कला

पूर्णानन्द

लघुकथा

सावित्री- हैन हो देवी मन भाँडिएर एकाग्र नभएर हैरान भो।

- के भयो त्यस्तो? आफूमा अपूर्ण हुनु हुँदैन नि। धेरै इच्छा, अभिलाषा राख्नु हुँदैन। त्यस्तो कामनाले आफैंलाई घाटा पुर्‍याउँछ। तिमी त उमेर पुगेकी पाकी मान्छे। आफूले आफैंलाई सम्हाल्नुपर्छ भन्दै देवीले सावित्रीलाई सम्झाइन्।

- के गर्नु त  भन न  त्योसम्बन्धी केही ज्ञान जान्ने अभिलाषा राख्न पुगिन् सावित्री।

देवीले बुझाउने प्रयास गर्दै भनिन्, ‘सुन, हाम्रा ज्ञानेन्द्रीयबाट प्राप्त अनुभव र अनुभूतिहरू सबै ग्रहण गरेर साध्य हुँदैन। ती सबै कामनाको रूपमा रहन्छन्। ती सबै पूर्ण हुन सक्दैनन्। पूर्ण हुन नसकेपछि मन भॉडिन्छ।’

उनले अलि उत्सुक हुँदै सोधिन्, ‘अब कसो गर्ने त? पूरै उपाय भन त।’

देवीले आध्यात्मिक भावनातिर आकर्षित पार्दै भनी, ‘हेर, मीठो खाने, राम्रो लाउने, मोजमस्ती गर्ने र अरूको भर परेर आफ्नो काम टार्ने आदि आधिक्य भावना विचार नै कामना हो। यसलाई नियन्त्रण गर्न आवश्यकताभन्दा बढी चाहना नराखी त्यागी हुनुपर्छ भन्दै अझ पनि प्रष्ट्याउदै गई।

त्यागबाट सेवा र साधनाको जन्म हुन्छ। साधना (ध्यान) को गहिराइले ज्ञान प्राप्त हुन्छ। साधना र ज्ञान प्राप्तिले कामना मर्छ।

यसबाट सेवा र करुणा उद्वेलित हुन थाल्छ। यी सबैबाट आत्मसन्तुष्टि प्राप्त हुन्छ भन्दै यिनै साधनाका अभ्यासबाट पूर्णानन्दको प्राप्ति हुन्छ बुझ्यौ भनी प्रश्न गरिन्।

सावित्री- ओहो,तिमी त सॉच्चिकै देवी रहिछौ! आज मेरो आँखा खुलायौ धन्यवाद भनी खुसीको भाव जनायो।

-प्रार्थना खनाल जोशी

प्रकाशित: ३ माघ २०८० ०५:४४ बुधबार

अक्षर पूर्णानन्द