कला

गजुरेलको ट्रम्प अवतार समाचारमा

काठमाडौं– राजधानीको नेपाल प्रज्ञा प्रतिष्ठानमा यो वर्ष भएको कमेडियनको गाइजात्रामा आफूलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको रुपमा प्रस्तुत गरेका हास्य कलाकार मनोज गजुरेल निकै चर्चित बने । अमेरिकाको राष्ट्रपतिको निर्वाचनमा विजय भएपछि चर्चित बनेका डोनाल्डको लुक्समा देखिँदा मनोजको कामको सबैले तारिफ पनि गरेका थिए।

यिनै मनोज अमेरिकी वेबसाइट सिबिएसन्युजले डोनाल्ड ट्रम्पको नक्कल गर्ने विश्वका १८ कलाकारको सूचीमा परेका छन् । कलाकार मनोजले यो विषय आफ्ना लागि मात्र नभई तेस्रो विश्वका देशका लागि खुशीको कुरा भएको बताए । ‘यो मेरो लागि मात्र होइन । नेपाली हास्यव्यंग्यलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याउने कलाकारका लागि पनि खुशीको कुरा हो । नेपालमा गरेको प्रहसनले विश्वमा नै चर्चा आउनु आफैमा गर्वको कुरा हो,’उनले भने,‘मैले अमेरिकाको भर्जिनियामा बस्दै आएका स्थानीय राजनीतिकर्मी ह्यारी भण्डारीले सिबिएसन्युजले विश्वभरी डोनाल्ड ट्रम्पको क्यारिकेचर गर्ने सूचीमा दक्षिण एसियाबाट तपाईको नाम समावेश गरेको छ भनेर खबर पठाउँदा खुशीको सीमा नै रहेन।

सूचीमा  एलेक बालविन, एन्थोनी एटामानुइक, रोबर्ट इन्सलर, मार्सेल फरेस्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलान, माइक आस्मान, दारिओ बालान्टिनी, जोन डि डोमेनिको, इरिक ज्याकम्यान, टोड वेर्टलिक, डान कोननिल्ली, अज्ञात ट्रम्प, रोनाल्ड ग्रम्प, आरजे मोरिस र राफेल अल्मोडोभार छन् । केही समयअघि मात्र पत्नीसँग पारपाचुके लिएका कारण चर्चामा रहेका गजुरेल हाल हास्य व्यंग्य कार्यक्रम लिएर देश दौडाहामा छन् ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ०२:३० सोमबार

गजुरेलको ट्रम्प अवतार समाचारमा