कला

लुसुक्क नगद उपहार दिनुस् राष्ट्रिय सभाको इनाम छ!

मुक्तक

१) मुक्तक

प्रत्येकपल्ट यहाँले हार्नुभो यहाँको हार्नेमा नाम छ,

कस्ले आरोप लगायो सुपरिचित नामै बदनाम छ।

जमानत जफत भो त के भो अकुत सम्पत्ति छँदै छ,

लुसुक्क नगद उपहार दिनुस् राष्ट्रिय सभाको इनाम छ!

२) मुक्तक

चसक्क उमेरलाई नसुहाउने उमेरको प्रसंग चल्दा पनि,

कोही किन मातिन खोज्छन् सपनीमा सधैं छल्दा पनि।

ए मात! भो मलाई मातिन नसघा धेरै भो पुग्यो अब,

अवश्य बचेको प्रेम जोगाइराखुँला चितामा जल्दा पनि!

३) मुक्तक

रिसको आगो म हुँदै होइन तर पारो चढ्दो छ,

देश रित्तिंदै छ तर निषेधित क्षेत्र भने बढ्दो छ।

बाजे सुनाउँथे सतीले सरापेको देशमा जन्मिस्,

निरोगी तर खोक्ने नेताप्रतिको दूरी घट्दो छ!

४) मुक्तक

आम जनताको समस्यालाई नेतृत्वले बोके पो राजनीति,

नबल्ने मूढालाई समयमै ठ्वाक्क-ठ्वाक्क ठोसे पो राजनीति।

किन नेतृत्वमा पुगेपछि अन्धो हुने रोग सल्किन्छ होला प्रभु,

सत्ताधारीलाई काँडाले च्वास्सच्वास्स घोचे पो राजनीति।

५) मुक्तक

नेताले झैं केवल आश्वासन मात्र दिलाउँछ काठमाडौं,

साँझ गर्दै गर्दा मात्तिन खे केके पिलाउँछ काठमाडौं।

अभाव र अव्यवस्थाले थिलथिलो भएरै हो कि त प्रभु,

रात पार्न हतार गर्छ र निर्धक्क निदाउँछ काठमाडौं।

६) मुक्तक

धर्मरधर्मर धर्मराएर लड्दै गर्दा नढल्न वलिष्ट हात दियौ,

लक्ष्यहीन भावसँग खेल्दै थिए साहित्यकारको जात दियौ।

सिर्जनाको ड्याङ पार्न कलम र कापी थम्यायौ र हौंसिएँ,

सहर्ष स्वीकार गरें प्रेरणा र प्रोत्साहनको अमूल्य खात दियौ।

७) मुक्तक

उस्को मन, वचन र शब्दहरू अत्यधिक तिखालु रैछ,

विश्वासमा परेर भएभरको कुरा खन्याएँ इषालु रैछ।

स्वार्थ पूरा नहुन्जेल नानाभाँति अपुरा सपना बाँड्यो,

सम्बन्धको नाटक खेल्यो व्यवहारले डस्यो विषालु रैछ।

८) मुक्तक

शहरमा आजकल अचाक्ली नक्कली चुरा बिक्छ,

अदृश्य रूपमा प्रहार गर्ने व्यक्ति कै छुरा बिक्छ।

भाषण सस्तो बजारभाउ महँगोमा तैं चुप मैं चुप,

आश्चर्य त यहाँ सरकारको काम होइन कुरा बिक्छ।

९) मुक्तक

खेतमा झुलेका धानको बालाले भन्यो छिटो खन खलो,

धान भित्राएपछि बाँझो बस्दिनँ जोत्न बनाइहाल हलो।

भेटिए जति सबै मन्त्री र मन्त्रालय पसेको अवस्थामा,

कृषकको मागको सम्बोधन कस्ले गर्ला र होला भलो।

१०) मुक्तक

टाढिन खोज्दै थिएँ आफै मिल्न खोज्यौं,

प्रेमको नाममा कसरी हो खिल्न खोज्यौ।

माया गर्छु भन्दै काखमा राख्यौ र बसे,

अनि सर्पले भ्यागुतालाई झै निल्न खोज्यौ।

प्रकाशित: ७ माघ २०८० ०६:०९ आइतबार

अक्षर