कला

मञ्चनमा ‘समय पीडा’

नाटक ‘समय पीडा’ को मञ्चन भएको छ। सुन्दर धितालको परिकल्पना तथा निर्देशनमा नाटक रातोपुलस्थित ओजस थिएटर एण्ड फिल्म स्टुडियोमा मञ्चन भएको हो।

कलाशी प्रोडक्शन हाउस प्रालिको प्रस्तुतिमा रहेको नाटक साहित्यकार पद्यावती सिंहको कथा ‘समय पीडा’ को नाट्य रूपान्तरण रहेको निर्देशक सुन्दर धितालले बताए।

नाटकमा रोजगारीका लागि नेपालबाट विदेशिएका नेपालीहरू नफर्केपछि एक्लिएका बाआमाको पीडालाई नाटकमा समावेश गरिएको सुन्दर धितालले बताए। समय जति बित्यो उमेर बढ्दै जान्छ। उमेरसँगै आफ्नो सन्तती पनि घट्ने रहेछन्। यो साँच्चै समाजको मात्र होइन सिंगाे देशमा समयको पीडा हो भन्ने सन्देश नाटकमा रहेको छ।

नाटक विद्यालय बुकिङ शोका रूपमा अगाडि बढाउने तयारी रहेको सगुन पोख्रेलले बताए। उनले विद्यालयहरूको बुकिङअनुसार नाटकका विभिन्न शो प्रस्तुत गरिने बताए।

पाठ्यक्रममा आधारित कथावस्तुमा समावेश नाटक भएकाले यसलाई विद्यार्थीकेन्द्रित गरिएको पोख्रेलले बताए।

नाटकमा विशाल देवकोटा (रामनाथ), संगीता थापा (आनन्दी), अर्जुन दुलाल (जेठो छोरो), अन्जसा रिजाल (बुहारी), उन्नत उप्रेती (कान्छो छोरो), सगुन पोखरेल (छोरी), रोहित श्रेष्ठ (जुवाइँ), पूर्ण गन्धर्व (साथी), नवीन प्याकुरेल (सेवक), कपिलदिप काफ्ले (पसले) र विपिन जैसवाल डाक्टर पात्रको भूमिकामा रहेका छन्। कथा ९ कक्षाको अनिवार्य नेपालीमा समावेश रहेको ‘समय पीडा’ को रूपान्तरण रूप हो।

प्रकाशित: ११ माघ २०८० ०८:०३ बिहीबार

अक्षर ओजस थिएटर एण्ड फिल्म स्टुडियो