कला

‘युद्ध जितेजस्तै भएको छ’

काठमाडौं– दुई वर्षअघि फिल्म दर्ता गर्दाताका नै विवादमा आएको फिल्म ‘गाँजाबाजा’ सबै झन्झटलाई समाधान गर्दै यतिबेला प्रदर्शनको तयारीमा छ।

दुई वर्षअघि चलचित्र विकास बोर्डमा फिल्म दर्ता भए पनि यसको नामलाई लिएर विवाद हुँदा फिल्म प्रदर्शनमा ढिलाइ भएको थियो । यो फिल्म आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ।फिल्मका निर्माता दीपेन्द्र रेग्मीले लामो समयपछि दर्शकमाझ फिल्म ल्याउन लाग्नु युद्ध जिते सरह नै रहेको बताए । ‘हाम्रा लागि अहिले युद्ध जिते जस्तै भएको छ । फिल्म बनाउने अनुमतिदेखि अदालतबाट न्याय पाउँदासम्मको दिन हाम्रा लागि कष्टकर रहे,’ दीपेन्द्रले भने, ‘चलचित्र विकास बोर्डमा एक व्यक्तिको अडानले दुई वर्ष निकै दुःख व्यहोर्नु पर्‍यो ।

अहिले दर्शकमाझ आउन लाग्दा राहत महसुस भएको छ ।’दीपेन्द्रका अनुसार फिल्म दर्ता गराउन विकास बोर्ड जाँदा त्यहाँको प्रशासनले उनीहरूलाई भोलि आउनु भनि फर्काएको थियो । ‘हामीले विकास बोर्डको निर्देशन अनुसार राजश्व पनि तिरेका थियौं । तीन÷चार दिनपछि हामी बोर्ड पुग्दा माथिको आदेश भन्दै फिल्मको काम रोकियो,’ उनले भने, ‘फिल्मका निर्देशक गणेशदेव पाण्डे गएर बोर्डका तत्कालीन अध्यक्ष राजकुमार राईसँग कुरा गर्नुभयो । तर अध्यक्षले निर्देशक पाण्डेको बोल्ने र बस्ने व्यवहारमा आपत्ति जनाउनुभएछ।’

दीपेन्द्रले आफूले बोर्डका अध्यक्षलाई भेट्न जाँदा अध्यक्षले निर्देशक पाण्डेको बोली र बस्ने शैलीको विरोध जनाएको बताए । ‘अध्यक्ष राईले निर्देशक पाण्डेले आफ्नो अगाडि खुट्टा खप्ट्याएर ठूलो–ठूलो कुरा गरेको बताउनुभयो,’ दीपेन्द्रले सम्झिए, ‘फिल्मको नामले लागूऔषध प्रबद्र्धनमा सहयोग पुर्‍याउँछ भन्ने आरोप पनि हामीमाथि लगाइयो । बोर्डबाट फिल्म निर्माणमा अवरोध भएपछि हामी कानुनी बाटो खोज्नका लागि अदालत पुग्यौं । फिल्मको नाममा मदिराजन्य केही पनि विषय राखिएको थिएन । बोर्डको आपत्ति गाँजा शब्दमा थियो । नाम गाँजा भए पनि फिल्मको कथा गाँजा प्रबद्र्धन गर्ने थिएन।’

निर्देशक गणेशदेव पाण्डे निर्देशित फिल्मले तीन महिनाअघि मात्र फिल्म प्रदर्शनको अनुमति पाएको हो । ‘अदालतले बोर्डका अध्यक्ष राई र बोर्डका नाममा फिल्म रोक्नुपर्ने कारण माग गर्दै अन्तरिम आदेश जारी गरेको थियो,’ उनले भने, ‘राजकुमार राईको कार्यकाल सकिएपछि बोर्डको नेतृत्वमा आउनुभएका रामचन्द्र ढकालले सहजीकरण गरेपछि फिल्म प्रदर्शनको लागि माहोल बन्यो।’

दीपेन्द्रले दुई वर्षको समयावधि सँगै फिल्म समूहका लागि निकै ‘यातनापूर्ण’ रहेको खुलाए । ‘हाम्रा लागि दुई वर्षको अवधि निकै यातनापूर्ण रह्यो । यातना यस अर्थमा कि हाम्रो लगानी अब के होला भन्ने ठूलो पीडा थियो । दुई वर्ष हाम्रो लगानी त्यसै फ्रिज भयो,’ उनले भने, ‘अरु क्षेत्रमा लगानी गर्दा बरु यति धेरै यातना पाइँदैन थियो होला । दुई वर्षमा हामीले व्यहोरेको जस्तो आर्थिक क्षति सायद कमैले मात्र व्यहोर्छन्।’फिल्म रिलिज अघि सेन्सर अनिवार्य छ । उनले फिल्मको सेन्सरमा झनझट नब्यहोर्ने आशा व्यक्त गरे । ‘फिल्ममा हामीले आपत्तिजनक दृश्य केही राखेका छैनौं । फिल्मको दृश्यमा भन्दा पनि संवादमा चाहीँ पक्कै सेन्सर होला,’ दीपेन्द्रले दाबी गरे, ‘तर दृश्य सबै सरल किसिमका छन् । दृश्यकै कारण दर्शक लजाउनुपर्ने अवस्था छैन ।’

फिल्ममा दीपेन्द्रसँगै गोमा विष्टको पनि लगानी छ । फिल्ममा अनुपम शर्मा, सुशिल सिटौला, रविन थापा, उद्धव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बालगायतका कलाकारको अभिनय छ ।
 

प्रकाशित: २२ फाल्गुन २०७४ ०६:१६ मंगलबार

युद्ध जितेजस्तै भएको