कला

चुम्बनको चोट हो,धोएर के गर्नु!

मुक्तक

(१) मुक्तक

अँगालो मारिदेऊ छोएर के गर्नु,

चुम्बनको चोट हो धोएर के गर्नु।

हाँस, हँसाऊ जीवन छोटो नै छ,

आत्माको व्यथामा रोएर के गर्नु।

(२) मुक्तक

झन् दामी लाग्छ ओठमा लाली नहुँदा,

खल्लो हुन्छ दैनिकी किन,गाली नहुँदा।

पथप्रदर्शक हौ तिमी जीवनयात्राको,

र,अत्यास लाग्छ साथमा माली नहुँदा।

(३) मुक्तक

तिमीसँग बोल्ने लत लागेको छ,

हरेक बातचितघत लागेको छ।

ज्योतिषीले त ठ्याक्कै मिलायो,

निधारमा तिम्रो खत लागेको छ।

(४) मुक्तक

तिमी नहुँदा रात लम्बिन्छ,

थरीथरीका बात लम्बिन्छ।

भेट्न त के भेटिन्थ्यो मित्र,

तैपनि लोभी हात लम्बिन्छ।

(५) मुक्तक

तिम्रै सुन्दरतामा बेहोसी छु म,

रूपै बैमानी, कहाँ दोषी छु म।

तिम्रो खुशीमै खुशी लाग्छ,

आफ्नै पीडामा सन्तोषी छु म।

प्रकाशित: १२ माघ २०८० ०७:४२ शुक्रबार

अक्षर मुक्तक