कला

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो

काठमाडौं – चर्चित नायक निखिल उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुन आग्रह गरेका छन्। 

‘गौतम बुद्ध नेपालमा जन्मेका हुन’ भन्ने सन्देश दिन शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित ७५ हजार मानिसको उपस्थितिमा धम्मपद (बुद्ध वचन) वाचन कार्यक्रमको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा उप्रेतीले राष्ट्रियताको लागि एकजुट हुने बेला आएको बताए।

‘गौतम बुद्ध नेपालमा जन्मिएका हुन भनेर भन्दा हामीलाई किन अफ्ठ्यारो हुन्छ?  हामीसँग थोरै पनि अनुशासन र करुणा छ भने त्यो बुद्धको भावना हो, नेपालमा फुलेको बुद्धको फूलले विश्वमा बासना फैलाइरहेको छ, कसैकसैले बुद्धको नाममा भम्र फैलाउने काम गरेको देख्दा अच्चम लाग्छ’, उनले भने।

अब नेपालीहरु बुद्धको नाममा एक ठाउँमा आउनुपर्नेमा जोड दिँदै निखिलले भने- ‘हाम्रो देशमा कुनै राजनीतिक दल ठूलो हुँदैगर्दा मुकुक खुम्चिएको जस्तो महसुस हुन्छ, हामीले यो कार्य चर्चाका लागि गरिएको होइन, यो आजको आवश्यकता हो। बुद्धले दरबार छोडेर जीवनभर शान्ति, सद्भावका लागि हिडे। आजको दिनमा पनि दरबारको लागि कोही भौतारिरहेका छन्, भौतिकवादीको सत्यता सबैलाई थाहा छ। राष्ट्रियताको लागि सबै एक ठाउँमा आउनुपर्ने स्थिति छ। अरु कुनै पक्षले नेपालीहरुलाई एक स्थानमा ल्याउने देख्दिन, अब हामीले बुद्धको नाममा एक ठाउँमा आउनुपर्छ।’

साक्षात्कारमा एमाले नेता आनन्द पोखरेल, सद्भावना दुत डा.भोला रिजाल, बौद्धगूरु साईफल तेन्जिङ रिम्पोछेले बुद्ध नेपालमा जन्मेका हुन भनेर फेरी एकपटक संसारलाई सुनाउनको लागि आयोजित कार्यक्रम सफलताको शुभकामना दिए। 

फागनु १९ गते राजधानीको टुडिखेलमा ७५ हजार मानिस जम्मा भएर एउटै स्वरमा ‘बुद्ध नेपालमा जन्मिएका हुन’ भन्ने वचन वाचन गरेर गौतम बुद्ध नेपालमा जन्मेका हुने भन्ने तथ्य संसार सामु चिनाउन विश्व किर्तिमानी परिषद नेपालले कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रममा उपस्थित हुने सबैलाई गिनिज बुक वल्र्ड रेकर्डको प्रमाणपत्र प्रदान गरिने आयोजक जनाएको छ।

प्रकाशित: १८ फाल्गुन २०७४ ०९:५० शुक्रबार

निखिलले भने- राष्ट्रियताको लागि एकजुट हुने बेला आयो