएको धेरै भो।

कसलाई गर्न सकिएला र विश्वास अब,

धड्कन नि बेइमानी भएको धेरै भो।

२) मुक्तक

जसले जहर पिउन सक्छ यो शहर उसैको,

जो आगोमा जिउन सक्छ यो शहर उसैको।

विश्वासघातले चोइटिएको टुक्राटुक्रा मुट,

जो पैसाले सिउन सक्छ यो शहर उसैको।

३) मुक्तक

यो देश मेरो हो कि होइन सोच्न विवश छु,

यहाँ कानुन छ कि छैन सोच्न विवश छु।

पशु अधिकारको नारा घन्काइरहेछ विश्व,

म आइमाईबाट मान्छे किन भइन सोच्न विवश छु।

४) मुक्तक

नौनी जस्तो हृदयमा पत्थर वास बस्छ अचेल,

आँसु होइन आँखाबाट अग्निज्वाला खस्छ अचेल।

लुकीछिपी पराईले घात गर्ने दिन गए,

खुल्लमखुला आफन्तले दिलमा छुरा धस्छ अचेल।

५) मुक्तक

कहिले सडक कहिले सदनमा नाटक देखाउँछन् चटकेहरू,

ढाँटको गिनिज वल्र्डमा नाम लेखाउँछन चटकेहरू।

जब हात लाग्दैन सत्ता भित्री दाउपेच र तिकडमले,

बाह्य प्रभुको पाउमा माथ टेकाउँछन् चटकेहरू।

६) मुक्तक

उमङ्ग रहेन जिन्दगीमा हाँसो रहेन,

हर्ष सुख र आरामप्रति चासो रहेन।

थकित छु पसिना लुट्नेहरूको लर्को देखेर,

र पनि कोहीसँग कुनै गुनासो  रहेन।

७) मुक्तक

यो परिवेश समय यी दिन उस्तै छन्,

उस्तै छन् तमसुक साहुका रिन उस्तै छन्।

के फरक पर्छ कर्णालीले सिटामोल नपाएर,

बालुवाटारमा राजसी खानपिन उस्तै छन्।

८) मुक्तक

प्रेमी र पागल उस्तैउस्तै लाग्छ,

आँसु र गङ्गाजल उस्तैउस्तै लाग्छ।

कदमैपिच्छे सम्झौता र सहनशीलता,

आमा र धरातल उस्तैउस्तै लाग्छ।

९) मुक्तक

बोलेर पिठो  बिकेपछि माथि पुग्यो ऊ,

कामचोर बन्न सिकेपछि माथि पुग्यो ऊ।

घाममा सुकाइदेऊ तिम्रा आदर्शका अर्ति,

जीवनबाट नैतिककता झिकेपछि माथि पुग्यो ऊ।

१०) मुक्तक

हार्दिकता सबै हरायो आधुनिक बन्ने होडमा,

उदासीपन उपहारमा आयो आधुनिक बन्ने होडमा।

गाह्रोसाङ्ग्रो सरसापट शब्दकोशमा सीमित भो,

मान्छेले मान्छेलाई नै खायो आधुनिक बन्ने होडमा।

प्रकाशित: १२ माघ २०८० ०८:११ शुक्रबार

अक्षर मुक्तक